२०८३ श्रावण १३ बुधबार
२०८३ श्रावण १३ बुधबार

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मानसिक स्वास्थ्यलाई आजको समाजको अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयका रूपमा औंल्याएका छन्। वडा स्तरीय दलित सञ्जाल, पोखरा–९ द्वारा आयोजित “मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि सचेतनामूलक कार्यक्रम” मा उनले यस्तो बताएका हुन् ।

विशेषगरी दलित समुदायसहित सबै वर्गका नागरिकको मनोसामाजिक सशक्तीकरणका लागि सचेतनामूलक कार्यक्रमहरूको आवश्यकता औंल्याउँदै उनले यस्ता पहलहरूले सकारात्मक सोच, आत्मबल वृद्धि तथा समावेशी विकासमा ठोस योगदान पु¥याउने विश्वास व्यक्त गरे।

मन्त्री थापाले प्रदेश सरकार भौतिक विकाससँगै मानसिक र नैतिक विकासमा समेत सक्रिय रहेको उल्लेख गर्दै पिछडिएका वर्गको आवाज बुलन्द पार्न लक्षित कार्यक्रमहरू सञ्चालन भइरहेको बताए । उनले प्रदेशमा दलित विधेयक पारित गरी दलित समुदायको हकअधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम चालिएको पनि जानकारी दिए। दलित अधिकार संरक्षणमा प्रदेश सरकार गम्भीर रहेको उनको भनाइ थियो।

कार्यक्रममा पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले समाजबाट विभेद अन्त्य हुनुपर्नेमा जोड दिँदै केवल भाषण होइन, व्यवहारिक काममार्फत परिवर्तन आवश्यक रहेको बताए। मानसिक स्वास्थ्यसम्बन्धी यस्ता कार्यक्रमहरूले समाजलाई सबल र सुदृढ बनाउने उनको धारणा थियो । त्यसैगरी प्रशिक्षक समझना पराजुलीले मानसिक स्वास्थ्य आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै सामान्य तनाव व्यवस्थापन गर्न सकिएमा धेरै समस्या समाधान हुन सक्ने बताइन्।

गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत एकीकृत सेवा कार्यालय कास्कीको सहयोगमा वडा स्तरीय दलित सञ्जाल, पोखरा–९ द्वारा आयोजित “मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि सचेतनामूलक कार्यक्रम” को अध्यक्षता सपना विकले गरेकी थिइन्। उनले समाजमा बढ्दो मानसिक समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्। सामान्य तनावका कारण हुन सक्ने दुर्घटनालाई रोक्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

पोखरा ।

पोखरामा खेलकुद पत्रकारको क्षमता अभिबृद्धिका लागि दुईदिने खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा तालिमको आयोजना भएको हो । पोखरामा रहेर काम गरिरहेका पत्रकारहरूलाई विभिन्न विधाका खेलका रिपोर्टिङ कसरी गर्ने र कस्ता नियम छन् भन्ने बारेमा प्रशिक्षण दिइएको थियो ।

विशेष गरि खेलकुदको क्षेत्रमा कलम चलाउन मद्दत पुग्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको हो ।दुईदिने तालिममा राष्ट्रिय खेल भलिबलका प्रशिक्षक राजन पौडेल, क्रिकेटका अन्तर्राष्ट्रिय अम्पायर दुर्गानाथ सुवेदी, गल्फ विधामा जिवाराम गुरुङ्ग, मार्शलआर्ट विधामा प्रशिक्षक सुवास खड्का र फुटबल विधामा प्रशिक्षक हिमेश रत्न बज्राचार्यले प्रशिक्षण दिएका थिए ।

तालिमको समापनका अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले तालिमले विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको क्षमता वृद्धि सँगै लेखन शैलीमा निखार ल्याउने बताए । तालिममा ६५ जना पत्रकारको सहभागिता रहेको थियो ।

तालिमपश्चात् प्रमुख प्रशिक्षक दुर्गानाथ सुवेदीले खेलाडीहरूको उत्साह सँगै उनीहरूको लगनशीलता र मेहनतलाई देखाउने माध्यम नै खेल पत्रकार रहेको बताए । उनले खेलका नियम र सिस्टमलाई राम्रोसँग बुझेर प्रसारण गर्नका लागि यस तालिमले महत्त्वपूर्ण भूमिका खेलेको सुनाए ।

गण्डकी प्रदेशमा रहेर खेल्ने खेलाडी, खेल प्रशिक्षक, खेलकुदका संघ संस्था र सरोकारवालाहरूका लागि यस्ता तालिमले खेलकुदको विकाससँगै खेल पर्यटनको प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान दिने उनले बताए । यस्तै पत्रकार कमल पौडेल (अथक) ले प्रत्यक्ष खेल भइरहेकै ठाउँमा समेत पुगेर तालिम लिने अवसर पाएकोमा खुसी व्यक्त गर्दै तालिमले लेखन शैलीमा निखार आउने र खेलकुदका समाचार बनाउँदा हुने समस्यामा कमी आउने बताए ।

मञ्चका अध्यक्ष मान बहादुर घर्ति (एमबि आस्था) ले दुईदिनसम्म सञ्चालन भएको तालिमबाट केही न केही नयाँ ज्ञान प्राप्त भएको विश्वास व्यक्त गरे । उनले आगामी दिनमा खेलकुद सम्बन्धी समाचार उत्पादन तथा प्रसारणमा सहजता ल्याउने चर्चा गर्दै तालिमका प्रशिक्षक तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । प्रशिक्षार्थीहरुलाई खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, मञ्चका सल्लाहकार सुरज श्रेष्ठ, पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, उपाध्यक्ष राजाराम पौडेल संगै प्रशिक्षकहरु दुर्गानाथ सुवेदी, हिमेश रत्न बज्राचार्य, सुबास खड्का लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

तालिमको समापन कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव परशुराम शर्माले सञ्चालन गरेका थिए ।

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघमा ३ महिने प्लम्बिङ तालिम सोमबारबाट शुरु भएको छ । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा तालिमको आयोजना गरिएको हो ।

तालिमको एक समारोहका विच उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले युवाहरुलाई स्वरोजगार र उद्यमशील र आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको वताउँदै स्वदेशमै केही गर्न चाहने वा विदेश जानेहरुका लागि पनि यस प्रकारका तालिम निकै उपयोगी हुने  बताइन् । उनले पहिलो चरणको तालिम लिइसकेकालाई आवश्यक परेको खण्डमा ’एड्भान्स्ड’ तालिम दिने योजना रहेको समेत वताएकी थिईन ।

उनले तालिममा राज्य र निजि क्षेत्रको समेत लगानी रहेको वताउँदै यसको सहि सदुपयोग गर्न लगनशिल भएर सीप सिक्न सहभागि प्रशिक्षार्थीहरुलाई आग्रह गरेकी थिईन ।

कार्यक्रममा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराका कार्यालय प्रमुख अनिल सुवेदीले सिप सिकेर दक्ष बन्न सकेको खण्डमा स्वदेशमै रहेर स्वरोजगार भई उद्यमी व्यवसायी समेत बन्न सकिने भएको हुँदा सहभागीहरूलाई व्यवसायिक रुपमा अघि बढ्ने सोचका साथ तालिम लिन आग्रह गरे ।

उक्त अवसरमा संघका निवर्तमान अध्यक्ष विनोद श्रेष्ठले संघले विगतदेखी नै विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्दै आएको वताउँदै सिप सिकेपछि त्यसलाई व्यवहारमा सदुपयोग भए नभएको समेत संघले अनुगमन गर्ने वताएका थिए । हातमा सिप भएर पनि कोही दक्ष व्यक्ति बेरोजगार रहेको अवस्थामा रोजगारी दिलाउने विषयमा समेत संघले सहयोग गर्ने वताएका थिए ।

यस्तै संघका पुर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तालिमले व्यक्तिलाई सिर्जनशिल, रोजगारयुक्त र क्रियाशिल बनाउने वताउँदै सक्रियताका साथ तालिम लिन सहभागीहरुलाई आग्रह गरेका थिए । संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए ।  

 
 
 

 
 
 

पोखरा ।
नेपाल पत्रकार महासंघको आयोजना र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा महिला संवाद कार्यक्रम सम्पन्न भएको छ । “महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मुल नाराका साथ मनाइएको ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा आफ्नो प्रस्तुतिकरण राख्दै कोपिला नेपालका कार्यकारी निर्देशक विना शिलवालले अबको युगमा छोरीलाई संरक्षण सहितको होइन प्रगतिशील मायाको आवश्यक रहेको बताउनुभयो । महिलालाई समान अधिकार र पहुचका लागि वंशिय र अंशिय अधिकारका लागि बनेका नीति नियमलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिनु पर्ने औल्याउनु भयो ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जुदेवी गुरुङले कानुनमा नै महिलाको अधिकार र सहभागिता सुनिश्चत भई सकेको अवस्थामा अव महिलालाई कानुनको बारेमा शिक्षा र आर्थिक रुपमा माथि उठ्न आवश्यक रहेको बताउनुभयो । उहाँले महानगरपालिकाले न्यायमा पहुँच वढाउन महिला पुरुष समसचेतना कार्यक्रम सहित आर्थिक शशिक्तकरणका लागि उपप्रमुख संग महिला कार्यक्रम संचालन गरेको बताउनु भयो ।

गण्डकी प्रदेशका प्रेस राजिष्टार बिमला भण्डारीले हरेक क्षेत्रका महिलाको आन्दोलनले नै महिलालाई अधिकार दिलाएको बताउदै आवाज उठाउन छोड्न नहुने बताउनुभयो ।राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख नितु गर्र्तौलाले महिलाहरुले आफ्नो शिक्षित र संक्षम बनाउदै लागे अर्थपुर्ण सहभागिता सुनिश्चित हुदै जाने बताउनु भयो।

पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले महिला महिला विचको एकता र उद्यमशिलताको विकासलेनै महिलाका हक र अधिकार प्राप्त हुने बताउनु भयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा,  टेवान गण्डकीका अध्यक्ष शोभा पाण्डे, गैह्र सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल, इन्सेक गण्डकीका संयोजक गणेश भण्डारी लगाएतले आफ्नो धारण राखे ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र संचालन महिला उपाध्यक्ष एवम् कार्यक्रम संयोजक कञ्चन थापाले गर्नुभएको थियो ।

पोखरा ।  बैवाहिक जीवनको पच्चिस बर्ष पुरा भएको अवसरलाई मानवसेवामा रुपान्तरण गर्दै यहाँका एक जना सञ्चारकर्मीले पोखरा वृद्धाश्रममा आश्रित जेष्ठनागरिकको लागि भोजनको व्यवस्था गर्नुभएको छ । नेपाल टेलिभिजन पोखरा समाचार दाता गिरिधारी पोखरेलले आप्mनो वैवाहिक बर्षगाँठ  वृद्धाश्रमका बुवा आमासंग मनाउनु भएको हो ।
 
सामान्यतया यस्ता खुशीका क्षण तारे होटल वा औपचारिक कार्यक्रममार्पmत मनाइने प्रचलन बढि रहेको वर्तमान अवस्थामा शर्माले त्यस्तो फजुल खर्च कटाएर समाजका असहाय र विपन्न जेष्ठ नागरिकसंग खुशी साट्ने निर्णय गरेको बताउनु भयो  । श्रीमती लक्ष्मी, छोरा सुमित र छोरी समृद्धि पोखरेल तथा दाजु ऋषिराम पोखरेलले आश्रममा आश्रित जेष्ठनागरिकलाई खानाको व्यवस्था गर्नुभएको थियो । 
 
समाजका विपन्न्न एवम् असहाय जेष्ठ नागरिकको पालन पोषण गर्ने मुख्य लक्ष्यका साथ २०५२ सालमा स्थापना भएको आश्रममा हाल सेवक सेवीका  सहित ४५ जना रहेको पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले जानकारी दिनुभयो ।
 
प्रत्येक महिना चार लाख ५० हजार भन्दा बढी खर्च हुने गरेको बताउँदै उहाँले भन्नुभयो पछिल्लो समय वैवाहिक एवम् जन्मोत्सव जस्ता खुशीका क्षण तथा  पित्रीको सम्झनामा दाताहरुले सहयोग गर्दै आउनु भएको छ ।  
उहाँका अनुसार व्यक्तिगत खुशीलाई समाजसेवासंग जोड्दै गरिएको यस्तो कार्यले वृद्धाश्रम सञ्चालनमा महत्वपूर्ण सहयोग पुगेको बताउँदै खानाको लागि १५ हजार रुपैया आश्रमले लिने गरिएको छ । हाल आश्रममा ४५ जना विपन्न तथा असहाय जेष्ठनागरिक आश्रित हुनुहुन्छ ।  

पोखरा।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रधानमन्त्री कप गण्डकी प्रदेश पुरुष एकदिवसीय छनोट प्रतियोगिताले प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडीहरूलाई राष्ट्रिय स्तरमा पुग्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताएका छन्।

गण्डकी प्रदेश क्रिकेट संघद्वारा विहिबार आयोजना गरिएको प्रधानमन्त्री कप गण्डकी प्रदेश पुरुष एक दिवसीय छनोट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उनले खेलकुद केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई अनुशासन, एकता, स्वास्थ्य र राष्ट्रिय गौरवसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताए। मन्त्री थापाले क्रिकेट आज नेपाली युवाहरूको सबैभन्दा लोकप्रिय खेलको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै यसले युवाहरूमा ऊर्जा, आत्मविश्वास र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

उनले यस्ता प्रतियोगिताहरूले प्रदेशभित्र रहेका प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रिय टिमसम्म पुग्ने आधार तयार गर्ने बताए। गण्डकी प्रदेशमा रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरसम्म पु¥याउन यस प्रकारका छनोट प्रतियोगिताहरू अत्यन्त आवश्यक रहेको भनाई उनको छ ।

मन्त्री थापाले गण्डकी प्रदेश सरकार खेलकुद क्षेत्रको विकास, खेल पूर्वाधार विस्तार, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको प्रवद्र्धनका लागि प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। प्रदेशका विभिन्न स्थानमा खेल मैदान निर्माण, प्रशिक्षण कार्यक्रम सञ्चालन तथा विभिन्न प्रतियोगिताहरू आयोजना गर्दै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने प्रयास निरन्तर भइरहेको उनले सुनाए ।

गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय कान्त सिग्देलले गण्डकी प्रादेशिक क्रिकेट संघ क्रिकेटको विकासका लागि सक्रिय रहेको बताए । नेपाली क्रिकेट खेलाडीहरु विश्वकपमा नै पुग्नु सुखद भएको भनाई उनको छ । क्रिकेटको स्तरोन्नतिका लागि सरकारबाट बजेटको राम्रो व्यवस्थापन हुन सके भविष्य राम्रो भएको उनले बताए ।

पोखरा ।

नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा अमेरिकाको ह्युमन रिभोलुसनले आर्थिक सहयोग गरेको छ ।अमेरिकाको च्यारिटी संस्था ह्युमन रिभोलुसनका संस्थापक जीवन बरालले अक्षयकोषमा नगद १५ हजार १३७ रुपैयाँ सहयोग गरेका हुन् । बरालले अमेरिकाबाट सिधैं एनपिजेए कास्कीको खातामा उक्त रकम जम्मा गरिदिएका हुन् ।

पोखरा निवासी बरालले अमेरिकामा सञ्चालन गरेको ह्युमन रिभोलुसनले विभिन्न च्यारिटी कार्यक्रम गर्दै आएको छ । आफ्नो संस्था परोपकारी कार्यमा लागेकाले फोटो पत्रकार अक्षयकोषमा पनि सहयोग गरेको संस्थापक बरालले बताए ।

सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले ह्युमन रिभोलुसनलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।

कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।

पोखरा ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार रश्मि आचार्यले फागु पूर्णिमाको अवसर पारेर मतदातासँग होली मनाएका छन् । सो अवसरमा उनले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न आफूलाई अवसर दिन मतदातासँग आग्रह गरेका छन् । उनले विकासका मुख्य बाधकका रूपमा भ्रष्टाचारलाई औंल्याउँदै कडा नीति–कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमार्फत देशलाई सही दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा महानगरपालिका वडा नम्बर २० भलाममा आयोजित मतदाता भेटघाट कार्यक्रममा उम्मेदवार आचार्यले राजनीतिको मूल सफा नभएसम्म समृद्धिको अभियान सफल नहुने उल्लेख गरे । ‘मुल धमिलो हुँदा सबै धमिलो हुन्छ,’ उनले भने, ‘त्यसैले देशलाई दिशानिर्देश गर्ने राजनीतिको मूल सफा पार्न म उम्मेदवार बनेको हुँ ।’

उनले सुशासन विना समृद्धि सम्भव नहुने बताउँदै नीति निर्माणका तहमा इमान्दार र दृढ अडान आवश्यक रहेको धारणा राखे । भ्रष्टाचारको समूल अन्त्य गर्ने जनआकांक्षा विशेषगरी युवापुस्तामा प्रकट भएको उल्लेख गर्दै उनले त्यसलाई आफूले प्रमुख एजेन्डाका रूपमा अघि सारेको बताए ।

आचार्यले विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनले मुलुकलाई राष्ट्रिय संकटबाट पार लगाउने जिम्मेवारी बोकेको उल्लेख गरे । नियमित कार्यकाल पूरा नहुँदै संसद् विघटन भई समयअघि निर्वाचन हुन लागेको सन्दर्भ जोड्दै उनले मतदातालाई देश र विकास सम्झेर मत दिन आग्रह गरे । ‘देशलाई ठग्न खोज्नेहरू ठूलो स्वरमा बोलिरहेका छन्, तर देश बनाउनेहरू अठोटका साथ अघि बढिरहेका छन्,’ उनले भने, ‘अबको जनमतले विकास र जिम्मेवार नेतृत्वको पक्षमा फैसला गर्नुपर्छ ।’

सहकारी लगायतका क्षेत्रमा देखिएका ठगी प्रकरणबारे संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाउँदै उनले जनताका समस्यालाई नीतिगत समाधानतर्फ लैजानेमा उनको जोड छ । ‘देशलाई घात गर्ने र जनतालाई बेइमानी गर्नेहरूका विरुद्धमा दृढतापूर्वक आवाज उठाउनेछु,’ उनले थपे–‘कास्की र देशको शिर ठाडो पार्ने गरी जनताको मत र अभिमतको सम्मान गर्दै संसदमा तपाईंहरूको आवाज गुन्जाउनेछु ।’

निर्वाचित भएपछि नियमित रूपमा जनतासँग संवाद गर्ने, वडास्तरसम्म पुगेर सुझाव संकलन गर्ने र जनमैत्री कानुन निर्माणमा सक्रिय रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे । ‘सबैको साथ, सबैको विकास र जीवनसँग जोडिएको विकास अभियान’लाई सार्थक बनाउने आफ्नो लक्ष्य रहेको आचार्यले दोहो¥याए ।

पोखरा । प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसको तर्फबाट कास्की २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) ले भरतपोखरीको मनिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताएका छन् ।चुनाव प्रचारको क्रममा (आज) सोमबार पोखरा–३३ को मनिनाथ मन्दिरमा लागेको फागुपूर्णिमा मेलाको अवलोकन गर्दै उनले उक्त मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका हुन् ।

मनिनाथ मन्दिर विकास समितिका अध्यक्ष शिव बहादुर थापाले मन्दिरमा जाने बाटो, मन्दिरको भौतिक विकास, खानेपानी लगायतका समस्याहरु उम्मेदबार बास्तोला समक्ष राखेका थिए ।त्यसैगरी उम्मेदवार बास्तोलाले पोखरा–३३को सहरेतरामा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै स्थानीयका मागहरु खनेपानी, ढल निकास, सडक, समाज घर लगायतका बारेमा सम्बोधन गर्दै उनीहरुका मागलाई विस्तारै पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा बोल्दै उम्मेदवार बास्तोलाले काँग्रेस सुध्रिएको र अव देश बदल्ने योजनाका साथ युवालाई सभापति बनाएको काँग्रेसले नेपाली जनताका हरेक सुखदुःखमा साथ दिने बताए । राणकालदेखी प्रजातन्त्रका लागि लड्दै आएका काँग्रेसको इतिहास महत्वपूर्ण रहेको बताउँदै उनले वर्तमान संविधान संशोधन गरेमात्र कुनै एक पार्टीको एकमाना सरकार बन्न सक्ने हुँदा सबै पार्टी मिलेर संविधान संशोधन गर्न आवश्यक देखिएको भनाई उनको छ ।

त्यसैगरी पोखरा–३३ छत्ल्याङमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार बास्तोलाले गाउँको  सडकको स्तरोन्नति, सेती नदीमा पुल, खानेपानीका समस्या हल गर्ने कार्यमा आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले यस क्षेत्रका भूमिहीन तथा अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्दै लालपूर्जा दिलाउने काममा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

उम्मेदवार बास्तोलाले आज भरतपोखरीको कालिका चोकबाट सुरु गरिएको चुनावी ¥यालीमा सहभागी भई उनीहरुलाई साथ दिनुको साथै मतदाताको सुझाव संकलन गरेका थिए । पोखरा–२१ निर्मलपोखरीमा समाजसुधार आमा समुहले गरेको सवागत कार्यक्रममा पुगी उनीहरुका सुझावहरु संकलन गरिएको जानकारी उम्मेलवार बास्तोलाका निजी सचिव सूर्य घिमिरेले जानकारी दिए । साथै उम्मेदवार बास्तोलाले आमा समुहले उठाएका मागहरु खनेपानी, सडक लगायतका समसया पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उक्त स्थानमा भएको चुनावी कोण सभामा बोल्दै उम्मेदवार बास्तोलाले विषम परिस्थितिमा हुन लागेको निर्वाचन अत्यन्तै महत्वपूर्ण भएकाले मतदान गर्दा विचार पु¥याउन आग्रह गरे । साथै उनले नेपाली काँग्रेस राणकालदेखि नै प्रजातन्त्रका लागि लड्दै आएको पार्टी भएकाले देश कमजोर भएको बेला काँग्रेसले मात्र देश बचाउन सक्ने बताए ।

पोखरा । पोखरा मालेपाटनमा रहेको श्री बाराही माविका पूर्वविद्यार्थीले शिक्षकहरुको सम्मान गरेका छन् । वि।सं। २०३६ सालमा एसएलसी दिएका पूर्वविद्यार्थीको समूहले आफूलाई अध्यापन गराउने शिक्षकहरुको सम्मानमा सो कार्यक्रम आयोजना गरेका हुन् ।

विद्यालय परिसरमा आइतबार आयोजित सम्मान कार्यक्रमको उद्घाटन पूर्वविद्यार्थी समूहका अगुवा कपिलनाथ कोइरालाले गरेका थिए । सो अवसरमा बोल्दै पूर्वविद्यार्थी कोइरालाले वैदिक संस्कृतिको अनुयायी भएको नाताले शिक्षकहरुको सम्मान गर्नु आफ्नो कर्तव्य भएको बताए । शिक्षकहरुले दिएको शिक्षाका कारणले जीवनमा अगाडि बढ्न प्रेरणा मिलेको उनको भनाइ थियो ।

कार्यक्रममा सम्मानितहरुको तर्फबाट मन्तव्य राख्दै पूर्वशिक्षक हेरम्बप्रसाद कोइरालाले तत्कालिन समयमा बाराही माविले यस क्षेत्रको शिक्षाको विकासमा गरेको योगदानको चर्चा गरेका थिए । उनले समाजको विभिन्न क्षेत्रमा क्रियाशील रहेका पूर्वविद्यार्थीहरुले आफ्ना शिक्षकहरुलाई सम्झेर सम्मान गर्दा भावुक बनेको बताए ।

कार्यक्रममा बाराही माविका पूर्वशिक्षकहरु हेरम्वप्रसाद कोइराला, बालकृष्ण अधिकारी, शिवप्रसाद अधिकारी, लक्ष्मीप्रसाद बराल, शोभा प्रधान र टिका हमाललाई सम्मान गरिएको थियो । एसएलसी समूह २०३६ का पूर्वविद्यार्थीहरुले टिका, माला र दोसल्ला ओढाएर शिक्षकहरुको सम्मान गरेका थिए । सो अवसरमा शिक्षकहरुलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा पूर्वविद्यार्थीहरु कृष्णकुमारी पहारी, राजेन्द्र लिगल, प्रेम गिरी, बाराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारीले पनि मन्तव्य राखेका थिए । सम्मान कार्यक्रमका संयोजक पूर्वविद्यार्थी पुष्पराज बरालको सभापतित्वमा भएको कार्यक्रमको संचालन पूर्वविद्यार्थी केदारनाथ बरालले गरेका थिए । सो कार्यक्रममा एसएलसी समूह २०३६ का पूर्वविद्यार्थीहरु तथा बाराही माविमा हाल अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।