भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानीमा भएको एक भयानक घटनामा ३० वर्षीय राजेन्द्र राईले आफ्नो ससुराली परिवारका चार जनाको हत्या गरेका छन्। भोजपुर नगरपालिका–२, हेलौंछा घर भएका राजेन्द्रले सासू, ससुरा, श्रीमती र सालाको छुरा प्रहार गरी निर्मम हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दीपक श्रेष्ठका अनुसार मृतकहरूमा ६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी, उनकी छोरी तथा राजेन्द्रकी श्रीमती मनिषा गिरी र उनका भाइ सपन गिरी छन्।

घटना शनिवार राति भएको हो। हत्या गरेपछि राजेन्द्रले राति करिब १ बजे प्रहरी कन्ट्रोलमा फोन गरी भने, “मैले चार जनाको हत्या गरेँ, मलाई पक्राउ गर्न आउनुस्।” प्रहरीका अनुसार हत्या राति ११ बजे भएको अनुमान छ। संवेदनशील सूचना प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थल पुग्दा चारै जना मृत अवस्थामा फेला परे। आरोपी राजेन्द्रलाई प्रहरीले घटनास्थलबाट करिब ५ किलोमिटर टाढा हर्बु भञ्ज्याङबाट घाइते अवस्थामा नियन्त्रणमा लिएको छ। उनको पेटमा चोट लागेको छ र थप उपचारका लागि धरान लगिएको छ।
प्रहरीसमक्ष राजेन्द्रले दिएको बयानअनुसार, राति खाना खाएर सबैजना सुतेका थिए। सल्याङबल्याङ आवाज आएपछि ब्युँझदा सासूले उनलाई छुरा प्रहार गरेको र त्यही छुरा खोसेर आफूले जवाफी प्रहार गरेको बताएका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानले पारिवारिक विवादका कारण यो घटना भएको हुन सक्ने अनुमान गरेको छ। राजेन्द्र ६ दिनअघि ससुराली गएका थिए भने उनकी श्रीमती मनिषालाई डेढ महिनाअघि सासूले माइती लगेकी थिइन्।









