
लेखनाथ ।
पोखरा महानगरपालिका वडा नंं २६ ले महिला तथा आमा समूहका लागि उद्घोषण र समूह व्यवस्थापन तालिम सोमबार देखी शुरु गरेको छ ।तालिम शुभारंभ गर्दै, पोखरा महानगरपालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले महिलाहरुका लागि संचालन गरिएका कार्यक्रमहरु प्रभावकारी हुँदै आएको बताउनु भयो ।
वडा अध्यक्ष थापाले महिलाहरुको क्षमता र नेतृत्व विकासका लागि बार्षिक कार्ययोजना बनाई तालिम संचालन गर्दै आएको उल्लेख गर्नु भयो ।तालिमले महिलाहरुलाई आत्मविश्वासी र दृढ बनाएको बताउँदै, अध्यक्ष थापाले समूह र टोलबाट नयाँ नेतृत्व उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले अनुशासन र समय व्यवस्थापनमा महिलाहरु अब्बल हुने भएकाले तालिमको सिकाई प्रभावकारी हुन् अपेक्षा गर्नु भयो । मसिना कुराहरुको ज्ञान नहुँदा समूहलाई व्यवस्थापन गर्न कठिनाई भएको उल्लेख गर्दै अध्यक्ष थापाले तालिम पछि महिलाले नेतृत्व गरेका समूह सुदृढ हुने विश्वास व्यक्त गर्नु भयो ।
वडा सदस्य लक्ष्मीदेवी भट्टराईले क्षमता भएकाहरुको भूमिका समाजमा फरक हुने भएकाले सहभागीलाई तालिमले थप शक्तिकरण गर्ने बताउनु भयो ।वडा सदस्य सुजता बराल सुनारले क्षमता अभिबृद्धि र उद्यमशिलताका तालिमहरुले महिलाहरुलाई शसक्तीकरण र उत्पादनमा जोड्न सकिने बताउने भयो ।कार्यक्रममा पोखरा महानगरपालिका वडा न.ं २६ का सूचना अधिकारी नवराज सापकोटाले व्यक्तित्व विकास र अन्तरनिहित दक्षतालाई प्रस्फुटन गर्न तालिम सहयोगी हुने उल्लेख गर्नु भयो ।
प्रशिक्षक घनश्याम पाण्डेले ज्ञान हुँदा हुँदै पनि अभिव्यक्तिको माध्यम र विधि जानकारी नहुँदा महिलाहरु नेतृत्वदायी भूमिकामा देखिन समस्या भएको बताउनु भयो ।
वडा सदस्य लक्ष्मी देवी भट्टराईको अध्यक्षतामा भएको तालिम शुभारंभ कार्यक्रमको संचालन वडा नं. २६ का कर्मचारी इन्दिरा रेग्मीले गर्नु भएको थियो । एक सातासम्म संचालन हुने तालिममा एक सय २० जनाको सहभागिता रहेको छ ।
पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । समापन सत्रमा बोल्दा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तालिमले आफ्नो पेशामा निपूर्ण बन्न मदत गर्ने बताए ।
उनले पत्रकारको कर्मलाई समाजले निग्रनी गरिरहेको हुने बताउदै आफ्नो कर्ममा निश्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पर्ने बताए । सहभागीको तर्फबाट बोल्दै संचारकर्मी रोजी श्रेष्ठ र राजन उपाध्यायले तालिम छोटो समयको भएता पनि प्रभावकारी भएको बताए ।
आगामी दिनमा अभ्यास सहितको तालिम प्रदान गर्न आयोजकलाई आग्रह गरे । प्रमुख प्रशिक्षक वरिष्ठ फोटो पत्रकार एवं मोवाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले फोटो, भिडियोका लागि मोवाइलको उच्चतम प्रयोग गर्न सकिने बारे प्रशिक्षित गरे । वरिष्ठ फोटो पत्रकार राम गुरुङ र कृष्णमणि बरालले पत्रकारितामा फोटो पत्रकारिताको महत्व सहित आफ्नो अनुभव सहित सहजिकरण गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सह सचिव मधु अधिकारीले गरेका थिए । तीन दिन सम्म संचालन भएको तालिममा विभिन्न संचारमाध्यममा आवद्ध ७० जना पत्रकार एवम संचारकर्मीको सहभागिता थियो ।
पोखरा ।
खेलकुदको शहर पोखरामा चौथो संस्करणको मोहन मेमोरियल नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता–२०८२ बुधबार देखि हुने भएको छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्स प्लेक्सको आयोजनामा यही जेठ २१ गते देखि उक्त प्रतियोगिता हुने भएको आज (सोमबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
३ वटा उमेर समुह र पोखरा महानगरपालिका वडा स्तरिय इभेण्टमा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेसन तथा फिट नेपालका संस्थापक अध्यक्ष भुगोल गुरुङले बताउनु भयो । जेठ २४ गतेसम्म फिट नेपाल स्पोट्र्स प्लेक्सको ब्याडमिन्टन कोर्टमा हुने उक्त प्रतियोगिता अन्र्तगत यू—११ एकल छात्र तथा छात्रा तर्फ, यू—१५ र यू—१९ गरी ४ वटा इभेण्टमा एकल छात्र तथा छात्रा तर्फ प्रतिष्प्रर्धा हुने भएको भएको छ ।
प्रतियोगितामा यू—१५ र यू—१९ का विजेता खेलाडीलाई जनही ३० हजार, उपविजेतालाई २० हजार र तेश्रो हुने खेलाडीलाई भने १० हजार पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । पोखरा महानगर वडा स्तरिय (डवल) प्रतिष्प्रर्धामा विजेता हुने, उपविजेता र तेश्रो हुनेलाई क्रमशः ३०, हजार , २० हजार र १० हजार प्रदान गरिने भएको हो । यू—११ तर्फका बिजेतालाई भने आकर्षण पुरस्कार प्दान गरिने भएको छ ।
प्रतियोगितामा पोखरा सहित काठमाण्डौं, चितवन, कपिलबस्तु, भोजपुर लगायतका स्थानबाट करिब १ सय ५० भन्दा बढी खेलाडीहरु सहभागि हुने भएको प्रतियोगिताका संयोजक मधु गिरीले बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । बुधबार हुने उद्घाटन खेलमा भने मार्च पास समेत हुने तयारी गरिएको फाउण्डेसनका सचिव बरदान लामाले बताउनु भयो । तल्लो स्तरबाटै ब्याडमिन्टन खेलको विकास गराउने उद्धेश्यले फाउण्डेसनले विगत ४ बर्ष देखि निरन्तर रुपमा उक्त प्रतियोगितालाई निरन्तर रुपमा अयाोजना गर्दै आएको संस्थापक अध्यक्ष गुरुङले जनाउनु भयो ।
ओलम्पियन एवं ब्याडमिन्टनका नम्बर वान खेलाडी प्रिन्स दाहालले नेपालमा ब्याडमिन्टन खेलको धेरै सम्भावना भएको दाबी गर्दै नियमित रुपमा प्रतियोगिता र प्रशिक्षण गरे नेपालले यस खेलबाट पदक ल्याउन सक्ने दाबी गर्नुभयो । पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक पुनम गुरुङले पोखरामा तल्लो तहबाट खेलाडी उत्पादन गर्ने अभियानमा आफुहरु लागेको बताउनु भयो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष याम्बी आस्थाले सरकारले पछिल्लो समयमा खेलकुदको महत्व बुझेर यस बर्ष दोब्बरले बजेट आउनु खुसिको कुरा भएको बताउनु भयो ।
लेखनाथ ।
कास्की नेत्रहिन संघले सोमबार लेखनाथमा आयोजना गरेको अपाङ्गता सचेतना सम्वन्धि लोक गित प्रतियोगितामा उर्जाशिल नेत्रहिन महिला समूह पोखरा—२६ प्रथम भएको छ । प्रतियोगितामा नेत्रहिन महिला समूहले दोश्रो स्थान हासिल गरेको छ भने तृतिय स्थान नमूना आमा समूह पोखरा—२६, रिठ्ठेपानीले प्राप्त गरेको छ । प्रतियोगितामा नेत्रहिन युवा संघ बुढिबजारले सान्तवना स्थान हासिल गरेको छ ।
बिजेता समूह प्रथमलाई १० हजार, द्धितियलाई सात हजार, तृतियलाई पाँच हजार र सान्तवना हुनेलाई तीन हजार रुपैया पुरस्कार र प्रमाणपत्र बितरण गरिएको छ ।
पुरस्कार बितरण गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले भौतिक पूर्वाधारको स्तरोन्नतीले मात्र विकासको मापन नहुने उल्लेख गर्दै, मानविय संसाधनको बिकासमा ध्यान दिनु पर्ने बताउनु भयो ।
वडा अध्यक्ष थापाले अपाङ्ग प्रति विभेद भन्दा पनि अवसरको खाँचो रहेको स्पष्ट पार्दै, क्षमता भएर पनि अपाङ्गताका कारण कतिपय अवसरहरु गुमेको उल्लेख गर्नु भयो । उहाँले अपाङ्ग नागरिकका लागि राज्यले सुरक्षित जीवनको ग्यारेन्टी गर्नु पर्नेमा जोड दिनु भयो । अपाङ्गता सम्वन्धि जनचेतनामुलक कार्यक्रमले सपाङ्ग नागरिकका लागि बुझाईको अवसर मिलेको बताउनु भयो ।वडा सदस्य सुजता बराल सुनारले सवै क्षेत्रलाई समेट्ने गरी वडाले बजेट विनियोजन गरेको उल्लेख गर्दै, महिलाको सशक्तीकरणका लागि क्षमता अभिबृद्धिका कार्यक्रममा जोड दिईएको बताउनु भयो ।
पोखरा २६ का सूचना अधिकारी नवराज सापकोटाले भौतिक पूर्वाधारहरु अपाङ्गमैत्री हुनु पर्नेमा जोड दिदै, क्षमता अभिबृद्धि र उद्यमशिलताका कार्यक्रम संचालन गरी आत्मनिर्भर बनाउन सहयोग गर्नु पर्ने बताउनु भयो ।कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा लोकदोहोरी प्रतिष्ठान कास्कीका अध्यक्ष शिवहरि ढुंगाना, लक्ष्मी आदर्श क्याम्पसका सहायक क्याम्पस प्रमुख तारा शर्मा, अपाङ्ग महासंघका रमेश पोखरेल, कास्की नेत्रहिन संघका उपाध्यक्ष अमृत बराल लगायतले प्रतियोगिताको बारेमा बोल्नु भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष थापाले ४० जना दृष्टिविहिनलाई सेतो छडी, दुई जनालाई ह्वील चियर र पाँच जनालाई हेयर एड मेशिन बितरण गर्नु भएको थियो ।
प्रतियोगितामा वडा नंं २६ का महिला तथा आमा र दृष्टिविहिन सहित १४ समूहको सहभागिता रहेको थियो । लोकदोहोरी गायक शिवहरि ढुंगाना, लक्ष्मी आदर्श क्याम्पसका सहायक क्याम्पस प्रमुख तारा शर्मा र रमेश पोखरेल निर्णायक रहनु भएको थियो । कार्यक्रम नेत्रहिन संघ कास्कीका सुनिता ज्ञवालीले संचालन गर्नु भएको थियो भने कार्यक्रम संयोजन शुशिल गोदारले गर्नु भएको थियो ।
गण्डकी प्रदेशको मुख्य आकर्षण रहेको भनिएको पोखरा-१७ स्थित बिरौटामा वैशाख १७ गते शुरु भएर जेठ २६ गतेसम्म आयोजना भैरहने भन्दै व्यापक प्रचार गरिएको कोटिहोम सफल भएको घोषणा शङ्ख फुकेर गरिएको छ ।
सभ्य-भव्य रूपमा दैनिक लाखौं भक्तजनहरुको उपस्थितिमा आयोजना भैरहेको ऎतिहासिक श्री गण्डकी सय कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ लाई अग्निचक्र राष्ट्रिय मासिकले लगातार ४ पटक विशेषाङ्क प्रकाशित गरेर साथ दिइरहेको पाइएको छ ।
यत्ति ठुलो कोटिहोम कार्यक्रमको अग्निचक्रले मात्रै विशेष-अङ्क प्रकाशित गरेको हो । सनातन क्षेत्रमा यज्ञ-शिरोमणि भनेर चिनिएका धर्म-सम्राट तथा बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले संकल्प गर्नुभएको श्री गण्डकी कोटिहोमलाई अग्निचक्र मासिकले गत २०८१ फागुन-अङ्कदेखि नै अहिले जेठ २०८२ अङ्कसम्म साथ दिएको देखिएको पाइयो ।

केन्द्रीय राजधानी-काठमाडौंबाट प्रकाशित एवं प्रेस काउन्सिल नेपालद्वारा ‘क’ वर्गमा वर्गीकृत अग्निचक्र राष्ट्रिय मासिक पत्रिका १६ वर्ष ११ महिनादेखि लगातार प्रकाशित भैरहेको छ । अध्यात्म-प्रधान मासिक पत्रिकाको रूपमा अग्निचक्र मासिक प्रकाशित भैरहेको हो ।
वैदिक सनातन धर्मको प्रवर्द्धन र रक्षाका लागि गण्डकी कोटिहोममा आएका भक्तजनले अग्निचक्र निस्शुल्क पढ्न पाइने र लैजान सकिने कुरा पोखरा, बिरौटा स्थित कोटिहोम परिसरमा भेटिएका मानव सेवा फाउन्डेसनका एक कर्मचारीले बताए ।

अग्निचक्रले फागुनको अङ्कलाई ‘श्रीगण्डकी कोटिहोम पोखरा विशेष-अङ्क’ को नाम दिएर प्रकाशित गरेको थियो भने चैतको अङ्कलाई ‘शत कुण्डीय गायत्री कोटिहोम गण्डकी विशेषाङ्कू नाम दिएर प्रकाशित गरेको थियो । त्यस्तै अग्निचक्र मासिकले वैशाख २०८२ को अङ्कलाई ‘कोटिहोम-महायज्ञ-विशेषाङ्क-२०८२” कभर पेजमा नै नाम दिएर प्रकाशित गरेको थियो भने अहिले अन्तिम पटक चाहिँ अग्निचक्रले ‘श्री-गण्डकी-कोटिहोम-बिरौटा-पोखरा, यज्ञ-शिरोमणि-विशेषाङ्क-जेठ-२०८२’ को रूपमा कभर पेजमै नाम दिएर प्रकाशित गरेको छ ।
यज्ञ-शिरोमणिको गण्डकी कोटिहोम बारेमा ४ पटकसम्म लगातार विशेषाङ्क प्रकाशित गर्ने अग्निचक्र मासिक परिवारलाई हार्दिक धन्यवाद छ । जय-श्री-गण्डकी-कोटिहोम ! महायज्ञ संकल्पकर्ता महाराज जीको जय भैरहोस् !! ॐ !!

पोखरा ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजनामा पोखराको फेवातालमा राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिता हुने भएको छ । फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थानमा आगामी जेष्ठ १८ गते उक्त प्रतियोगिता हुन लागेको पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महिला तथा पुरुषतर्फ खुल्ला रुपमा यो प्रतियोगिता सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
फेवातालका बारेमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितब्य घटनाबारे सचेतनामुलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा पर्यटक भित्र्याउँदै पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाका गण्डकी प्रमुख मणीराज लामिछानेले पत्रकार सम्मेलनमा बताउनुभयो ।
महिलातर्फ बाराहीघाट देखि पारी लिच्चि गार्डेनसम्म जाने आउने जाने सहित झण्डै २ किलोमिटर तथा पुरुषतर्फ बाराहीघाट देखि पारी लेक हाउससम्म जाने आउने गरि झण्डै ३ किलोमिटरको दुरीमा प्रतिस्पर्धा गराइने व्यवस्थापन समितिका अध्यक्ष बलराम गिरीले जनाउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार, द्वितियले नगद ३० हजार, तृतियले नगद २० हजार तथा सान्त्वनास्थान हाँसिल गर्ने टिमले नगद १० हजार सहित मेडल, प्रमाण–पत्र पुरस्कार प्राप्त गर्नेछन् । पुरुषतर्फ २० टिम तथा महिलातर्फ १० टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रत्येक टिममा तीन जना डुंगा चालक रहने छन् ।
प्रतियोगिता सफल पार्न फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीको अध्यक्षतामा मुल आयोजक समारोह तथा प्रतियोगिता संयोजक बत्ति गुरुङको संयोजकत्वमा विभिन्न १२ वटा उपसमितिहरु गठन गरिएको सो अवसरमा जानकारी दिइयो । व्यवस्थापन समितिका सचिव शिव जिसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
पोखरा ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना एवम् नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको सह आयोजनामा आजदेखि पोखरामा ४५ दिने चिनिया भाषा तालिम सुरु भएको छ । नेपालमा आउने चिनिया पर्यटकलाई लक्षित गरी उनीहरूलाई प्रदान गरिने आतिथ्यतामा भाषाको विशेष महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै आयोजित तालिममा ८४ जनाको सहभागिता छ ।
पोखरामा चिनिया पर्यटकको आगमन बढीरहेका सन्दर्भमा भाषिक सञ्चारको विशेष महत्व हुने भएकोले तालिम आयोजना गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिनुुभयो । तालिममा पर्यटन क्षेत्र सम्बन्ध विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता छ । एक कार्यक्रमका बीच तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले नेपाल र चिनबीचको सम्बन्ध विस्तार हुँदै गइरहेका अवस्थामा गरिएको तालिमले विशेष महत्व राख्ने बताउनुुभयो ।
हामी दुुई ठूला राष्ट्रको बीचमा रहेको बताउँदै उहाँले हाम्रो पर्यटनलाई राम्रो बनाउँदै उनीहरूलाई आकिर्षत गर्न सक्नुपर्नेमा जोड दिनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले चिनमा आफ्नै भाषा बोल्ने क्रम बढी रहेको बताउँदै उनीहरू नेपाल भ्रमणमा आउँदा चिनिया भाषा जान्नेले राम्रो आतिथ्यता प्रदान गर्न सक्ने बताउनुुभयो ।
पर्यटनका सबै क्षेत्रका व्यक्तिलाई समेटेर तालिम दिन लागिएको बताउँदै उहाँले यसले समग्र पोखराको पर्यटनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चिनको छेन्दुमा पहिलो व्यवासायिक चाटर्ड उडानसँगै हालसम्म चारवटा उडान भैसकेको बताउनुुभयो ।
चिनसँगको पर्यटकीय सम्बन्ध विस्तार भैरहेका अवस्थामा गर्न लागिएको चिनिया भाषा तालिम बहुउपयोगी बन्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किरोर दाहालको सभापतित्व एवम् महासचिव चेतबहादुर कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका सचिव नवराज भण्डारीले गर्नुभएको थियो ।
कार्यक्रममा पोखरा भ्रमण वर्ष कार्य सम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, नाट्टा गण्डकी प्रदेशका पूर्व अध्यक्ष एवम् होटेल संघ गण्डकीका अध्यक्ष हरि शर्मा गैरे, पूर्व अध्यक्ष हरिरम अधिकारी, पूर्व अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासु त्रिपाठी लगायतले तालिमको महत्व सम्बन्धमा आ आफ्ना धारणा राख्नुभएको थियो ।
पोखरा ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै गणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र होइन, चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण रहेको बताउनुभएको छ ।
‘जनताको शासन, जनताको लागि, जनताद्वारा चुनेको उन्नत व्यवस्था नै ‘गणतन्त्र’ हो । यो शासन प्रणालीको परिवर्तन मात्र नभई सोच, चेतना र जिम्मेवारीको एउटा ऐतिहासिक रुपान्तरण पनि हो ।’ उहाँले भन्नुभएको छ – ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने यात्रामा महत्वपूर्ण पाइला चालेका छौं । संघ, प्रदेश र स्थानीय सरकार मिलेर सामाजिक न्याय, समावेशिता, सुशासन, विकास र समृद्धिको दिशामा अगाडि बढ्ने प्रण गरेका छौं । प्रदेशस्तरमा पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन, रोजगारी, महिला सशक्तिकरण लगायतका क्षेत्रमा महत्वपूर्ण कार्यहरू भइरहेको छ । यी कार्यहरूलाई अझ प्रभावकारी बनाउनु हाम्रो साझा जिम्मेवारी हो ।’
मकवानपुर
। हेटौँडा उपमहानगरपालिका ७ मिलनचोक हजमोला (चट्कोला) खाँदा जिब्रोमा घाउ भएको र सिसाको टुक्रा फेला परेको भन्दै स्थानीय प्रशासनले अनुसन्धान थालेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुर र खाद्य गुणस्तर तथा प्रविधि नियन्त्रण कार्यालय, हेटौँडाले हजमोला खाँदा जिब्रोमा घाउ भएको पीडित पक्षको गुनासोपछि हजमोलाको नमुना सङ्कलन गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।
हेटौँडा ७ की वर्ष २४ की इस्मिता पौडेल र हेटौँडा ४ बस्ने वर्ष २५ की श्रेय रिजनलले हेटौँडा ४ पारिजात पथमा सञ्चालन गरिएको एक पसल (मार्ट) बाट हजमोला (चट्कोला) किनेर लगेकोमा निज दुवै जनाले खाँदा दुवै जनाको जिब्रोमा चोट लागेको र सिसाका कारण घाउ भएको जनाउनुभएको छ ।
उनीहरूले हजमोला चपाउँदा सिसा चपाएको जस्तो महसुस भएको जनाएका छन् । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले स्थानीयको गुनासो र उक्त घटना सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय र खाद्य गुणस्तर तथा प्रविधि नियन्त्रण कार्यालय मकवानपुरको संयुक्त टोलीले उक्त मार्टमा अनुगमन गरी नमुना सङ्कलन गरेको बताउनुभयो ।
यस्तै खाद्य तथा गुण प्रविधि नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत पङ्कज दाहालले अनुगमन टोलीले उक्त पसलमा बिक्रीका लागि राखिएको हजमोलाका ११ बोतल सङ्कलन गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो । प्रयोगशालामा अनुसन्धान थालेका छौँ उहाँले भन्नुभयो, अनुसन्धानका प्रतिवेदन नआएसम्म उक्त पसलमा हजमोला बिक्रीमा रोक लगाइएको छ र अन्य केही पसलबाट पनि नमुना सङ्कलन गरिएको छ ।
उहाँले हजमोलाका उत्पादनमा केही असामान्य तत्त्व भेटिएको उजुरीपछि नमुना सङ्कलन गरी अनुसन्धान सुरु गरिएको बताउनुभयो । उक्त चट्कोलाभित्र सिसाको टुक्रा फेला परेको पौडेल र रिजालको भनाई छ । दुवै जनाले चट्कोला सेवन गर्दा जिब्रोमा चोट लागेपछि हेटौँडा अस्पताल उपचार गरिएको थियो ।
बुटवल ।
बुटवलको होराइजन चोक स्थित मिलिजुली पथमा एक आमा सहित दुइ बच्चाको बिभत्स हत्या भएको छ । सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी ती महिलालाई उनकै पूर्व श्रीमानले आफ्नै घरमा बोलाई बुधबार बिहान ४ बजेतिर हत्या गरेको बताइएको छ । उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।
स्थानीयका अनुसार हत्या गर्ने सुजन कोइराला हुन् भने मृतक दिपा बस्याल र उनका दुई बच्चा ररहेको स्थानीयको भनाई छ । प्रहरीले घटनाको अनुसनधान भैरहेको जनाएको छ । मृतक दीपाका पूर्व पति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।




