पोखरा ।

गत असोजमा पोखरामा सम्पन्न दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । पोखरा क्लिक र पोखरा प्रबर्धन केन्द्रको आयोजनामा गत असोज ११ गते सम्पन्न भएको प्रतियोगिता सम्पन्न गर्न १३ लाख २ हजार २ सय ५० रुपैयाँ खर्च भएको आयोजकले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो ।
जेनजी आन्दोलनका कारण केही संघ संस्थाबाट भुत्तानी लिन ढिलाई भएकोले केही भुक्तानी गर्न बाँकी समेत रहेको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताए । हालसम्म विभिन्न संघ संस्था तथा व्यक्तिबाट ९ लाख ९ हजार रुपैयाँ रकम संकलन भएको आयोजकले जनाएको छ । सहयोगको प्रतिबद्धता जनाएका केही संघ–संस्थाबाट रकम भुक्तानी हुने क्रम जारी रहेकाले घाटा केही परिमाणमा न्यूनीकरण हुने विश्वास गरिएको छ । संयोजक बरालले आगामी संस्करणलाई अझ व्यवस्थित बनाउने जानकारी गराए ।
प्रतियोगितामा नेपाल सहित ८ देशका १६७ धावक सहभागी भएका थिए । विश्व पर्यटन दिवसका अवसरमा आयोजना गरिएको दौडले खेल पर्यटन प्रवद्र्धनमा सकारात्मक योगदान पु¥याएको आयोजकको दाबी छ । आय–व्यय विवरणबारे सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा सहयोगकर्ता प्रति कृतज्ञता व्यक्त गर्दै आगामी संस्करणमा अझ व्यवस्थित रूपमा संचालन गरिने उल्लेख छ ।
प्रतियोगितालाई सफल पार्न नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको थियो भने त्यसैगरी पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नम्बर २२ लगायतका विभिन्न संघ संस्थाको सहयोग रहेको प्रतियोगिताका व्यवस्थापक सागर सुनारले बताए ।
दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिमका नरेन्द्रसिंह रावतले जितेका थिए । विदेशी पर्यटक तर्फ फ्रान्सका थियो डनेट र भेट्रान्सतर्फ गण्डकीबाट किशोर थापा प्रथम भए । पोखरा वडा २२ तर्फ कुशल परियार प्रथम भएभने महिलातर्फ कोशी प्रदेशकी पदमकुमारी सुनुवार प्रथम भएकी थिइन् । यू–१६ मा प्रकाश थिङ प्रथम भएका थिए ।
प्रतियोगितामा ८२ वर्षका पुम्दीभुम्दीका लीलबहादुर गुरुङ र ११ वर्षका गण्डकी बोर्डिङ स्कुलका आरोन नेपाललाई जुनियरतर्फ सम्मान गरिएको थियो । प्रतियोगितामा नेपालका सात प्रदेश र विदेशका बेलायत, नर्वे, इजरायल, प्र्रmान्स, अमेरिका, स्पेन र क्यानडा सहित आठ देशका धावक सहभागी भएका थिए ।
विश्व कीर्तिमानी धावक तनहुँका वसन्त घिमिरे र विश्वशान्ति स्तूप समिति अध्यक्ष अशोक गुरुङलाई पोखरा पर्वद्धन विशिष्ट सम्मान गरिएको थियो । अघिल्लो बर्ष उक्त सम्मानबाट उद्योगी एवं समाजसेवी चन्द्रकान्त बराल र विश्व कीर्तिमानी धावक लेफ्टिनेन्ट कुसाङ गुरुङलाई प्रदान गरिएको थियो ।









