कैलालीमा अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।
गोदावरी नगरपालिका–८ स्याउलेबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा २६ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय चन्द्र चौधरी रहेका छन्।
उनीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी बिट स्याउलेबाट खटिएको संयुक्त टोलीले उनीहरूका घरमा खानतलासी गर्दा दुईवटा भरुवा बन्दुक बरामद गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले जानकारी दिए।
बरामद गरिएको दुबै बन्दुकसहित राजकुमार र चन्द्र चौधरीलाई नियन्त्रणमा लिइएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









