पोखरा, ७ असार ।

पोखरामा बालिका मात्र भएको घरमा ‘झ्याल ढोका नाप्ने’ बहाना बनाएर लाखौँ मूल्यको सुनचाँदी र नगद चोरी गर्ने मुख्य योजनाकार र उक्त चोरीको सुन खरिद गर्ने सुन व्यवसायी दुवै जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय रामबजारको टोलीले प्राविधिक अनुसन्धानको सहयोगमा उनीहरूलाई काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएको हो।
यसरी भएको थियो चोरी
प्रहरीका अनुसार गत जेठ २४ गते दिउँसो करिब सवा २ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. १५ मेरिगोल्ड बस्ने मनिसा थापाको घरमा उनकी १५ वर्षीया छोरी मात्र थिइन्। सोही मौका छोपी सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ स्थायी घर भई हाल काठमाडौँ शिवनगर टोल बस्ने ३५ वर्षीय भुवन बहादुर साह शंकर उक्त घरमा प्रवेश गरे।
उनले “म झ्याल ढोका बनाउनको लागि नाप्न आएको हो” भन्दै बालिकालाई झुक्याएर भित्र छिरेका थिए। त्यसपछि कोठाको दराज तोडफोड गरी विभिन्न सुनका गरगहना र नगद १३ हजार रुपैयाँ चोरी गरी उनी फरार भएका थिए।
काठमाडौँबाट समातिए चोर र सुन किन्ने व्यापारी
घटनाको सूचना पाएलगत्तै अनुसन्धानमा जुटेको प्रहरी टोलीले असार ४ गते प्रहरी प्रभाग काँडाघारी काठमाडौँको सहयोगमा भुवन बहादुर साह शंकरलाई उनकै कोठाबाट चोरीका सामानसहित पक्राउ गर्यो।
प्रहरी हिरासतमा रहेका भुवनमाथि थप अनुसन्धान गर्दा उनले चोरी गरेका सुनका बालाहरू ६ लाख ५० हजार रुपैयाँमा सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भई हाल काठमाडौँ मुलपानी बस्ने ३५ वर्षीय बिराज सुनारलाई बिक्री गरेको खुलाए। चोरीको सुन किन्ने व्यवसायी सुनारलाई समेत प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ।
के-के भयो बरामद?
कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानका अनुसार प्रतिवादीहरूको साथबाट निम्नानुसारका सामानहरू बरामद गरिएको छ:

-
सुनका गहना: तिलहरी १ थान, चन्द्रमा १ थान, कानमा लगाउने झुम्का २ थान, औँठी ३ थान, र मुन्द्रा १ थान।
-
चाँदीका सामान: बाला ४ थान, सिक्का २ थान, र सिक्री १ थान।
-
नगद: ८१ हजार ५ सय रुपैयाँ।
-
अन्य: वारदातको समयमा आरोपीले लगाएको ज्याकेट, पाइन्ट र चोरीमा प्रयोग गरिएको स्क्रु-ड्राइभर।
पक्राउ परेका दुवै जनामाथि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा दिन ६ (छ) को म्याद थप अनुमति लिएर प्रहरीले हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाएको छ।








