सुर्खेत — जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञाको अवज्ञा गरेको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको छ। वीरेन्द्रनगरका विभिन्न स्थानमा हिँडडुल गर्दा पक्राउ परेकाहरूमा जुम्लाका बद्री बोहोरा, सुर्खेत विजौराका मोहन थापा, कालिकोटको पचालझरनाका महेश बुढाथोकी, तिलागुफाका प्रेम कुँवर, शुभकालिकाका पुष्पराज शाही र पचालझरनाका मिलन बस्नेत रहेका छन्। प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार शान्ति सुरक्षा र जनस्वास्थ्यलाई ध्यानमा राखी जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने गतिविधि कडाइका साथ निगरानीमा राखिएको छ।

प्रहरीले सबै नागरिकलाई निषेधाज्ञा पालना गर्न आग्रह गर्दै नियम उल्लंघन गर्ने जो कोहीलाई पनि कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ। सो निषेधाज्ञा बिहीबार बिहान ८:३० देखि साँझ ६:०० बजेसम्म जारी गरिएको थियो।









