
हेमजा ।
“युवा एकता र विकासका लागि खेलकुद ” भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा न.२५ हेमजामा अवस्थित हेमजा यूनाईटेडको आयोजनामा तथा पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा यही जेष्ठ १० देखि १७ गते सम्म ३५ वर्ष भन्दा माथि उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२”को आयोजना गरिएको छ ।
खेलकुदको माध्यमबाट एकता भाईचार बढाउदै खेलकुदमा अभिरुचि जगाई खेलकुदका मध्यम बाट स्वास्थ्य राख्ने साथै गौरीशङ्कर खेल मैदान(गैरी)लाई स्तरोन्नति तथा संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्र बहादुर कुवरले जानकारी दिए । साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने समेत कुवरले उल्लेख गरे ।
प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क नगद रु १० हजार राखिएको छ । साथै सहभागिताका लागि यही जेष्ठ ८ गते बिहीबार ५ः३० बजे सम्म टिम दर्ता गरी सक्नुपर्ने खेल समन्वय संयोजक सौरभ काकीले जानकारी दिए ।
गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भुमिका रहेको छ । खेल पोखरा–२५, हेमजा गौरीशङ्कर खेल मैदान(गैरी)मा हुने छ ।
पाेखरा ।
पाेखरा ४ गैह्रापाटनमा रहेकाे प्रतिष्ठित विद्यालय कुमुदिनी हाेम्सले ग्रामिण क्षेत्रमा रहेका दुई विद्यालयका विद्यार्थीका लागि नयाँ शेैक्षिक सत्रका लागि ड्रेस तथा खाजा खर्च सहयाेग गरेकाे छ । विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै बिगत १२ वर्षदेखि पाेखरा महानगरपालिका वडा नं १९ पुरञ्चाैरमा रहेकाे हिमालयन प्रा.वि तथा माछापुच्छ्रे गाउँपालिका खादरजुङमा रहेकाे बाराही प्रा.वि.का लागि ४३ हजार बराबरकाे पाेशाक उपलव्ध गराएकाे हाे ।

आईतबार विद्यालयमा आयाेजित सहयाेग हस्तान्तरण कार्यक्रममा संस्थापक अध्यक्ष अशाेक पालिखेले उक्त सामग्री हिमालयन प्रा.वि.का प्रधानाध्यापक प्रेम कुमारी तिमिल्सिना र बाराही प्रा.वि.का प्रधानाध्यापक राम आचार्यलाई हस्तान्तरण गरे । समाराेहमा कुमुदिनीका अध्यक्ष पालिखेले बिगतका दुबै विद्यालयकाे दयनीय अवश्था सम्झिदै भने, विद्यार्थी नपाएर विद्यालय नै नरहने स्थितिलाई मध्यनजर गर्दै विद्यार्थीका लागि वर्षभरि पुग्ने कापी, कलम, खाजा खर्च तथा विद्यालय पाेशाक उपलव्ध गराउँदै आएकाे बताए । लाेटस फाउण्डेसन जर्मनीका रेनर कुबेराकाे सहयाेगमा निरन्तर सहयाेग गर्दै आएकाे बताए ।
पालिखेले विद्यार्थीलाई सानैबाट सहयाेगीकाे भावना जागृत गराउँदै उनीहरुले पनि अभिभावकलाई भनेर १ देखि १० कक्षाका विद्यार्थीले कापी, कलम लगायतका शेैक्षिक सामग्री वितरण गर्दै आएकाे बताए । झाेलुङ्गे पुलबाट जान असहज भएकाे देखेपछि हिमालयन प्रावि जानका लागि ट्रष्टकाे पुल बनाईदिएकाे, शाैचालय निर्माण तथा फर्निचर सहयाेग गर्दै आएकाे बताए ।
अध्यक्ष पालिखेले हिमालयन प्रा.वि.का २३ विद्यार्थीका लागि रु १५ हजार र बाराहीका लागि रु २८ हजार गरी ४३ हजारकाे विद्यालय पाेशाक सहयाेग गरेकाे बताए । साथै उनले यस वर्षका लागि हिमालयनलाई खाजा खर्चका लागि रुपैयाँ ४० हजार तथा बाराहीका लागि रुपेैयाँ ८० हजार सहयाेग गरिएकाे बताए ।
सहयाेय पाएपछि हिमालयन प्रा.वि.का प्रधानाध्यापक प्रेम कुमारी तिमिल्सिना र बाराहीका राम आचार्यले कुमुदिनी हाेम्स परिवार, अध्यक्ष अशाेक पालिखेकाे सहयाेगकाे जति बयान गरेपनि नसकिने बताए । उहाँकै कारण विद्यालय यहाँसम्म आएकाे छ । याे गुणलाई कहिल्यै तिर्न सकिँदैन । आर्थिक अवश्था कमजाेर भएका विद्यार्थीले पनि पढ्न पाउनु पर्छ र विद्यालय बचाउनु पर्छ भन्ने पालिखे सरकाे अग्रसरताले हामीलाई पनि प्रेरणा मिलेकाे बताए । आगामी दिनमा पनि सहयाेगले निरन्तरता पाउने अपेक्षा व्यक्त गरे ।
पोखरा, कोरला खबर — गण्डकी प्रदेश सरकारले सेल्फ राइडिङ र सेल्फ ड्राइभ सेवा सञ्चालनका लागि नियमावली ल्याएपछि पोखराका निजी सवारी सेवा सञ्चालकहरूले सरकारप्रति आभार प्रकट गरेका छन्। उनीहरूले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसीमार्फत प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरेका हुन्।
हाल पोखरामा करिब १०० जना सेल्फ ड्राइभ सेवा (गाडी भाडामा दिने) व्यवसायीहरू सक्रिय छन्। तर तीमध्ये केवल पाँच जना मात्र कानुनी रूपमा दर्ता भएका छन्। यसअघि कानुनी आधार नहुँदा बारम्बार कारबाहीमा पर्नुपर्ने, जरिवाना तिर्नुपर्ने बाध्यता रहेको व्यवसायीहरूले बताएका छन्। नयाँ नियमावली कार्यान्वयनसँगै अब नियमित रूपमा सेवा सञ्चालन गर्न सकिनेमा उनीहरूले आशा व्यक्त गरेका छन्।
मंगलबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले ‘सवारी तथा यातायात व्यवस्था नियमावली’ पारित गरेको थियो। यस निर्णयसँगै प्रदेशमा सेल्फ राइडिङ र सेल्फ ड्राइभ सेवा कानुनी रूपमा वैध भएका छन्। उक्त नियमावली प्रदेश सरकारको राजपत्र (संख्या ०२, भाग २, जेठ १ गते, २०८२) मा प्रकाशित गरिएको हो।

प्रदेश राजपत्रमा प्रकाशित गण्डकी प्रदेशको सेल्फ राइडिङ तथा सेल्फ ड्राइभ सेवा सम्बन्धी नियमावली
सेल्फ राइडिङ सेवा सञ्चालन गर्न अब स्पष्ट कानुनी प्रक्रिया अनिवार्य गरिएको छ। निजी प्रयोजनका लागि दर्ता गरिएका दुईपांग्रे र चारपांग्रे सवारीहरूले तोकिएको भाडा लिई यात्रु बिमा गरी सेवा दिन सक्ने प्रावधान प्रदेश सवारी तथा यातायात ऐन २०७६ को दफा १३(४) मा उल्लेख गरिएको छ।
नियमावलीमा सेवा सुरु गर्नुपर्ने शुल्क पनि निर्धारण गरिएको छ। दुईपांग्रे सवारीका लागि रु. २५,०००, चारपांग्रेका लागि रु. ५०,००० र दुवै सेवामा आबद्ध हुन चाहनेका लागि रु. ७०,००० तिर्नुपर्नेछ। यी सेवाहरूको वार्षिक नवीकरण शुल्क क्रमशः रु. १२,५००, रु. २५,००० र रु. ३५,००० रहेको छ। साथै, यातायात कार्यालयमा सेवा शुल्क स्वरूप दुईपांग्रेका लागि रु. ५,००० र चारपांग्रेका लागि रु. २०,००० तोकिएको छ। सार्वजनिक सवारी साधनका लागि भने २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
नियमावली अनुसार, कम्पनीबाहेक व्यक्तिगत सवारीधनीहरूले पनि सेवा सञ्चालन गर्न चाहेमा सम्बन्धित शुल्क तिरेर अनुमति लिन सक्नेछन्। सवारीको सिसीअनुसार नवीकरण र थप शुल्क पनि लागू हुनेछ। साथै, सेवामा प्रयोग गरिने सवारी साधनको संख्या परिवर्तन भएमा, इजाजतपत्र समयमै अद्यावधिक गर्नुपर्नेछ।
यता, सरकारको यो निर्णयलाई सकारात्मक उपलब्धि मानिए पनि यातायात व्यवसायीहरू भने केही असन्तुष्ट देखिएका छन्। उनीहरूले सरकारले समस्याहरूको गहिरो अध्ययन नगरी बलपूर्वक नियम लागू गरेको आरोप लगाएका छन्।
तर सेल्फ राइडिङ सेवा सञ्चालनमा उत्साहित व्यवसायीहरूको धारणा फरक छ। “हामीले वर्षौंयता कानुनी मान्यता माग गर्दै आएका थियौं, अब बल्ल त्यो सुनुवाइ भएको छ,” एक व्यवसायीले प्रतिक्रिया दिएका छन्।
पोखरा ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशको आयोजनामा आगामी शनिवार पोखरामा निःशुल्क आँखा शिविरको आयोजना हुने भएको छ । ३२ औं मदन आश्रीत स्मृति दिवसको अवसर पारेर आँखा शिविरको आयोजना गर्न लागिएको हो ।
हिमालय आँखा अस्पतालको सहकार्यमा पोखरा रंगशालामा निःशुल्क आँखा जाँच तथा उपचार शिविर आयोजना हुने मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले जानकारी दिए ।
सामाजिक उत्तर दायित्व अन्तर्गतको उक्त शिविरमा पत्रकार, खेलाडीहरु, खेल प्रशिक्षक र रेफ्रीहरुले सहभागीता जनाउन समेत अध्यक्ष गुरुङले आग्रह गरेका छन ।
मदन भण्डारी स्पोर्टस एकेडेमीले स्थापना कालदेखिनै खेलकुदका गतिविधी संगै सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको एकेडेमीका केन्द्रीय अध्यक्ष धुर्ब आचार्यले बताए ।
पोखरा ।
नेपाल परिवार नियोजन संघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ३ कार्यलयको सहयोगमा शनिवार यौन तथा प्रजनन् स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं ३ नदीपूरस्थित बाल मन्दिर माविको परिषरमा आयोजित कार्यक्रमबाट ५७ जना लाभान्वित हुनुभएको छ ।
विशेष गरी महिलाहरुको स्वास्थ्यलाई प्राथमिकता राखेर कार्यक्रम गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।
शिविरको उद्घाटन गण्डकी प्रदेश नीति तथा योजना आयोगकी सदस्य दुर्गा लामिछानेले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य र समाजिक क्षेत्रका लागि उपयोगी हुने गरी योजना निर्माणमा प्राथमिकता दिने बताउनुभयो । ‘सबै क्षेत्रका आवश्यकतालाई बुझ्छौं, उहाँले भन्नुभयो, जनताका आवश्यकतालाई प्राथमिकता दिनेछौं।’
पोखरा महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष प्रकाश उदासले शिक्षा र स्वास्थ्यलाई आफ्नो वडाले प्राथकिता दिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघका निवर्तमान महासचिव अर्जुन सिग्देल र बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. कालिका भण्डारीले बोल्नुभएको थियो ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले संचालन गर्नुभएको थियो ।
पोखरा ।
नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका छन् ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही वर्ष खेलाडी घोषित भएकी हुन् ।
पुरुषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बनेका हुन् । उनीहरु दुवैलाई छनोट समितिको सिफारिसमा वर्ष खेलाडीस्वरुप टेलजी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्रदान गरियो । वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दो÷मुआथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ समेत मनोनयनमा परेका थिए । पुरुषतर्फ टेनिसका प्रलिप खड्का र फुटबलका सुमित श्रेष्ठ थिए ।
महिला वर्ष खेलाडी उपाधि बिजेता अरुणा शाही नेपाली महिला भलिबल राष्ट्रिय टिमकी कप्तान हुन् । मुक्तिदान विद्यालयबाट आफ्नो खेल जीवनको सुरु गर्दा उनी मात्र १३ वर्षकी थिइन् । परिवारको बाधाका बिच उनले भलिबललाई नै रोज्दै अघि बढिन् । राष्ट्रिय प्रतियोगिताहरुमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्ने अरुणाले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्ने मौका पाएकी थिइन् । त्यसयता नियमित राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाइराख्न सफल अरुणाले भारतसँगको मैत्रिपूर्ण, साउथ एशियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन, १२ र १३ औं दक्षिण एशियाली खेलकुद (साग) खेल्दै भलिबलमा आफ्नो एकछत्र राज गरिरहेकी छिन् ।
अहिले उनी एकपछि अर्को सफलतामा रमाइरहेकी छिन् । २०८१ साल उनका लागि अझ स्वर्णिम बन्यो । अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा उनको कप्तानीमा नेपाली महिला टोलीले भारतमाथि निकाल्यो । भने फाइनलमा भारतसँगै पराजित भएर उपविजेता भएको थियो । टाइगर कपमा पनि आयोजक टाइगर ग्रुप पोखराबाट सहभागी बनेर उपाधि जिताएकी थिइन् । त्योभन्दा अघि आठौं एनभिए कपमा एभरेष्ट भलिबल क्लबबाट सहभागी बनेर टिमलाई द्वितिय बनाउन भूमिका खेलिन् । २०८१ सालमै नेपालमै पहिलो पटक भएको महिला भलिबल लिगमा चितवन शक्तिको मार्की खेलाडी थिइन् ।
पुरुषतर्फ वर्ष खेलाडी विश्वास अधिकारी नवलपुर बौद्धिकाली गाउँपालिका ३ बाझोबारीका उनी २ वर्षअघि मात्रै गण्डकी प्रदेशको टिममा डेब्यु गरे । मिडल ब्लकरको भूमिकामा खेल्दै आएका उनले २०६५ सालमा जन्मिएका विश्वासले श्रीलंकामा भएको काभा यु–२० भलिबल च्याम्पियनसिप खेल्दै रजत पदक हासिल गर्न सफल भएका थिए । उनका लागि राष्ट्रिय टिमबाट खेलेको यो पहिलो खेल समेत हो ।
उनले प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा समेत उनी पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । ३४ औं राष्ट्रिय मेन्स भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले तेस्रो स्थान हासिल उनी टोलीमा थिए । आठौं पिएम कप महिला÷ पुरुष भलिबलमा दोस्रो, चौथो टाइगरकपमा दोस्रो समेत भएका थिए । १६ वर्षदेखी भलिबल खेल्न सुरु गरेका उनको पहिलो यात्रा स्थानीय क्लब नयाँछापबाट खेल्दै आएका थिए । त्यो बाहेक प्रदेशस्तरीय र पालिका स्तरीय खेलमा उनले प्राप्त गरेका पदकहरु पनि धेरै छन् ।
त्यस्तै मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ । उनलाई चाँदीको करुवासहित अवार्ड प्रदान गरिएको मञ्चका सचिव एवं अवार्ड कार्यक्रमका प्रचारप्रसार संयोजक राजु गिरीले बताए ।
उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरी उत्कृष्ट बनीन् । सो विधामा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की समेत उपाधि होडमा थिए । टेनिसका नीरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बने । उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त ग¥योभने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड बिजय नेपालले पाए । उनीहरूलाई ३५ हजारसहित अवार्ड प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा खेलकुद मन्त्री बिन्दु कुमार थापाले स्वास्थ्य रहनको लागि खेलकुदको ठुलो महत्व रहेको बताए । साथै पर्यटन प्रवर्धनका लागि पनि खेलकुदको योगदान रहेको उनको भनाई थियो ।त्यस्तै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले खेल र खेलाडीका लागि गरिने यस्ता कार्यक्रमलाई सहकार्य गर्न तयार रहेको बताए । साथै खेलाडीको राष्ट्रप्रतिको योगदानलाई सम्मान व्यक्त गरे ।
त्यसैगरि पोखरा महानगरपालिका मेयर धनराज आचार्यले राज्यले आयोजना गर्नुपर्ने कार्य मञ्चले गरेको हुँदा निकै सह्रानिय कार्य भएको बताए । यस्ता कार्यक्रमले खेलाडीलाई प्रोत्साहन मिल्ने उनको भनाई थियो ।त्यस्तै मञ्चका अध्यक्ष एमबि आस्था मगरले खेलकुद पत्रकारिता गर्नु भनेको समर्पण, धैर्य र इच्छाशक्तिको गहिरो परीक्षण रहेको बताए । ‘यस्ता चुनौतीबीच पनि हामीले सत्य, निष्पक्ष र तथ्यमा आधारित समाचार दिन निरन्तर प्रयास गरिरहेका छौं । र यस्ता अवार्डहरूले हाम्रो प्रेरणामा थप ऊर्जा थप्ने काम गरेका छन् ।’ –उनले भने ।
यस्तै अवार्डको छनौट समितिका संयोजकमा रोहितराज पराजुली थिएभने सदस्यहरुमा सुदर्शन रञ्जित, सुमन गुरुङ, बिजय नेपाली, रिखिराम जिसी, मञ्चका अध्यक्ष एमबि आस्था मगर र महासचिव परशुराम शर्मा थिए । त्यसैगरि वर्ष उत्कृष्ट पत्रकार छनौट समितिको संयोजकमा केशव पाठक र सदस्यमा रमेश पौडेल, माधव बराल, रोहितराज पराजुली, एमबि आस्था मगर र परशुराम शर्मा रहेका थिए ।
अवार्ड कार्यक्रममा समिक्षा अधिकारीको प्रस्तुती थियोभने सैनिक आवसिय माविका विद्यार्थीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा स्थापित छ ।
पोखरा ।
विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखरामा पाँच दिवशीय अनुसन्धान विधि शुक्रबारदेखि तालिम सुरु भएको छ । विद्यापीठ अन्तर्गतको अनुसन्धान व्यवस्थापन एकाइ (च्ःऋ) को आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम आयोजना गरिएको हो ।
तालिमको उद्घाटन समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले उच्च शिक्षामा तथा नीति निर्माणमा अनुसन्धान पद्धतिको बढ्दो महत्वमाथि जोड दिनुभयो ।
यस्ता कार्यक्रमहरूले शैक्षिक उत्कृष्टता सुदृढ गर्नुका साथै नवप्रवर्तनमा टेवा पु¥याउने उहाँले बताउनुुभयो । अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सहप्रा. डा. चुडामणि कडेलको अध्यक्षतामा सम्पन्न उद्घाटनसत्रमा विद्यापीठका पूर्व प्राचार्य प्रा. श्रीराम वराल, निवर्तमान प्राचार्य प्रा. डा. जगन्नाथ रेग्मी, अंग्रेजी विभागका विभागीय प्रमुख प्रा. सत्यराज सुवेदी, प्राचार्य सहप्रा. आनन्दमणि रिजाल लगायतले कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो ।
समारोहमा पोखरास्थित पृथ्वीनारायण, कन्या, कालिकालगायत क्याम्पसका प्राध्यापक, विद्यापीठमा कार्यरत प्राध्यापक, कर्मचारी विद्यार्थीको उपस्थिति रहेको थियो ।उद्घाटन पश्चातका छुट्टाछुटै सत्रमा प्रा. श्रीराम बराल र सहप्रा. डा. भोलानारायण रेम्मीले अध्यक्षता गर्नुुभएको थियो भने पृथ्वीनारायण क्याम्पसका अंग्रेजी शिक्षा विभागका विभागाध्यक्ष सह प्रा. डा. नवराज न्यौपाने र पिण्डेश्वर विद्यापीठको व्याकरण विभागका सहप्रा. डा. भवानीशंकर भट्टराईले सहजीकरण गर्नुभएको थियो ।
आगामी वैशाख ३० गतेसम्म चल्ने तालिममा प्राज्ञिक अनुसन्धान विधिसम्बद्ध १० कार्यपत्र प्रस्तुति र कार्यशालाहरू सञ्चालन हुनेछन् ।
अनुसन्धान व्यवस्थापन इकाइका सदस्य सचिव उप. प्राध्यापक प्रकाश पौडेलद्वारा सञ्चालित कार्यक्रमका सहभागीलाई अनुसन्धान व्यवस्थापन एकाइका सदस्य सहप्रा. डा. योगराज पौडेलले स्वागत गर्नुभएको थियो ।
पोखरा ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले युवाको शारीरिक तथा सामाजिक विकासमा खेलकुद महत्वपूर्ण रहेको बताउनुभएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नंं. ६ मा आयोजित तेस्रो रनिङ शिल्ड प्रतियोगिता शुुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले यस्ता प्रतियोगिताले दूरदराज गाउँहरूबाट खेलाडीहरू उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो ।
‘खेलकुदमा युवा सहभागिताले शारीरिकसँगै सामाजिक रूपमा सबल बनाउँदछ । सान्दर्भिक गतिविधिहरूमा संलग्न हुने सम्भावना बढ्छ ।’ उहाँले भन्नुभयो –‘युवाले खेललाई जीवनको माध्यम बनाउँछन्, यसले आत्मसम्मान बढाउँछ । सामाजिक सीपहरू विकास गर्न सक्छ र उपयुक्त नेतृत्व क्षमताको पनि विकास गराउँछ ।’
खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पु¥याउने भएकाले यसको विकास र सम्वद्र्धन जरुरी रहेको प्रदेश प्रमुख भट्टले उल्लेख गर्नुभयो । ‘खेलकुद क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय गरी तीन तहबाट यसमा यथेष्ठ प्रयत्नहरु होउन् भनेर म सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उहाँले भन्नुभयो – ‘खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो । खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीणको ढोका खोल्न सकिन्छ ।’
खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनुपर्ने उहाँको भनाई छ । भट्टले खेल शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभएर कुटनीति, अर्थतन्त्र एवं सहकार्य र एकताको स्तम्भसमेत हुन पुगेको बताउनुभयो ।
प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो । अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्क भएको नागरिक उत्पादनमा खेलकुद सहयोगसिद्ध छ ।’माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ का अध्यक्ष टेकनाथ गौतमको अध्यक्षतामा भएको उद्घाटन समारोहमा माछापुच्छ्रे गाउँपालिकाका प्रशासकीय अधिकृत केशव सुवेदीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन सन्देश अधिकारीले गर्नुभएको थियो ।
गोरखा ।
गोरखामा ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको छ । ट्रेकिङ एजेन्जीस् एशोसिएशन अफ नेपाल ९टान० गण्डकीको आयोजनामा गोरखामा ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको हो । टान गण्डकीको आयोजनामा गोरखा नगरपालिका–५ पस्लाङगाउँ होमस्टेमा घरवास तथा ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम गर्दै ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको हो ।
सन् १९५६ मे ९ तारिखका दिन जापानका पर्ततारोही तोसिओ इमानिसी र नेपालका पर्वतारोही ग्लाल्जेन नोर्वु र्शर्पाले पहिलो पटक मनास्लु हिमाल आरोहण गरेका थिए । आरोहण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर रानाले गोरखामा इतिहास पढ्न नभएर हेर्नका लागि पर्यटक आउने गरेको बताए ।
‘गोरखा नेपालको इतिहास बोकेको ठाउँ हो, नेपाल एकिकरणका लागि पृथ्वीनारायण शाहले नेतृत्व गरे, गोरखाका जनताले साथ दिए’, मेयर रानाले भने, ‘नेपाल एकिकरण समय किताबमा पढेका आधारमा आन्तरिक पर्यटक गोरखा आउँछन्, गोरखा इतिहास पढ्न होइन, इतिहास हेर्न पर्यटक गोरखा आउँछन् ।’
उनले पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेर नेपालको राजधानी काठमाडौं सारेपछि गोरखा छायाँमा परेको गुनासो गरे ।
‘नेपाल एकिकरणपछि पृथ्वीनारायण शाहले नेपालको राजधानी काठमाडौं सारेपछि गोरखा छायाँमा पर्दै आएको छ, उनले भने, ‘ गोरखा सबै क्षेत्रबाट छायाँमा परेपछि पर्यटक प्रवद्र्धन मार्फत गोरखालाई लयमा फर्काउन गोरखा भ्रमण वर्ष घोषणा गरेको छौं, सबैलाई गोरखा घुम्न आउन निम्तो समेत दिन चाहान्छु ।’
उनले गोरखा धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा धनी भएकाले गोरखाको समृद्धि पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए ।
गोरखा नगरपालिका उपप्रमुख सपना पुनले पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गोरखा घुम्न पठाउन आग्रह गरिन् ।
‘पोखरा आउने पर्यटकलाई गोरखा पठाउने काम पर्यटन व्यवसायीले गर्नुपर्छ’, उपप्रमुख पुनले भनिन्, ‘ गोरखा आउने पर्यटक मनास्लु पदयात्रा, लार्के पास सम्म पर्यटक पु¥याउन सके गोरखाको मात्र नभएर देशमो समृद्धिमा सहयोग पुग्छ ।’
उपप्रमुख पुनले मनास्लु , चुमभ्याली पदयात्रा जाने पर्यटक धादिङको मलेखु, आरुघाट जाँदा गोरखा छायाँमा पर्दै आएको बताए ।
अन्नपूर्ण पदयात्रा सडक सञ्जालले जोडिएपछि आन्तरिक तथा बाह्य पर्यटकले मनास्लु पदयात्रालाई रोज्दै आएका छन् ।
पर्यटन बोर्ड गण्डकीका प्रदेशका प्रमुख मणिराज लामिछानेले गण्डकीका तीन पालिकाले पर्यटन वर्ष घोषणा गरेर पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको बताए ।
‘पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेशका तीन पालिका, पोखरा महानगरपालिका, गोरखा नगरपालिका र बन्दिपुर नगरपालिकाले सन् २०२५ लाई पर्यटन भ्रमण वर्षका रुपमा अगाडि बढाएका छन्’, प्रमुख लामिछानेले भने, ‘पर्यटन भ्रमण वर्षले ग्रामिण पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्छ ।’
उनले मनास्लु हिमाल आरोहणको ७० औ वर्ष भब्य रुपमा मनाउन जापानीज राजदुतावाससँग छलफल गरिरहेको बताए ।
‘जापनीज नागरिकले मनास्लु हिमाललाई जापान हिमालको रुपमा मान्छन् त्यसैले ७० औ मनास्लु हिमाल आरोहण दिवस सामागाउँ नै गएर जापानीज राजदुतावासको उपस्थितिमा मनाउने गरी छलफललाई अगाडि बढाएको छु ।’ उनले भने ।संसारको ८ हजार मिटरको अग्लो उचाईमा रहेको मनास्लु हिमाल संसारको आठौं र नेपालको सातौं अग्लो हिमाल हो ।
ट्रेकिङ एजेन्जीस् एशोसिएशन अफ नेपाल ९टान० गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले ग्रामिण पर्यटन प्रवद्र्धन गर्नु नै टानको उद्धेश्य रहेको बताए ।‘टानले स्थापना कालदेखि नै ग्रामिण पर्यटनको प्रवद्र्धनमा काम गर्दै आएको छ, पछिल्लो समय पदमार्ग सडक सञ्जालले जोडिदा पर्यटन व्यवसायमा मर्कामा परेका छन्, अध्यक्ष आचार्याले भने, ‘टानको नेतृत्वमा पहिलो पटक गोरखामा मनास्लु हिमाल आरोहण दिवस मनाउँदै गर्दा ग्रामिण पर्यटन प्रवद्र्धनको उद्धेश्यसहित आएका छौं ।




