२०८३ श्रावण १३ बुधबार
२०८३ श्रावण १३ बुधबार

पोखरा ।

पोखरा वडा नं। १५ का सदस्य आशिष भण्डारीले आफ्नो जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेका छन् । वडा सदस्य भण्डारीको एकल अगुवाईमा आयोजित कार्यक्रममा १५१ युनिट रक्त संकलन गर्न सफल बनेका छन् ।रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रमको व्यवस्थापन भण्डारी स्वयं आजीवन सदस्य रहेको संस्था नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीले गरेको थियो । पोखराका वडा अध्यक्षहरू र मातापिताले संयुक्त रुपमा रक्तदाताहरूलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

, पोखरा १२ का अध्यक्ष सन्तोष बास्तोला, पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा १७ का अध्यक्ष राधिका शाही योगी, पोखरा १० अध्यक्ष राजेशकुमार गुरुङ, भण्डारीका बुवा बलराम भण्डारी, आमा राधाकुमारी भण्डारीले पहिलो रक्तदाता राजिव जिसी लगायतलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका हुन् ।

पोखरा १५ वडाध्यक्ष बानियाँले रक्तदानलाई पुण्य र मानवीय सेवाको सर्वोच्च कार्यका रूपमा व्याख्या गर्दै सक्षम युवा नेतृत्वका रुपमा भण्डारीलाई चित्रित गरे । पोखरा १४ का अध्यक्ष कार्कीले जन्मदिनमा रक्तदान गरेर समाजलाई गुन लगाएकोमा आभार व्यक्त गर्दै आफूले पनि अबको जन्मदिनमा रक्तदान कार्यक्रम आयोजना गर्ने घोषणा गरे ।

पोखरा १२ का वडाध्यक्ष बास्तोलाले युवा पुस्तामा रक्तदानप्रति बढ्दै गएको आकर्षण सकारात्मक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रम सबैका लागि प्रेरणाको स्रोत हुने र यस्ता पुण्यका कार्यले नै समाजलाई जीवन्त राख्ने बताए ।
पोखरा १७ का वडाध्यक्ष योगीले अस्पतालहरूमा रगतको अभाव भइरहेको अवस्थामा यस्ता कार्यक्रमहरूले आकस्मिक उपचारमा रहेका बिरामीहरूलाई ठूलो राहत मिल्ने बताइन् ।

कार्यक्रमको अध्यक्षता समेत गरेका वडा सदस्य भण्डारीले आफ्नो जन्मदिनलाई समाजलाई योगदान पुग्ने हिसाबले फरक तरिकाले मनाउन चाहेको बताए । ‘जन्मदिनमा केही पुण्यको काम गरौं कि भन्ने सधैं लागिरह्यो । कहिले बृद्धाश्रम पुगेँ । यो पटक चाहिँ रगतको अभाव हुने समय पनि भएकाले रक्तदान कार्यक्रम गरौं भन्ने लाग्यो ।’ सदस्य भण्डारीले भने– ‘व्यक्तिको आह्वानमा भएको कार्यक्रमै डेढसय पिन्ट रगत संकलन भयो । यो सबै मलाई माया गर्नेहरूकै साथको कारण हो । नत्र, यो दिने कार्यक्रम हो । दान दिन पनि लाइन लागेर आउनुभयो ।’

कार्यक्रममा नेपाल औषधि व्यवसायी महासंघका सचिव गोपाल अधिकारी, स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष दीपेन्द्र अधिकारी लगायतले रक्तदानको महत्वका बारेमा बोलेका थिए । समाजका सदस्य हिरामणि भुसालले सञ्चालन गरेको कार्यक्रममा पोखराका पूर्व वडाध्यक्षहरु प्रकाश पौडेल, दर्शन लामा, राजकुमार गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

पोखरा ।
यही चैत २७ र २८ गते कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २३, बाँम्दी क्षेत्रमा साहसिक मोटरबाइक खेल “एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६” आयोजना हुने भएको छ । यस प्रतियोगिता एड्भेन्चर स्पोर्टस् हब नेपालको आयोजना तथा पञ्चासे आदर्श क्लब र नील गगन विकास समाजको सह–आयोजनामा सञ्चालन हुँदैछ ।

प्रतियोगिता विशेषगरी डर्ट बाइक (अफ–रोड मोटरसाइकल) प्रयोग गरी चुनौतीपूर्ण प्राकृतिक भू–भागमा गरिने खेल हो । प्रतियोगितामा राष्ट्रिय स्तरका र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी अफ–रोड राइडरहरूको सहभागिता रहने र अहिलेसम्म ६१ जना राइडरहरू दर्ता भइसकेका सोमबार आयोजित पत्रकार सम्मेलनमा च्याम्पियससिपका रेस डाइरेक्टर तथा एड्भेन्चर स्पोर्टस् हब नेपालका डिरेक्टर जगत धोलीले जानकारी दिए ।

उनका अनुसार हालसम्म करिब ९० प्रतिशत तयारी सकिएको र प्रतियोगिताको अभ्यास तथा ट्रयाक परीक्षणका लागि चैत २ गतेदेखि नै खेलाडीहरूका लागि ट्रयाक खुला गरिएको छ । अहिले उक्त ट्रयाकमा राइडरहरुले दिनहु अभ्यास गरिरहेका आयोजकले जनाएको छ ।

मध्यपूर्व द्वन्द्वले गर्दा अन्य देशका खेलाडी आउन कठिनाई र प्रतिकुल परिस्थितिका कारण अन्तर्राष्ट्रिय स्तरका खेलाडी सहभागि संख्यामा भने कमी आएको स्वीर्काछन् स्थानीय आयोजक समेत रहेका नील गगन विकास समाजका अध्यक्ष बैकुण्ठ पौडेल । प्रेस विज्ञप्ती बाचन गर्दै पौडेलले प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढिरहेको र यस प्रकारको खेलले नेपालमा एड्भेन्चर स्पोर्टस्को विकास, खेलकुदको प्रवद्र्धन तथा स्पोर्टस् टुरिजमलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा च्याम्पियनसिपको ट्रफि समेत सार्वजनिक गरिएको छ । नासा गण्डकीका अध्यक्ष सिव श्रेष्ठेले ट्रफि सार्वजनिक गरे ।प्रतियोगिता ४.८ किलोमिटर लामो विशेष ट्रयाकमा पुरुष र महिला दुवै विधामा खेल खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ३६ लाख खर्च हुने अनुमान गरिएको छभने मुख्य प्रायोजकमा एक्सट्रीम इनर्जी ड्रिंक रहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५० हजार दोस्रो पुरस्कार १ लाख र तेस्रो पुरस्कार ५० हजार रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ ।

विशेषगरी पोखरालाई एड्भेन्चर स्पोर्टस् र खेल पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा आयोजकले गरेको छ ।

पोखरा ।

दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरेर यो विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । यसरी मनोनयनमा पर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा परेका छन् ।

वर्षभरीको प्रदर्शनका आधारमा चयन गरिएका यी पाँच खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यवाहक अध्यक्ष राजाराम पौडेलले बताए । यसको विजेता अनलाइन भोटिङ मार्फत घोषणा गरिनेछ । जसका लागि खल्ती एप मार्फत देश तथा विदेशमा रहेकाहरूले भोट गर्न पाउनेछन् । जसको सबैभन्दा बढी भोट आउँछ उ विजेता हुनेछ । मनोनयनमा परेका खेलाडीहरूका लागि सोमबारबाट भोटिङ सुरु भएको छ । आफूलाई मन परेको खेलाडीलाई खल्ती एप मार्फत भोटिङ गर्न सकिने छ भने आज सोमबारबाट शुरु भएको भोटिङ बैशाख १७ गते राती १२ बजे सम्म खुल्ला रहने छ । अवार्ड कार्यक्रम आगामी बैशाख १८ गते पोखरामा हुनेछ ।

सो अवसरमा बोल्दै पिपल्स च्वाइस अवार्डका प्रायोजक गुरुङ गहना घरका प्रालिका सञ्चालक सीमा गुरुङले खेलाडीलाई प्रोत्साहन प्रदान गर्ने गरी आयोजना गरेको पोखरा स्पोर्टस अवार्डमा गुरुङ गहना घर जोडिन पाउँदा खुसी लागेको बताइन् । गुरुङले आफूले खेलाडीहरूको प्रोत्साहनका लागि आगामी दिनमा समेत नेपाल खेलकुद पत्रकार मञ्चसँग मिलेर साथ र सहयोग गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाइन् । यो विधाको विजेतालई टीभीएस एनट्रक स्कुटर प्रदान गरिनेछ ।

त्यस्तै आईएमई खल्ती लिमिटेडका गण्डकी प्रदेशका इन्चार्ज एण्डिज बस्नेतले मनोनयनमा परेका खेलाडीहरूलाई खल्ती एप मार्फत भोटिङका लागि आजैदेखि भोटिङ खुल्ला गरिएको बताए । खेलकुदको क्षेत्रमा प्रदेशमै ठूलो कार्यक्रम आयोजना गर्ने नेपाल खेलकुद पत्रकार मञ्च सँग सहकार्य गर्न पाउँदा आफू गौरवान्वित भएको उनको भनाइ रहेको थियो । मञ्चका महासचिव परशुराम शर्माले सञ्चालन गरेको कार्यक्रममा प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य विनय थापाले पनि बोलेका थिए ।

पोखरा स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार, वर्ष उत्कृष्ट खेल सङ्घसंस्था अवार्ड गरी आठ विद्यामा अवार्ड प्रदान गरिदैछ । उक्त अवार्ड खेलाडी सम्मानमा गण्डकीकै ठूलो इभेन्ट हो ।

अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, मादी गाउँपालिका, रूपा गाउँपालिका, गुरुङ गहना घर प्रालि, आइएमई खल्ती लिमिटेड लगायतको सहयोग रहनेछ । अवार्ड सफल पार्न विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको मञ्चले जनाएको छ ।

पोखरा। यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आयोजक समितिका संयोजक वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा  महोत्सव तयारी विशेष भेला सम्पन्न गरेको छ। उक्त भेलामा मूल आयोजक समिति एवं उपसमितिका संयोजक, सदस्यहरू ,सम्बन्धित सरकारवाला एवं स्थानीयहरूको उल्लेखनीय  उपस्थिति रहेको थियो।

छलफलमा मूल आयोजक समिति एवं उपसमिति संयोजकहरूले हालसम्म गरेका कामको  कार्यसम्पादन प्रस्तुत गरेका थिए । भेलाले हरेक क्षेत्रबाट उल्लेखनीय साथ सहयोग र सद्भाव सहितको सकारात्मक प्रतिक्रिया रहेको  निष्कर्ष निकालेको छ । साथै उक्त भेलाले २०८२ चैत्र २३ गतेका दिन विष्णुपादुका खेलमैदानमा अवस्थित क्लब भवन प्राङ्गण दिनको ठिक १ः०० बजे महोत्सवको पत्रकार सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहनुभएका क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले भेलाका बिच आलु महोत्सव पोखराको मात्र नभई समग्र देशकै ब्रान्ड बनेको उल्लेख गर्नुहुँदै महोत्सवसँगै कृषकलाई प्रोत्साहन गर्न खोजिएको स्पष्ट पारेका थिए  ।  हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका वृहत् प्रदर्शन एवम् प्रचारप्रसार गर्ने, हेमजालाई व्यावसायिक कृषि पर्यटन क्षेत्रका रूपमा देश विदेशमा चिनाउने, क्लब भवन निर्माणका साथै तरकारी सङ्कलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने एवम् विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सव गर्न लागिएको थप उल्लेख गरे  ।

भेलामा पूर्व अध्यक्ष रमेश कार्की एवं निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठले विगतका महोत्सवमा भएका कमी कमजोरीलाई मूल्याङ्कन गर्दै आगामी दिनमा त्यसको सुधार गर्नुपर्ने र नयाँपन झल्कने कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अगाडी बढ्न सबैलाई आग्रह गरेका थिए।

‘सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रूपमा आलु तथा ताजा तरकारीहरूको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरूका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी समेत रहने छ ।

मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव विकल थापाले  सञ्चालन गरे ।

 पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शनिवार एक कार्यक्रमका बिच मन्टेश्वरी तर्फको प्रि-टु का विद्यार्थीहरू अभिभावकहरूको उपस्थितिमा दिक्षित भएका छन् । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्टेश्वरी इन्चार्ज अमृता आलेले स्वागत् मन्तव्य राख्नुभएको थियो।

सत्रौँ दिक्षान्त समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पालिखेले हरेक वर्ष मन्टेश्वरी तहको पढाइ सकेर कक्षा एकको प्रवेशलाई विशेष कार्यक्रमको आयोजना गरेरै यसरी विद्यार्थीलाई दिक्षित गराइँदै आएको कुरा व्यक्त गर्नुभयो ।यो अब कुमुदिनीको संस्कार नै बनिसकेको कुरामा जोड दिनुभयो ।

संस्कार र संस्कृतिलाई विद्यालयले सधैं केन्द्रमा राखी शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाइरहेको र हरेक आइतवार प्राइमरी तहसम्मका विद्यार्थीहरूलाई आ-आफ्ना जातिय पोशाकमा विद्यालय आइरहेको कुरा व्यक्त गर्नुभयो। विद्यालयका राम्राभन्दा पनि कमीकमजोरीलाई औँल्याएर समयमै रचनात्मक सुझाव दिन अभिभावकहरूलाई विशेष आग्रह गर्नुभयो । कार्यक्रममा प्रि-टु का विद्यार्थीहरूले विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्राइमरी इन्चार्ज कुसुम गुरुङले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा दिक्षित हुने प्रि-टु का विद्यार्थीहरूका तर्फबाट आराध्या गुप्ता र अभिभावकहरूका तर्फबाट प्रभात लामिछानेले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम शिक्षिका निलम प्रधान (उदास)को सञ्चालनमा सम्पन्न भएको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिनुभयो ।

पोखरा ।

भू.पू.विद्यार्थी मञ्च, आनन्द ज्योति मा.बि.ले भित्तेपात्रो बिमोचन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति मा. वि.का पूर्व विद्यार्थीहरुको संस्था भू.पू.विद्यार्थी मञ्चले शनिबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच २०८३ सालको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदानका कार्यक्रम सम्पन्न गरेको   हो ।

सो अवसरमा विभिन्न बिषयमा विद्यावारीधी (पि.एच.डी.) एवं चिकित्सा शास्त्र तर्फ डाक्टर उपाधी हासिल गरेका आनन्द ज्योति मा.बि.का ६ जना पुर्व विद्यार्थीहरु प्रा.डा. बिश्वराज अधिकारी, डा. पितृराज बास्तोला, डा. बिष्णुहरि तिमिल्सिना, डा. सुजन कडेल, डा. अर्जुन अधिकारी र डा. विश्व चन्द्र अधिकारीलाई सम्मान गरिएको छ भने गाउँमा नै बसी उन्नत बीउ बिजन उत्पादन र कफि खेतीको क्षेत्रमा देश तथा बिदेशमा परिचीत बन्न सफल कृषि बिज्ञ एवं पुर्व विद्यार्थी सुर्य प्रसाद अधिकारीलाई उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरिएको छ  ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथी एवं पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कडेलले विद्यालयले आफ्नो नतिजा उत्कृष्ट बनाउदै गतबर्षको एसईई परिक्षामा सबै बिद्यार्थी उत्रिण गराएर सामुदायिक विद्यालय तर्फ सत प्रतिशत विद्यार्थी उत्रीण गराउने विद्यालयको रुपमा सम्मानित भएको भन्दै आगामी दिनहरुमा पनि यस्तै सुखद नतिजा लिकाल्न सकोस् भन्ने अपेक्षा रहेकोकोले पुर्व विद्यार्थीहरुले पनि यसका लागि आ–आफ्नो ठाउँबाट साथ र सपोर्ट गर्नु पर्नेमा जोड दिनुभयो ।

संस्थाका आजिबन सदस्य समेत रहनु भएका अध्यक्ष कडेलले पुर्व विद्यार्थीहरु संगठित बनेर विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका पुर्व विद्यार्थीहरुलाई सम्मान एवं प्रोत्साहन गर्ने काम सकारात्मक रहेको भन्दै संस्थालाई साथ र सहयोग गर्न आफू सधै तत्पर रहने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा सदस्य देबेन्द्रराज अधिकारीले मञ्चले गरेका कामको प्रशंसा गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने कार्यमा पनि पनि मञ्चले आफ्नो भुमिका देखाउन आग्रह गर्नुभयो । पुरस्कृत ब्यक्तित्व एवं कृषि बिज्ञ सुर्य प्रसाद अधिकारीले कृषकहरु पनि पुरस्कृत र सम्मानित हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेकोमा मञ्च प्रति आभार व्यक्त गर्दै कृषि क्षेत्रलाई अझै प्रोत्साहन गर्न सक्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आफ्ना भनाई राख्दै मञ्चका अध्यक्ष शुशिला अधिकारी सिग्देलले भित्तेपात्रो प्रकाशनलाई सफल बनाउन आर्थिक तथा नैतिक रुपमा सहयोग गर्ने सबैलाई आभार प्रकट गर्नुभयो भने सम्मानित ब्यक्तिहरु प्रति बधाई एवं शुभकामना ब्यक्त गर्नुभयो ।

मञ्चका अध्यक्ष सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका निबर्तमान अध्यक्ष बिकास प्रसाद कडेल, संस्थाका संरक्षक एवं सल्लाहकारहरु फडिण्द्र मोहन शर्मा अधिकारी, प्रा. डा. बिश्वराज अधिकारी, डा. बिष्णुहरी तिमिल्सिना, लक्ष्मी थापा, सम्मानित ब्यक्तित्व डा. पितृराज बास्तोला, विद्यालयका प्रधानध्यापक शिवराज अधिकारी, विद्यालय ब्यवस्थापन समिती सदस्य एवं मञ्चका संस्थापक सदस्य सन्तोष अधिकारी, मञ्चको आजिबन सदस्य लोचना अधिकारी लगायतले बोलेका थिए ।

मञ्चका उपाध्यक्ष कृष्ण आचार्यले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन सचिब एवं भित्तेपात्रो प्रकाशन उपसमितिका संयोजक अर्जुन पौडेलले गरेका थिए ।

पोखरा ।
१४औँ संस्करणको पोखरा महोत्सवको समीक्षा बैठक सम्पन्न भएको छ । युनाइटेड क्लब पोखराको आयोजनामा गत पुस २९ गतेदेखि माघ ११ गतेसम्म पोखरास्थित अमरसिंह खेल मैदानमा आयोजना गरिएको महोत्सव भव्य तथा सभ्य रूपमा सम्पन्न भएको निष्कर्ष बैठकले निकालेको हो ।

सो अवसरमा बोल्दै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले १४औँ पोखरा महोत्सव सम्पूर्णको साथ र सहयोगकै कारण भव्य र सभ्य ढंगले सम्पन्न भएको बताए। युनाइटेड क्लबको सामाजिक कार्यलाई सबैले नजिकबाट नियालेका कारण महोत्सवले १४औँ संस्करण पार गर्दै १५औँ संस्करणतर्फ अग्रसर भएको उनको भनाइ थियो ।

त्यसैगरी, क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले पोखरा महोत्सव पोखराको मात्र नभई नेपालकै उत्कृष्ट महोत्सवका रूपमा स्थापित भएको उल्लेख गर्दै सबैको साथ र सहयोग प्राप्त भएको बताए । उनले क्लबका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य तथा सल्लाहकारहरूको दिनरातको खटाइका कारण महोत्सव सफल बनेको स्पष्ट पारे ।

क्लबका पूर्व अध्यक्ष लालकाजी गुरुङले हाल देखिएका कमी–कमजोरी सुधार गर्दै आगामी महोत्सवको तयारीमा जुट्नुपर्नेमा जोड दिए । अर्का पूर्व अध्यक्ष सुकबहादुर गुरुङले १४औँ संस्करणको महोत्सव अघिल्ला संस्करणहरूको तुलनामा पृथक र आकर्षक रहेको बताए ।

महोत्सवका सल्लाहकार बलराम ढुंगानाले सामूहिक प्रयासकै कारण महोत्सव सफलतापूर्वक सम्पन्न भएको धारणा राखे। त्यस्तै, अर्का सल्लाहकार सुवेदार जसबहादुर गुरुङले युनाइटेड क्लब युवा अवस्थामै रहेर पनि पोखरामै उत्कृष्ट महोत्सव आयोजना गर्न सफल भएको बताए ।

उनले हरेक महोत्सवमा १० हजार रुपैयाँ तथा दीपावलीका अवसरमा ५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक कार्यलाई निरन्तरता दिन सल्लाहकारहरूको सक्रिय सहभागिता आवश्यक रहेको औंल्याए ।कार्यक्रममा प्रथम उपाध्यक्ष शान्तबहादुर थापा, महोत्सव सल्लाहकार कृष्णबहादुर थापा, स्वास्थ्य उपसमिति संयोजक नरहरि पनेरु तथा स्टेज संयोजक पूर्णकुमार श्रेष्ठलगायतले महोत्सव सफल बनाउन क्लबका सबै पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य तथा सल्लाहकारहरूको महत्वपूर्ण योगदान रहेको बताएका थिए ।

युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने क्लबका महासचिव दिनेश सुनारले कार्यक्रम सञ्चालन गरेका थिए ।

पोखरा ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल अन्तर्गत लायन्स क्लब अफ पोखरा मार्दीको लायन वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ । क्लबको अध्यक्षमा उमाकान्त रिजाल चयन भएका छन् । त्यसैगरी प्रथम उपाध्यक्षमा विष्णु प्रसाद अधिकारी, द्वितीय उपाध्यक्षमा अर्जुन प्रसाद पौडेल, सचिवमा पंकज कुमार धामी चयन भएका छन् ।

यसैगरी सह सचिवमा लायन अर्जुन बहादुर क्षेत्री, कोषाध्यक्षमा खिम बहादुर भुजेल(कुमार), क्लब एड्मनिस्टेटर मनोज कुमार अधिकारी र श्याम प्रसाद भुषाल, सदस्यता वृद्धि प्रमुखमा अर्जुन बास्तोला, एलसीआईएफ कोअर्डिनेटरमा नारायण बडुवाल, मेडिया कोडिनेटर सागर राज तिमिल्सिना, खेलकुद निर्देशक लेखनाथ न्यौपाने, आर्थिक निर्देशकमा नवराज बराल चयन भएका छन् ।

नव–निर्वाचित कार्यसमितिलाई डिष्ट्रिक्ट ३२५ एलका प्रथम भाइस गभर्नर इलेक्ट तेज नारायण पराजुली, डिष्ट्रिक्टका साहेक प्रमुख सल्लाकार राजु अधिकारी, साहेक प्रमुख सल्लाकार ज्ञानेन्द्र कोइराला, क्लबका संस्थापक अध्यक्ष मनोज कुमार अधिकारी लगातएले शुभकामाना दिदै क्लबलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा सामाजिक सेवामा अग्रसर हुन आग्रह गरे ।

लायन्स क्लब अफ पोखरा मर्दीका अध्यक्ष सुमन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका संयोजक श्याम प्रसाद भुषालको संयोजनकत्वामा निर्वाचन समिति सम्पन्न भयो ।

पोखरा । पोखरामा हुने चौथो यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप २०२६ को तयारी शुरू भएको छ ।यहि चैत्र २८ गते देखि ३० गते सम्म नेपाल एथलेटिक्स संघको आयोजनामा तथा कास्की जिल्ला एथलेटिक्स संघको व्यवस्थापनमा हुने सो च्याम्पियनसिपको तयारी शुरू भएको हो ।

२०७९ सालमा चितवनमा सम्पन्न तेस्रो संस्करणको सो च्याम्पियनसिप तीन वर्ष पछि पोखरामा हुने भएको नेपाल एथलेटिक्स संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक गजबहादुर गुरुङले जानकारी दिएका छन् । उनले भने–“यो प्रतियोगिता हरेक वर्ष हुनुपर्ने थियो । तर विविध कारणले रोकिन पुग्यो । अब हामी यसलाई निरन्तरता दिने उद्धेश्यका साथ तीन वर्ष पछि पोखराबाट सुरूवात गर्दैछौं ।”

प्रतियोगिता ट्रयाक र फिल्ड गरी दुई विधामा सञ्चालन हुनेछ । देशभरका सातै प्रदेशबाट उत्कृष्ट यू–२० खेलाडीहरूको सहभागिता रहने छ । हरेक प्रदेशबाट १० महिला र १० पुरुष गरी २० खेलाडी गरी कुल १४० जना खेलाडीसँगै एक–एक जना प्रशिक्षक र एक–एक जना टिम व्यवस्थापक गरी कुल १५४ जनाले प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगितामा प्रत्येक खेलाडीले एक ट्रयाक र दुई फिल्ड वा दुई फिल्ड र एक ट्रयाक इभेन्टमा मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा ट्र्याकतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३००० मिटर दौड समावेश गरिएको छ । साथै रिले अन्तर्गत ४×१०० मिटर र ४×४०० मिटर मिक्स्ड रिले पनि आयोजना हुनेछन् भने फिल्ड इभेन्टतर्फ हाइजम्प, लङजम्प, सटपुट र ज्याभलिन थ्रो समावेश गरिएको छ ।

कास्की जिल्ला एथलेटिक्स संघ तथा आयोजक समितिका सचिव सिद्धान्त अधिकारीका अनुसार प्रतियोगिताको तयारी शुरु भइसकेको र प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको जानकारी दिए ।हरेक इभेन्टमा स्वर्ण, रजत र पदक बिजेता खेलाडीले क्रमश जनही नगद रु ४, ३ र २ हजार तथा रिलेतर्फका विजेताले क्रमश नगद रु ६, ४ र २ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै हरेक प्रदेशका उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई प्रोत्सहान वापत नगद रु ७–७ हजार तथा ओभरअल च्याम्पियनतर्फ एक प्रदेशलाई नगद रु १० हजारका साथमा ट्रफी प्रदान गरिने कास्की जिल्ला एथलेटिक्स संघका कोषाध्यक्ष गोप बहादुर अधिकारीले बताए ।आयोजकका अनुसार यस प्रतियोगिताले देशभरका युवा एथलेटिक्स प्रतिभालाई पहिचान गर्न तथा भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

पोखरा ।

रेडियो अन्नपूर्ण र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा यहि  चैत २१ शनिवार हुने बृहत रक्तदानको सम्पूर्ण तयारी पुरा भएको छ ।  कार्यक्रम रेडियो अन्नपूर्णको कार्यालय पोखरा– ४ गैह्रापाटनमा  शनिबार बिहान ७ बजेबाट शुरु हुने रेडियोले जनाएको छ ।

रेडियो वार्षिक कार्यक्रम तथा सामाजिक उत्तरदायित्व अन्र्तगत यसबर्ष पनि चैतको तेश्रो शनिबार “रक्तदान म पनि गर्छु” भन्ने मूल नाराका साथ २४औं बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने लागेको रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्लले जानकारी दिए।

चैत महिनामा रक्तदानका कार्यक्रमहरु कम हुने हुँदा रगतको अभाव हुने भएकाले संस्थैगत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत कार्यक्रम गदै आइरहेको कार्यक्रम संयोजक सिता क्षेत्रीले बताइन्। रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको छ । रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहनेछ ।

रक्तदान कार्यक्रममा १७ देखी ६० वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका कुनै पनि दिर्घरोगको औषधी सेवन नगरेका संक्रामक रोग नलागेका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने छन् ।रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वास्थ्य प्राप्ति हुने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरि कम भई शरिरको तौल घटाउन सघाउने लगायतमा फाइदा हुने विज्ञहरुको भनाई छ ।

रक्तदान कार्यक्रमको सहयोगी सस्थांहरुमा पोखरा फाइनान्स लिमिटेड ,प्रभु बैँक लिमिटेड,नेपाल बैंक लिमिटेड,जोन्टा क्लब पोखरा, गुहेश्वरी मर्चन्ट बैँकिङ एण्ड फाइनान्स लिमिटेड,लायन्स क्लब अफ पोखरा सेन्टीनियल,सलिको इन्स्योरेन्स,नेपाल बिमा प्रधाधिकरण,रुपाकोट ज्योति सुनचादिँ पसल,लायन्स क्लव अफ पोखरा सेति गंगा,बराल फिड पोखरा,नेलम्बो नेपाल,तालवाराही फरमेर्सी,माइबुक्स स्टेशनरी,फिष्टेल नर्सिङ् कलेज,सिजि फुड्स प्रा.लि,ग्रिन डेभलब्मेन्ट बैँक लिमिटेड,अतिथि रिर्सोट एन्ड स्पा,बृज एडिटिभ्स रहेको मार्केटिङ म्यानेजर नारायण पौडेलले जानकारी दिए । रेडियोले गएको बर्षको रक्तदानमा १ सय ३० युनिट रगत सङ्कलन गरेको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।