धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच भीषण भिडन्त भएको छ। उक्त घटनामा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ।

घटनास्थलमा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको जनाइएको छ। भिडन्त धनुषाको विदेह नगरपालिका–२ अन्तर्गत वैदेही दुहबीस्थित नेपाल–भारत सीमाको नजिक भएको हो।
सशस्त्र प्रहरी बल धनुषाका उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार, बिहीबार साँझ करिब ७ बजे तस्करीको सामान भित्र्याएर एक स्थानीय आँपबगैँचामा राखिएको भन्ने गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरीको ३० जनाको टोली घटनास्थल पुगेको थियो।
सशस्त्र प्रहरी त्यहाँ पुगेलगत्तै तस्करहरूको समूहले घरेलु हतियार, भाटा र ढुंगामुढा प्रयोग गरी सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए।
जवाफी कारबाहीस्वरूप सुरक्षाकर्मीहरूले १३ राउन्ड अश्रुग्यास र चार राउन्ड हवाई फायर गर्न बाध्य भएको एसपी खड्काले जानकारी दिए।









