रौतहटको गरुडामा प्रहरीले एक निजी कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

गरुडा नगरपालिका–५ स्थित झाँझ खोला नजिक ग३च ६७९६ नम्बरको कारबाट प्रहरीले १३ पोकामा राखिएको १३३ किलो गाँजा फेला पारेको हो। चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको उक्त कारलाई इलाका प्रहरी कार्यालय, गरुडाको टोलीले जाँच गर्न खोज्दा कार नरोकी फरार भएको थियो।
प्रहरीले उक्त गाडीलाई पछ्याउँदै जाँदा झाँझ खोला नजिकको एक खरको घारीमा गाडी छोडेर चालक फरार भएको पाइएको हो। सडकभन्दा झण्डै २० फिट तलको खरको घारीमा गाडी छाडेर सवार व्यक्ति फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीले क्रेनको सहायताले गाडी निकालेर त्यसमा रहेको गाँजा बरामद गरी नियन्त्रणमा लिएको डिएसपी राजन कार्कीले जानकारी दिए। उनका अनुसार गाडीमा सवारी चालक अनुमति पत्र र सवारीको कागजात फेला परेको छ।
फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको समेत डिएसपी कार्कीले जानकारी दिए।









