सन् २००९ मा वाशिङ्टन डिसीस्थित बुकिङ्स इन्स्टिच्युसन नामक एक संस्थाले इरानका लागि अमेरिकी अमरणनीतिहरूका लागि विकल्पहरू शीर्षकमा एक शोधपत्र प्रकाशन गरेको थियो। यस शोधपत्रको पाँचौं अध्यायको शीर्षक थियो, बीबीलाई छाडिदिनुहोस्। यसको मतलब इजरायल (बेन्जामिन नेतान्याहु) माथि निर्भर राख्ने। यसका लागि अमेरिकाले इजरायललाई इरानमाथि आक्रमणका लागि प्रोत्साहन र सहयोग गर्ने, तर अमेरिका प्रत्यक्ष रूपमा युद्धमा संलग्न नहुने, जसबाट अन्तर्राष्ट्रिय आलोचना र इरानको प्रतिशोध दुवैबाट अमेरिका बच्न सकोस्। हालको इरान-इजरायल युद्ध यसैको परिणाम हो। यसको तय सन् २००९ मा नै गरिएको थियो। यसको मतलब स्पष्ट छ, इजरायल आफैंमा कुनै एक सार्वभौम राज्य नभएर पश्चिम एशियामा अमेरिकी प्रभुत्व कायम राख्नका लागि खडा गरिएको एक प्रोक्सी राज्य मात्र हो।

यी सबैको कारक भनेको अमेरिकी डलरको प्रभुत्व कायम राख्नु हो। विश्व बजारमा अमेरिकी डलरको प्रभुत्व कायम राख्नका लागि विश्व ऊर्जा बजार (पेट्रोलियम पदार्थ) को कारोबार महत्वपूर्ण छ। त्यसैले यसलाई पेट्रोडलर पनि भनिन्छ। सन् १९७४ मा अमेरिका र साउदी अरेबिया बीच एक सम्झौता भयो, जसमा साउदीले आफ्नो देशमा उत्पादित तेल अमेरिकन डलरमा मात्र बिक्री गर्ने भयो। यसले विश्वका सम्पूर्ण देशहरूलाई पेट्रोलियम पदार्थको खरीद गर्दा अमेरिकी डलरको आवश्यक पर्ने भयो र अमेरिकी डलरको बजार विश्वव्यापी बन्यो। यसरी अमेरिकाले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा डलरको प्रयोगलाई अनिवार्य बनाएको छ र संसारको जुनसुकै मुलुकले पेट्रोलियम पदार्थ अमेरिकी डलरमा मात्रै खरीद गर्न सक्दछ।
विश्वमा आपूर्ति हुने ऊर्जा (पेट्रोलियम पदार्थ) को बजारका महत्वपूर्ण द्वारहरू स्ट्रेट अफ हर्मुज, बाब अल मन्दब स्ट्रेट र स्वेज नहर पश्चिम एशियाका क्षेत्रबाट हुने गर्दछ र विश्व बजारमा आवश्यक ऊर्जा (पेट्रोलियम पदार्थ) को भण्डारण पनि यसै क्षेत्रमा छ। त्यसकारण यस क्षेत्रमा जसको प्रभुत्व छ, उसैले विश्व बजारमा एकाधिकार कायम गर्न सक्छ। यसरी तपाईं हामी सबैले उपभोग गर्ने गरेको डिजल, पेट्रोल, मट्टीतेल लगायतको व्यापारबाट संसारको जुनसुकै देशको जहाँसुकै बस्ने घरपरिवारबाट अमेरिकाले नाफा आर्जन गरिरहेको छ र आफूलाई नाफा नदिने जुनसुकै देश, व्यक्ति र परिवारलाई अमेरिकाले निशाना बनाउने गर्दछ। त्यसैले पश्चिम एशियाका मुलुकहरू अमेरिकाको निगरानी र निशानामा पर्ने गरेका छन्।
इरान सन् १९७९ मा इस्लामिक गणतन्त्र भएदेखि नै अमेरिकाको निशानामा परेको थियो र अहिलेको इरान-इजरायल युद्ध यसको परिणाम मात्र हो। अमेरिकाको एक दशक अघिदेखिको विदेश नीति अनुरूप इजरायलले शुरू गरेको इरान-इजरायल युद्धमा अपेक्षा विपरीत इजरायल कमजोर अवस्थामा देखिएपछि अमेरिकाले इरानका आणविक आयोजना सञ्चालन गरेका क्षेत्रमा सीधै आक्रमण गर्यो। यसरी अमेरिका सीधा युद्धमा होमियो। त्यसको बदलामा इरानले कतारमा रहेको एक अमेरिकी सैन्य बेसमा त्यति नै विस्फोटक सहित हमला गर्यो, जति अमेरिकाले आणविक ठेगानाहरूमा गरेको थियो। यसपछि युद्धबाट उम्किनुमै फाइदा देखेर अमेरिकाले तत्कालै दुवै पक्ष युद्धविरामको लागि अपिल गर्यो। यदि अमेरिका यो युद्धबाट नबाहिरिएको भए त्यसको प्रत्यक्ष प्रभाव बाँकी विश्वमा पनि पर्ने थियो र यो कदम अमेरिकाकै लागि अन्ततोगत्वा नोक्सानदायक हुनेथियो। तत्काल भयंकर युद्धको जोखिम टरेको देखिए पनि अमेरिका र इजरायल जस्ता देशले आफ्ना निहित स्वार्थ नत्याग्दासम्म र उनीहरू बलिया हुँदासम्म सिंगो संसार युद्धको भयबाट मुक्त हुन सक्दैन, संसारमा शान्ति छाउन सक्दैन।









