२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

“सामाजिक सञ्जालमा छ्यापछ्याप्ती ‘यती’, एआईको रचनाशिल्पमा छाडापन हावी”

केही समययता सामाजिक सञ्जालमा रौँले ढपक्क ढाकिएको, ठूलो शरीर भएको हिमाली मिथकीय जनावर ‘यती’ बारम्बार देखिन थालेको छ। तर यो ‘यती’ फरक छ—नेपालीमा बोल्ने, व्यङ्ग्य गर्ने, भ्लग गर्ने, समाजका समस्याहरू औंल्याउने र राजनीतिक टिप्पणी प्रस्तुत गर्ने डिजिटल पात्र।

तर सञ्जालमा सनसनी मच्याउने यो ‘यती’ वास्तविक होइन। यो एआई टुल प्रयोग गरी निर्माण गरिएको भिडियो कन्टेन्ट हो, जुन हालै गुगलले सार्वजनिक गरेको भिडियो जेनेरेसन टुल ‘Veo 3’ (भियो थ्री) बाट बनाइएको हो। यो टुल गुगलले २०२५ मे २० मा सार्वजनिक गरेको थियो।

बजारमा यस्ता भिडियो निर्माण गर्ने थुप्रै टुलहरू उपलब्ध छन्, तर ‘भियो थ्री’को विशेषता भनेको भिडियोअनुसार मिल्दोजुल्दो अडियोसमेत तयार पार्नु हो। प्रयोगकर्ताहरूले यही विशेषताको प्रयोग गरी यस्ता कन्टेन्टहरू उत्पादन गरिरहेका छन्। ‘भियो थ्री’ गुगलको एआई अनुसन्धान संस्था ‘DeepMind’ ले विकास गरेको हो। यस टुलमा प्रयोगकर्ताले दिएको लिखित निर्देशन (प्रम्प्ट)का आधारमा केही क्षणमै सिनेम्याटिक, शैक्षिक वा रचनात्मक भिडियोहरू तयार गर्न सकिन्छ।

तर यसको दुरुपयोगसमेत तीव्र गतिमा भइरहेको छ। त्यसको एउटा ज्वलन्त उदाहरण हो—‘यती’को भिडियो।

गलत प्रयोगको बढ्दो प्रवृत्ति

‘यती’ मात्र होइन, अश्लील, अपमानजनक वा असभ्य संवाद समेटिएका अन्य भिडियोहरू पनि यही प्रविधिबाट बनाइएका छन्। ती भिडियोहरूमा लाखौं भ्युज छन् र शेयरसमेत उस्तै दरमा भइरहेको छ।

जस्तै, ‘Yeti Vlogs Nepal’ नामक टिकटक खाताका केही भिडियोहरूमा ५९ लाखसम्म भ्युज आएका छन्। यस्ता भिडियोहरूमा सकारात्मकता र मनोरञ्जन पाइन्छ, तर एक पक्षले निरन्तर गाली–गलौज, बेइज्जती र अश्लीलता फैलाइरहेका छन्।

केही निर्माता यस्ता पात्रहरूलाई चलचित्र प्रवर्द्धनका लागि पनि प्रयोग गर्न थालेका छन्, जस्तै—चलचित्र अभिमन्यु: च्याप्टर–१

यसका भिडियोहरू नेपाली मात्र होइन, अन्य भाषामा पनि देखिन्छन्। सम्भवत: अंग्रेजी भाषी यस्ता कन्टेन्ट देखेर नेपाली प्रयोगकर्ताहरूले पनि यस्ता सामग्री बनाउन थालेका हुन सक्छन्। किनभने यस्ता पात्रहरूको निर्माणकर्ता प्राय: गोप्य हुन्छ, जसले निडरतापूर्वक केही पनि भन्न सक्छ।

एआई भविष्यमा झन् खतरनाक?

नेपाल अप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) का अनुसन्धान सहायक जुतन भुसालका अनुसार, ‘यती प्रवृत्ति’ भविष्यमा एआई मोडलहरूका लागि गम्भीर असर पुर्‍याउने सम्भावना छ।

“वर्तमानमा एआई टुलहरूको तालिमका लागि सामाजिक सञ्जालबाट डेटा लिइन्छ,” भुसाल भन्छन्, “तर यदि ती सञ्जालमा नै एआईले बनाएका अशुद्ध वा विकृत कन्टेन्ट भरिएका छन् भने, भविष्यमा एआई मोडलहरूको विश्वसनीयता र गुणस्तर कमजोर हुनेछ।”

उनको भनाइमा गलत डेटा प्रशिक्षणमा प्रयोग हुँदा एआई मोडलहरू वास्तविकता विरुद्ध हुनेछन्, जसले प्रयोगकर्तामा भ्रम सिर्जना गर्छ—के वास्तविक हो, के एआई हो छुट्याउनै गाह्रो हुन्छ।

यदि अहिलेको गतिमा यस्ता कन्टेन्टहरू उत्पादन भइरहे, अबको ५–६ वर्षमा सामग्रीको वास्तविकता छुट्याउन असम्भवजस्तै हुन सक्ने खतरा उनले देखाउँछन्।

प्रविधिको दुरुपयोग, समाजमा असर

समाजशास्त्री डा. मीना पौडेलका अनुसार, ‘यती प्रवृत्ति’ प्रविधिको दुरुपयोग हो। जुनसुकै माध्यममार्फत जातीय, धार्मिक वा सामाजिक विभेद फैलाउनु समाजको आपराधिकरण हो।

“देश र समाजप्रति निराशाजनक सन्देश दिने यस्ता कन्टेन्टले नवपुस्तालाई ‘यहाँ केही हुँदैन’ भन्ने मानसिकता बनाउँछ,” पौडेल भन्छिन्, “अनि उनीहरू आफूप्रति, आफ्नो भविष्यप्रति सकारात्मक हुन सक्दैनन्।”

क्षणिक हाँसोका लागि बनाइएका यस्ता सामग्रीहरू दीर्घकालमा आपराधिकता र नैराश्य फैलाउने माध्यम बन्न सक्ने चेतावनी उनले दिइन्।

समाजशास्त्री डा. दिपेश घिमिरेका अनुसार यस्ता कन्टेन्टको तीव्र फैलावटको मुख्य कारण हो—डिजिटल साक्षरताको अभाव।

“डिजिटल साक्षरता नहुँदा कन्टेन्ट एआईबाट बनाइएको हो कि होइन भनेर छुट्याउन सकिँदैन,” उनी भन्छन्, “अनि झुटा सामग्रीहरूलाई नै सत्य मान्न बाध्य भइन्छ। विशेषगरी बालबालिका, किशोर–किशोरी र अशिक्षित वर्गमा यसको दीर्घ असर देखिन्छ।”

कानुनी व्यवस्थाको अभाव

एआईद्वारा निर्माण गरिएका यस्ता कन्टेन्टले कसैलाई असर गरेमा कानूनी उपचारको बाटो खुला छ। तर अधिवक्ता राष्ट्र विमोचन तिमल्सिनाका अनुसार, नेपालको कानुनी संरचना अझै सीमित छ।

“मुलुकी अपराध संहिता २०७४, गोपनीयता ऐन, र विद्युतीय कारोबार ऐन २०६३ मात्रै हाम्रो कानुनी आधार हुन्,” उनी भन्छन्, “जबकि युरोपमा एआईसम्बन्धी छुट्टै कानुन आइसकेको छ। नेपालमा भने बन्ने प्रक्रियामै छ, कहिले लागू हुन्छ अत्तोपत्तो छैन।”

उनको भनाइमा यस्ता सामग्रीहरूमा एआईले बनाएको भनेर लेबलिङ गर्नुपर्ने हुन्छ, जुन अहिले नेपालमा अनिवार्य छैन।

मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव

मनोचिकित्सक डा. खुस्बु अग्रवालका अनुसार, सामाजिक सञ्जालले प्रारम्भमा विश्वभरका मानिसहरूलाई जोड्ने उद्देश्य राखे पनि अहिले गालीगलौज र आक्रोश व्यक्त गर्ने थलो बनेको छ।

“पहिले आमनेसामने कुरा गर्नुपर्थ्यो, अहिले एक क्लिकमै नकारात्मकता पोख्न सकिने भएको छ,” उनी भन्छिन्, “सरकारप्रति अविश्वास, निराशा र आक्रोश झन बढ्दै जान्छ। कतिपयले त देश छाडौं भन्ने सोचसमेत बनाउँछन्।”

त्यस्ता कन्टेन्ट छुट्ने डर (FOMO) ले प्रयोगकर्ताहरूलाई लामो समय अनलाइनमा राख्दछ, जसले मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ।

नियन्त्रण बाहिर गइरहेको प्रविधि

डेटा रिपोर्टलको डिजिटल नेपाल २०२५ अनुसार, हाल नेपालमा १ करोड ६५ लाखले इन्टरनेट प्रयोग गरिरहेका छन्, जुन कुल जनसंख्याको ५५.८ प्रतिशत हो। मोबाइल फोन प्रयोग दर १३२% छ भने ४८.१ प्रतिशतले सामाजिक सञ्जाल प्रयोग गर्छन्।

१८ वर्षभन्दा माथिका नागरिकमध्ये ७२.८% सामाजिक सञ्जालमा छन्। यसले गर्दा ‘यती’ शैलीका कन्टेन्टहरू लाखौं मानिसहरूसम्म पुग्न धेरै समय लाग्दैन।

सामाजिक सञ्जालका एल्गोरिदमले पनि यस्ता सामग्री फैलाउन सघाउँछन्—प्रयोगकर्ताले जस्तो हेर्छ, उस्तै देखाउँछ। नेपाली भाषाका मौलिक अश्लील शब्दहरूले विदेशी एल्गोरिदम छलेका छन्, जसले नियन्त्रण अझ कठिन बनाएको छ।


निष्कर्ष

अब मुख्य प्रश्न यति मात्रै हो—प्रयोगकर्तामा कहिले डिजिटल साक्षरता पुग्छ? सरकारले यस्ता कन्टेन्ट नियमन गर्ने स्पष्ट कानून कहिले बनाउँछ? अनि सृजनात्मक स्वतन्त्रता र सामाजिक जिम्मेवारीबीचको सन्तुलन कसरी कायम गरिन्छ?

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।