अनेरास्ववियु (क्रान्तिकारी) का उपमहासचिव रामचन्द्र भट्ट र पूर्व विद्यार्थी नेता भुवनसिंह विष्टबीच भएको आन्तरिक विवाद व्यक्तिगत रिसिइबीका कारण भएको क्रान्तिकारीले निष्कर्ष निकालेको छ।

आइतबार माओवादी केन्द्र कञ्चनपुर जिल्ला पार्टी कार्यालयमा छलफल चलिरहेका बेला विष्टले भौतिक आक्रमण गरेर भट्टलाई गम्भीर घाइते बनाएका थिए।
दुवै नेताबीचको विवाद पार्टीभित्रको अन्तरविरोधको असर नभई व्यक्तिगत रिसिइबीको परिणाम भएको क्रान्तिकारीका महासचिव रोशन थापामगरले बताएका छन्। उनका अनुसार साउन १४ गते सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनको विषयमा प्रदेश इन्चार्जसमेत रहेका भट्टले पार्टी कार्यालयमा छलफल गरिरहेका बेला विष्टले अचानक आक्रमण गरेका हुन्।
“साउन १४ गतेको निर्वाचनबारे केन्द्रीय उपमहासचिव तथा प्रदेश इन्चार्जले कञ्चनपुर पार्टी कार्यालयमा आन्तरिक छलफल गरिरहनुभएको थियो। भुवनसिंह विष्ट पूर्व विद्यार्थी नेता हुन्। छलफल भइरहेका बेला असम्बन्धित व्यक्तिले साङ्घातिक आक्रमण गरेका हुन्। यो कुनै पार्टीभित्रको विवादको कारण होइन,” उनले रातोपाटीसँग भने।
पार्टीभित्रको अन्तरविरोधको असर विद्यार्थी संगठनमा परेको भन्ने हल्ला चले पनि त्यो निराधार भएको उनले जिकिर गरे।
थापामगरले घटनाबारे जानकारी दिँदै भने, “विष्ट उपमहासचिवमा भट्टसँग पराजित व्यक्ति हुन्। व्यक्तिगत रिसिइबीका कारण यस्तो अप्रिय घटना भएको हो। उनलाई पार्टी कमिटीले कारबाही गरिसकेको छ। घटनाबारे निष्पक्ष छानबिनका लागि समिति गठन भइसकेको छ।”
घाइते भट्टको अवस्था अहिले सामान्य भए पनि चिकित्सकले शल्यक्रिया गर्न सिफारिस गरेका कारण उनलाई काठमाडौँ ल्याइएको उनले जानकारी दिए। भट्टको टाउकोमा गहिरो चोट लागेकाले सुरुमा माया मेट्रो अस्पताल, धनगढीमा भर्ना गरिएको थियो। हाल उनी काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत छन्।
घटना लगत्तै क्रान्तिकारीले विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिनका लागि केन्द्रीय अनुशासन आयोगका अध्यक्ष इन्दिरा पुरीको संयोजकत्वमा इन्दु केसी र प्रकाश तामाङ सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। उक्त समितिलाई ७ दिनभित्र केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।









