संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन तथा काज सरुवासम्बन्धी मापदण्डलाई समयानुकूल परिमार्जन गर्न मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएकी छन्।

मन्त्रालयका सचिव र सहसचिवहरूसँगको बैठकमा मन्त्री न्यौपानेले कर्मचारी सरुवा, पदस्थापन र काज सरुवासम्बन्धी कार्यलाई निष्पक्ष, पारदर्शी र वस्तुगत बनाउने उद्देश्यले मापदण्डलाई संशोधन गरी राय र सुझाव पेश गर्न निर्देशन दिइन्। उनले मापदण्ड समयानुकूल परिमार्जन गरेपछि मात्र सरुवासम्बन्धी प्रक्रिया अघि बढाइने भएकाले यथासिघ्र सुझाव आफूलाई पेश गर्न आग्रह गरिन्।
मन्त्री न्यौपानेका अनुसार विगतमा बनेका मापदण्ड कार्यान्वयनमा नआएका कारण अब ती मापदण्डलाई कडाइका साथ अनिवार्य रूपमा लागू गरिनेछ। साथै, सरुवालाई पूर्वानुमानयोग्य बनाउने प्रणाली विकास गर्न पनि उनले निर्देशन दिएकी छन्।
त्यस्तै, निजामती कर्मचारीहरूको गुनासोको प्रभावकारी सुनुवाइका लागि मन्त्रालयमा छुट्टै गुनासो सुनुवाइ संयन्त्र निर्माण गरिने मन्त्री न्यौपानेले बताएकी छन्।









