पोखरा ।
पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।बुद्धटोल युवा क्लबका स्वर्गीय सल्लाहकार विरेन गुरुङको स्मृतिमा सुरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले गरे ।

सो अवसरमा बोल्दै एसपी कार्कीले फुटबलको क्षेत्रमा बिटी क्लबको योगदान अतुलनीय रहेको धारणा राखे ।प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बिटी ह्वाइटले मेरो नेपाल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै आयोजक दोस्रो चरणमा प्रवेश गर्याे ।
बिटी ह्वाइट र मेरो नेपाल क्लबबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।यस्तै दोस्रो खेलमा पाटन एफसीलाई भाइब्रेन्ट एफसीले २–० को गोलले पराजित गर्याे । भाइब्रेन्टको जीतमा अजय गुरुङ र एलिया गुरुङले समान १/१ गोलको योगदान दिए ।
प्रतियोगिताको पहिलो चरणका बाँकी खेलहरु शुक्रबार बिहान ८ बजेबाट सञ्चालन हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कुल ४६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।उनले प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए ।
प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् ।यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।









