पोखरा । नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सवको अवसरमा पोखरामा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १ सय ९५ जना महिला प्रहरी तथा प्रहरी परिवारका सदस्यहरू लाभान्वित भएका छन् ।


नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश प्रहरी अस्पतालको प्राङ्गणमा सञ्चालित शिविरमा महिलाहरूमा देखिने स्तन तथा पाठेघरको क्यान्सर र विभिन्न स्त्री तथा प्रसूति रोगसम्बन्धी विशेषज्ञ स्वास्थ्य परीक्षण एवं परामर्श सेवा प्रदान गरिएको थियो ।

शिविरमा महिला क्यान्सर रोग विशेषज्ञ डा. बानिरा कार्की, सैनिक अस्पताल पोखराकी महासेनानी डा. रोजी मल्ल, गण्डकी प्रदेश प्रहरी अस्पतालकी प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. संज्ञा मल्ल लगायतले सहजीकरण गरोक थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डीआइजी दिपेन्द्र जी.सी.को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी अध्यक्ष संगिता थापा क्षेत्री, नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख एसएसपी श्याम कृष्ण अधिकारी, गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी कृष्ण प्रसाद कोइराला तथा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक एसएसपी संजय सिंह थापा लगायत सिनियर प्रहरी अधिकृत, कार्यसमितिका पदाधिकारी एवं प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।









