
पोखरा ।
धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखराको प्रसिद्ध तालबाराही मन्दिरदेखि माथिल्लो मुस्ताङमा अवस्थित पवित्र दामोदर कुण्डसम्मको ६ दिने धार्मिक तथा पर्यटकीय भ्रमण कार्यक्रम सुरु भएको छ। पोखरा महानगरपालिकाको ‘पोखरा भ्रमण वर्ष’ र नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभीए) को संयुक्त आयोजनामा यो यात्रा सुरु भएको हो।
मंगलबार पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडस्थित फेवातालको बीचमा रहेको तालबाराही मन्दिर परिसरबाट टोलीले यात्राको शुभारम्भ गरेको छ। ६ दिने यस विशेष भ्रमणका क्रममा सहभागीहरूले पवित्र दामोदर कुण्डका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिर र यात्राको रुटमा पर्ने अन्य विभिन्न मठमन्दिरहरूको समेत दर्शन एवं भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ।
पोखरा भ्रमण वर्षको सन्दर्भमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटनलाई थप गतिशील बनाउन र देशका प्रमुख धार्मिक गन्तव्यहरूलाई आपसमा जोड्नका लागि यो कार्यक्रम निकै उपयोगी हुने विश्वास लिइएको छ।
यात्राको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धार्मिक पर्यटनलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि महानगरले विशेष पहल गरिरहेको बताए । सञ्चारकर्मीहरूको एक टोलीलाई सम्बोधन गर्दै उनले धार्मिक क्षेत्रको भ्रमणपछि प्राप्त हुने वस्तुनिष्ठ रिपोर्टका आधारमा महानगरले नयाँ कार्ययोजना बनाउने जानकारी दिए ।
`पर्यटन क्षेत्रका सवारी व्यवस्थापन गर्ने साथीहरू र सञ्चारकर्मीहरूको टोलीले स्थलगत भ्रमण गरी त्यहाँको वास्तविक अवस्था, यात्रुहरूले भोग्नुपरेका समस्या, आवास र खानाको व्यवस्थाबारे विस्तृत अध्ययन गर्नेछ। यसले आगामी दिनमा पर्यटकका लागि थप सहज वातावरण बनाउन मद्दत पुग्नेछ´ उनले भने ।
संघका अध्यक्ष रविप्रसाद आचार्यले धार्मिक पर्यटन प्रवर्द्धनका लागि भ्रमण फलदायी हुने बताए ।
पोखरा ।
पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पालाई खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयले स्तरिकरण गरेको छ । कार्यालयले ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ भन्ने नारा सहित स्थलगत अनुगमन गरी मूल्याङ्कन गरेको हो ।
होटल, रेष्टुरेण्ट, चमेना गृह तथा क्याटरिङ व्यवसाय स्तरिकरण कार्यविधी अनुसार गरिएको मूल्याङ्कनमा टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले १०० अंक मध्ये ९२ अंक प्राप्त गर्दै ३ तारा (थ्री स्टार) अंकित ‘अति उत्तम’ श्रेणीको हरियो स्टिकर तथा प्रमाणपत्र प्राप्त गरेको हो । खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयले लेकसाइडका अन्य होटल तथा रेष्टुरेन्टहरूलाई कार्यक्रमको आयोजन गरि स्तरीकरण प्रमाणपत्र तथा लोगो वितरण गरेको छ ।
स्तरिकरणमा पानीको भण्डारण, पानीको परिक्षण कागजात, कर्मचारीको प्रशिक्षण तथा मेडिकल प्रमाणपत्र, फ्रिज, भान्साको तापक्रम, खाद्य पदार्थको भण्डारण, उपकरणहरूको सरसफाई,बाह्य वातावरणको सरसफाई लगायत विषयहरूमा अनुसन्धान गरिएको टेम्पल ट्रि रिसोर्टका एडमिन एण्ड एचआर रामकृष्ण कँडेलले जानकारी दिनुभयो ।
पोखरा ।
युवाहरूमा नैतिक मूल्य, सेवाभाव, सामाजिक उत्तरदायित्व तथा आध्यात्मिक चेतनाको विकास गराउने उद्धेश्यका साथ ब्रह्माकुमारीज क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा “आध्यात्मिक जागरणद्वारा विश्व नवनिर्माण – २०८३” थिमको क्षेत्रीय शुभारम्भ, युवा प्रभाग नेपालको राष्ट्रिय शुभारम्भ एवं दुई दिवसीय युवा सशक्तिकरण प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय भीमबहादुर कार्कीको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशका नवनिर्वाचित सभापति श्री नवीन त्रिपाठीको उपस्थिति रहेको थियो।
संस्थाको माउंट आबू स्थित अंतर्राष्ट्रीय मुख्यालयबाट आउनुभएका युवा प्रभागका राष्ट्रीय समन्वयक (National Coordinator) ब्र.कु. जीतु भाई जी , भारतबाट आउनुभएका Radiologist, MRI Specialist. Dr राजेश भाई जीले कार्यक्रममा युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, आत्मविश्वास वृद्धि, सकारात्मक जीवनशैली, तनाव व्यवस्थापन तथा राजयोग ध्यानका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका अध्यक्ष राजयोगिनी ब्रह्माकुमारी परिनीता दिदीजीले गर्नुभएको थियो। कार्यक्रमको प्रारम्भमा महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बरालले कार्यक्रमको उद्धेयश्यमाथी प्रकाश पार्दै स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
अतिथिहरूद्वारा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका वरिष्ठ उपाध्यक्ष राजयोगिनी ब्रह्माकुमारी कमला दिदीजीले युवाहरूलाई आध्यात्मिक मूल्य, सकारात्मक सोच र आत्मा परिवर्तन मार्फत समाज तथा राष्ट्र निर्माणमा अग्रसर हुन प्रेरणा दिनुभयो।
पश्चिम नेपालका विभिन्न जिल्लाहरुबाट करिब १५० भन्दा बढी ब्रह्माकमार ब्रह्माकुमारी(युवा युवती)हरुको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रमका सहभागी युवाहरूले प्रशिक्षणबाट जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा प्राप्त भएको अनुभव व्यक्त गरेका थिए।
पोखरा ।
पोखरा क्रिकेट एकेडेमीको आयोजना, किडासा र एमसीसी फाउन्डेसनको सहयोग तथा कास्की जिल्ला क्रिकेट संघ र प्रादेशिक क्रिकेट संघ गण्डकीको प्राविधिक सहयोगमा पोखरामा क्रिकेट प्रशिक्षण, स्कोरिङ, तथा अम्पायरिङ सम्बन्धि दुई दिने ‘ओ’ लेबल तालिम सम्पन्न भएको छ ।
तालिममा सञ्जयकान्त सिग्देल र भोज बरालले अम्पाइरिङ सम्बन्धी, रिजन प्रजु र ऋषिकेश शर्माले कोचिङ सम्बन्धी, तथा आशिष बरालले स्कोरिङ सम्बन्धी तालिम प्रदान गरेका थिए । तालिममा कास्की, पर्वत, स्याङ्जा र तनहुँबाट विभिन्न विद्यालयका सम्बन्धित शिक्षक, पूर्व खेलाडी तथा क्रिकेट प्रेमीहरू सहित ३६ जनाको सहभागिता रहेको थियो । तालिमका सहभागीहरूलाई गिरासा प्रतिनिधि बसन्त पराजुली सञ्जय आत्रेय लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
कास्कीसँगै गण्डकी प्रदेशका अन्य जिल्लाहरूमा क्रिकेट गतिविधि बढ्दै जाँदा प्राविधिकहरूको अभावका कारण प्रतियोगिता आयोजनामा समस्या देखिएकाले यो तालिम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बबिन कुँवरले जानकारी दिए । यो तालिमले पोखरा क्रिकेट एकेडेमीको आयोजनामा आगामी शनिबारदेखि पोखरामा सुरु हुन लागेको अन्तर विद्यालय छात्र÷छात्रा क्रिकेट प्रतियोगिता सञ्चालनमा सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष कुँवरको भनाई छ ।
पोखरा ।
१० औं संस्करणको पोखरा स्पोर्टस अवार्डको टाईटल स्पोन्सर हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोखरा स्पोर्टस अवार्डको टाइटल स्पोन्सरका लागि हिमश्री फुड्स प्रालि र अवार्ड सञ्चालक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच बिहीबार सम्झौता भएको छ ।
पोखरा स्पोर्टस अवार्डको तर्फबाट आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव परशुराम शर्मा र हिमश्री फुड्सका महाप्रवन्धक शिव गिरी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हिमश्री फुड्सको तर्फबाट प्रवन्ध निर्देशक प्रकाश केसी र १० औं पोखरा स्पोर्टस अवार्डका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमबी आस्था मगरको रोहबरमा उक्त सम्झौता सम्पन्न भएको हो ।
सो अवसरमा वोल्दै हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकाश केसीले विगतका संस्करणहरुमा समेत सहभागीता जनाउदै आएको हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउले १० औं संस्करणमा टाइटल स्पोन्सरमा रहेर सहकार्य गर्न पाउदा खुसी लागेको बताए । खेलकुद क्षेत्रमा लामो समयदेखि साथ र सहयोग गर्दै आइरहदा पोखरा स्पोर्टस अवार्ड विशुद्ध खेलाडीहरुमा समर्पित हुने भएकाले उक्त कार्यमा सहभागी हुनु आफैमा गर्वको कुरा रहेको केसीको भनाइ रहेको थियो ।
पोखरा स्पोर्टस अवार्डका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले हिमश्री फुड्स प्रालिले विगतका संस्करणहरुमा समेत साथ र सहयोग गर्दै आइरहदा १० औं संस्करणमा टाइटल स्पोन्सर गरी थप हौसला प्रदान गरेकोमा हिमश्री फुड्का निर्देशक प्रकाश केसी प्रति आभार प्रकट गरे । हिमश्री फुड्स द्धारा उत्पादित दक्षिण एशियामै नुडल्समा पहिलो रारा तयारी चाउचाउ नेपालमै निकै लोकप्रिय इन्स्टयान्ट नुडल्स मध्येको एक हो । अहिले रारा तयारी चाउचाउ संगै रारा हट एण्ड स्पाइसी चाउचाउ समेत उत्पादन गर्दै आइरहेको छ । हिमश्री फुड्सले स्थानीय स्वादलाई ध्यानमा राखेर खाद्य उत्पादन गर्दै आइरहेको हिमश्री फुड्स प्रालिका महा प्रवन्धक शिव गिरीले बताए ।
विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ ।
अवार्डका लागि गण्डकी प्रदेश सरकार,प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ), रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ । त्यसैगरी सेगीहरुमा तमु धिँ युके, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्टे«ेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्ड शवार्मा स्टेशन) रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको छ ।
रोहित बस्नेत
बैशाख १ पोखरा : अर्घाखाँची पोखरा सम्पर्क समाजले नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान सहित समाजले प्रकाशन गरेको भित्तेपात्रो समेत सार्वजनिक गरेको छ । भित्तेपात्रोमा अर्घाखाँची जिल्लाका विभिन्न धार्मिक, ऐतिहासिक तथा पर्यटन स्थलहरू अंकित रहेका छन्। यसले जिल्लाको सांस्कृतिक पहिचान, ऐतिहासिक महत्त्व र प्राकृतिक सौन्दर्यलाई उजागर गर्दै स्थानीय सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक टोपबहादुर खनालले लामो समयदेखि पोखरामा सक्रिय रहेको समाजले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो। उपरीक्षक खनालले पहिलाको तुलनामा अर्घाखाँची जिल्लाको विकासमा केही कमी देखिए पनि वर्तमान युवा पुस्ताको सरकारले देश परिवर्तनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उहाँले सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा समाजका अध्यक्ष राम प्रसाद पौडेलले नयाँ वर्षले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना व्यक्त गर्नुभयो । उहाँले समाजमा सकारात्मक सोच, सहकार्य र भाइचाराको आवश्यकता औंल्याउनुभयो । उहाँका अनुसार अर्घाखाँची जिल्लाबाट पोखरामा आई विभिन्न पेसा व्यवसायमा संलग्न भई बसोबास गरिरहेका व्यक्तिहरूको सक्रियतामा समाज गठन भई विगतदेखि नै मानवीय सेवाका कार्यहरू सञ्चालन हुँदै आएका छन् ।
कार्यक्रममा विशेष अतिथि पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डाक्टर पीताम्बर पौडेल, हाल हङकङ निवासी समाजका शुभचिन्तक कृष्णप्रसाद पाण्डे तथा समाजका निबर्तमान अध्यक्ष दधिराम खनाल, पूर्ब अध्यक्ष एवंम सल्लाहकारहरु ओम प्रकाश पाण्डे, ज्ञानहरि आचार्य, गुणानिधि पाण्डे, कृष्ण प्रसाद पाण्डे, चेतनारायण पाण्डे क्यालेन्डर प्रकाशन उपसमिति संयोजक नमराज पाण्डे लगायतले बोल्नु भएको थियो ।
समाजका वरिष्ठ उपाध्यक्ष बाबुलाल पाण्डेले स्वागत मन्तव्यका क्रममा सम्पूर्ण समाजलाई नयाँ बर्षले थप प्रेरणा र उत्साह प्रदान गरोस भन्दै स्वागत गर्नुभएको थियो ।
समाजका महासचिव कृष्ण रानाभाटले कार्यक्रमलाई कुशलतापूर्वक सञ्चालन गर्दै सम्पूर्ण उपस्थित भएका समाजका पदाधिकारी सदस्य तथा आजिवन सदस्यको परिचय सँगै कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा समाजका आजीवन सदस्य तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।


पोखरा ।
देशैभरि नयाँ शैक्षिक सत्र सुरु हुन लागेको अवस्थामा हरेक शैक्षिक संस्थाहरू त्यसको तयारीमा जुटिरहेका छन् । त्यस्तै पोखरा महानगरपालिका वडा नं. ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले भने मन्टेश्वरीदेखि दश कक्षासम्म अध्यापन गराउने शिक्षक शिक्षिकाहरूकालागि अंग्रेजी भाषा सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
माल्भर्न कलेज यू.के. का हेड अफ सर्भिस एण्ड कम्युनिटी पार्टनरसिपका नाथन स्मिथले कसरी प्रभावकारी रुपमा अंग्रेजी सिकाइ र शिक्षण गर्ने भन्ने विषयमा केन्द्रित भएर सहजिकरण गरेका थिए । मेजर कृष्ण बहादुर गुरुङ र हितमान गुरुङको संयोजकत्वमा कार्यक्रम सञ्चालन गरिएको थियो । विज्ञान प्रविधिको प्रयोग दिनानुदिन बढ्दै गइरहेकाले शिक्षण सिकाइ क्रियाकलाप झन् चुनौतिपूर्ण बन्दै गएकाले शिक्षकहरूलाई यस्ता पुनर्ताजगीका कार्यक्रम आवश्यक परेको कुरा विद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो । माल्भर्न कलेजसँग छिट्टै सहकार्य गरेर अगाडि बढ्ने कुरा समेत अध्यक्ष पालिखेले जानकारी गराउनुभयो ।
निजी तथा सामुदायिक दुवै विद्यालयका शिक्षकहरूमा अंग्रेजी सिकाइ र शिक्षण स्तरलाई माथि उकास्न निरन्तर प्रयासरत रहेको कुरा संयोजक मेजर कृष्ण बहादुर गुरुङले बताउनुभएको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिनुभयो ।




