२०८३ कार्तिक १७ सोमबार
२०८३ कार्तिक १७ सोमबार
 
नेपालगन्ज । पोखरा र नेपालगन्जविच विगत केही बर्षदेखि जोडिएको हवाई सेवालाई थप विस्तार गर्दै दुई शहरविच स्तरीय बस सेवा संचालनका लागि ब्यबसायीले जोड दिएका छन् ।
 
जाउँ है पोखरा अभियान अन्तर्गत शनिबार बाँकेको नेपालगन्जमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा पोखरा र नेपालगन्जका ब्यबसायीले दुई शहर जोड्ने गरी पर्यटकीय बस सेवा समेत संचालन गर्नुपर्ने आबश्यकता औंल्याए ।
 
पोखरा र नेपालगंजविच जारी हवाई सेवा विस्तार गर्दै उडान संख्या बढाउनुपर्ने विषय पनि कार्यक्रममा उठेको थियो ।होटल संघ पोखरा नेपालका अध्यक्ष एबं अभियानका संयोजक लक्ष्मण सुबेदीले पर्यटनका लागि कनेक्टिभिटी महत्वपूर्ण हुने भन्दै पोखरा र पश्चिम नेपालका विभिन्न शहरविच स्तरीय बस सेवा जरुरी भएको भनाई राखे ।
 
होटल संघ नेपालका केन्द्रीय सदस्य एबं आयोजक संघका सल्लाहकार परिषद् अध्यक्ष भरतराज पराजुलीले अभियानको निरन्तरता नै सफलताको सूचक भएको भनाई राखे । पूर्वाधारको विकास र पर्यटन मैत्री वातावरणमा सरकारले ध्यान दिनुपर्ने पराजुलीले बताए । लुम्बिनी प्रदेशका सांसद कृष्णा केसीले पर्यटन प्रबर्द्धनका सन्दर्भमा पोखरालाई आफ्नो साथ रहने भनाई राखिन् ।
 
नेपालमा पाँच सय दरका भरतीय रुपैयाँका नोट चलाउन दिनुपर्ने, चेकिङका नाममा भरतबाट आउने पर्यटकलाई नाका र अन्य ठाउँमा सुरक्षाकर्मीले दु:ख दिन नहुने र दुई शहरविच पर्यटनका संयुक्त प्रबर्द्धनात्मक कार्यक्रम संचालन गरिनुपर्ने गुनासा र सुझाव नेपालगन्जका ब्यबसायीले राखेका थिए । 
 
होटल संघ बाँकेका अध्यक्ष दिवाकर खनाल, होटल ब्यबसायी महासंघ लुम्बिनीका संस्थापक भास्कर काफ्ले, नेपाल उद्धोग वाणिज्य संघ नेपालगन्जका उपाध्यक्ष चिरन्जिवी वली, बन्दिपुर केवलकारका उपाध्यक्ष किरण पोखरेल, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे र नरैनपुर गाउँपालिकाका अध्यक्ष इस्तियात अहमद शाह लगायतले कार्यक्रममा भनाई राखेका थिए ।
 
पोखराबाट जेठ २९ गते पश्चिम नेपालका लागि हिंडेको संघको टोली असार दुई गते पोखरा फर्कने छ । यस अघि पाल्पा र बुटवलमा औपचारिक कार्यक्रम गरेको टोलीले सुर्खेत र दाङमा पनि कार्यक्रम संचालन गर्ने छ ।
 

विराटनगर । भारतको प्राविधिक सहयोगमा पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ३ जना मजदुरको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोलाको बेलिब्रिज जडानका क्रममा शनिबार बेलुका भाँचिएको थियो । सो घटनामा ६ जना मजदुर गम्भीर घाइते भएका थिए । तीमध्ये ३ जनाको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पुल भाँचिदा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो । दुर्घटनामा घाइते सिमराकै भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरीको नोबेलमा उपचार भइरहेको छ ।
०८० असारमा आएको बाढीले हेवाखोलाको पुल बगाएको थियो । पुल बगेपछि अवरुद्ध राजमार्गमा बेलिब्रिज निर्माण गरी यातायात सुचारु भएको थियो । तर गत वर्ष असोज १२ गते आएको बाढीले त्यो बेलिब्रिज पनि बगाएको थियो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार नयाँ प्रविधिको ७० मिटर लामो बेलिब्रिज जडान गरिरहेका बेला भाँचिएको थियो । शनिबार पुल जडान गरेर सक्ने तयारी थियो । तर निर्माणका क्रममा नै भाँचिएको उनले बताए ।

काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना हुँदा हेलिकप्टरमा सवार ७ जनाको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा एक बच्चा पनि छन् । देहरादूनबाट केदारनाथ जाँदै गर्दा दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हो। 

खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह एक्समा लेखेका छन्, ‘रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको धेरै दुःखद खबर प्राप्त भएको छ ।’ उनका अनुसार अहिले दुर्घटनास्थलमा एसडीआरएफ र स्थानीय प्रशासन उद्धारमा खटिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार हेलिकप्टर नोडल अधिकारी राहुल चौबे र जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले नेपाली मूलका महिलाहरूले दुर्घटनाको बारेमा रिपोर्ट गरेको जानकारी दिए। दुर्घटनाको समयमा, उनीहरू गौरीकुण्डमाथि घाँस काटिरहेका थिए र उनीहरूले दुर्घटना देखेपछि तुरुन्तै प्रहरीलाई फोनमार्फत जानकारी गराएका थिए ।

पोखरा । मानव सेवा फाउन्डेसन नेपाललाई जग्गा दान गर्ने भक्तजनको लर्को नै लागेको छ । फाउन्डेसनले विभिन्न समयमा विभिन्न ठाउँमा गरेका महायज्ञ, कोटिहोममा भक्तजनहरूले आर्थिकसँगै जग्गा दान गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

ढकालका अनुसार अहिले सम्म अहिले सम्म विभिन्न ठाउँमा भएका महायज्ञ, कोटिहोममा भक्तजनले ३५ रोपनी भन्दा बढी जग्गा मानव सेवा फाउन्डेसनको नाममा प्रदान गरेका छन्। कोटिहोममा नगद मात्र नभई जग्गा दान गर्ने भक्तजन दिन प्रतिदिन बढ्दै गएका छन ।

पोखरा जारी कोटिहोममा पोखरा महानगर पालिका वडा नं. ३३ बस्ने नीलकण्ठ पौडेलले मानव सेवा फाउन्डेसनलाई जग्गा दान गरेका छन् । उनले फाउन्डेसनलाई ३ रोपनी २ दाम ३ पैसा जग्गा दान गरे ।

यसै गरी सित गङ्गा नगरपालिका वडा नं. ३ अर्घाखाँची कुलराज पौडेलले ६ रोपनी, कृष्ण न्यौपानेले ४ रोपनी ५ आना ३ पैसा २ दाम,  रामप्रसाद वेलवासेले २ रोपनी जग्गा मानव सेवा फाउन्डेसनको नाममा प्रदान गरेका छन् ।

भिरकोट नगर पालिका वडा नं. २ स्याङ्जाका शेरजंग अधिकारीले ३ रोपनी, वेलकोट गढी नगरपालिका वडा नं. २ नुवाकोटका पार्वती भट्ट न्यौपाने पशुपति कोटिहोममा ४ आना र गण्डकी कोटिहोममा ४ आना गरी ८ आना, पथरी शनिश्चरे नगर पालिका वडा नं. ३ मोरङका छत्रमान श्रेष्ठ बाट ३ कठ्ठा लालवन्दी नगर पालिका वडा नं. १ सर्लाहीका राजकिसोर चौधरीले ५ धुर जग्गा फाउन्डेसनको नाममा प्रदान गरेका छन् ।

त्यस्तै अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन् । 

वेलगाडी नगरपालिका वडा नं. २ नुवाकोट निवासी राम शरण न्यौपानेले ४ आना जग्गा प्रदान गरेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

यसै गरी मानव सेवा फाउन्डेसनलाई पोखरावासीले जग्गा दान गरेका छन् । पोखरामा मानव सेवा फाउन्डेसनको भवन निर्माण गर्ने उद्देश्य सहित पोखरा–५ पस्याड्ड निवासी गङ्गा केसीको परिवारले २ रोपनी जग्गा प्रदान गरेको व्यवस्थापक थापाले जानकारी दिए । त्यस स्थानमा आश्रम बनाएमा अझै जग्गा थप गर्ने केसीले जानकारी दिइन् । फाउन्डेसनलाई आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको उनले जानकारी दिए । 

पोखरामा जारी कोटिहोममा पनि  जग्गा दान गर्ने धेरैको आश्वासन पाएकोले पनि यहाँका भक्तजनबाट १ सय रोपनी भन्दा बढी जग्गा उपलब्ध हुने अनुमान गरिएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले महायज्ञमा भक्तजनको लाखौँ सङ्ख्यामा उपस्थिति सँगै आर्थिक र जग्गा दानले महायज्ञ सफल भएको बताए ।

यज्ञको पूर्णाहुतिसँगै आज देखि तिलक र भष्म विरतण गरिने कार्यक्रम रहेको छ । उनका अनुसार यज्ञमा राखिएका जल सहितका कलश पनि वुकिङ गरेकाले आज देखि नै घरमा लैजान पाउनेछन् ।

भागवत मञ्जरी दासीले कोटिहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१  गतेसम्म सञ्चालन हुनेछ ।

पोखरा। सर्वोच्च अदालतको फैसला र आदेशपछि फेवा ताल संरक्षणका लागि पछिल्लोपटक चालिएका कदमप्रति होटल संघले स्वागत व्यक्त गरेको छ । होटल संघ नेपाल गण्डकी र होटल संघ पोखरा नेपालका तर्फबाट हालै एक संयुक्त विज्ञप्ति जारी गर्दै फेवातालको संरक्षणका लागि चालिएका हरेक कदमप्रति संघको साथ रहने जनाइएको छ । संघको गण्डकी शाखाका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे र संघको पोखरा शाखाका अध्यक्ष लक्ष्मण सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– निकै ढिला गरेर भए पनि फेवातालको सिमांकन गरेर संरक्षण गर्न थालिएको कदमको संघ हार्दिक स्वागत गर्दै तिनै तहका सरकार प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

तालको संरक्षण गर्नु जति जरुरी छ, तालको सिमाकंन गर्दा पीडित बनेका स्थानीय बासिन्दा, व्यवसायी र जग्गा धनीहरुको संरक्षण र व्यवस्थापन गर्नु त्यति नै जरुरी भएको विषयलाई पनि संघले जोड दिएको छ । तालको संरक्षण गर्दा व्यक्ति वा संस्थाहरुको लालपूर्जा भएको जमिनको सरकारी मुल्याङ्कन अनुसार मात्र नभएर हाल चलेको मूल्य अनुसार मुआव्जा उपलब्ध गराउन पनि अपिल गरिएको छ । राज्यका विभिन्न निकायबाट अनुमति लिएरै सञ्चालनमा रहेका व्यवसायीलाई विस्थापित गर्दा उनीहरुको संरक्षण सहितको उचित व्यवस्थापन एवं पर्याप्त क्षतिपूर्ती उपलब्ध गराउन संघले माग गरेको छ । ‘ताल संरक्षणका लागि जसरी हामी सरकारको साथमा रहेका छौ त्यसरी नै व्यवसायीको व्यवस्थापन र संरक्षणका लागि जस्तो सुकै पहल गर्न वा लडाई लड्न हामी पछि नपर्ने जानकारी गराउन चाहान्छौ ।,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्लो समयमा सर्वोच्च अदालतको फैसला, आदेश अनुसार नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रुपमा तालको सिमांकन प्रारम्भ गरेकोमा पोखराका पर्यटन व्यवसायीहरु त्यस कार्यको विपक्षमा छन् भन्दै गरिएका वक्तब्यबाजी प्रति होटल संघले ध्यानाकर्षण भएको जनाउँदै आफ्नो भनाई बाहिर ल्याएको हो । फेवाताल पोखराको मात्र नभएर राष्ट्रकै गहना हो । यसै ताललाई आधार बनाएर पोखरामा होटल व्यवसायीले ५ खर्ब रुपैया भन्दा बढी लगानी गरेको तथ्यांक संघले प्रस्तुत गरेको छ । पयर्टन उद्योेगका अन्य क्षेत्रमा पनि झण्डै यसैको हाराहारीमा लगानी रहेको उल्लेख गर्दै फेवाताल नरहने हो भने यो लगानी बालुवामा पानी हाले सरह हुन जाने विषय पनि स्मरण गराइएको छ । यही सन्दर्भलाई मध्यनजर गर्दै संघले स्थापना काल देखि नै ताल संरक्षणको पक्षमा बारम्बार लबिङ गर्दै आएको विषय पनि उल्लेख गरिएको छ । 

पोखरा ।
ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम सुरु भएको छ । पोखरा–६ बैदाममा रहेको ताल बराही माध्यामिक विद्यालयमा संचालन हुने तालिमको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि राज लामिछानेले उद्याटन गरे ।

कार्यक्रममा बोल्दै लामिछानेले पोखरा आउने पर्यटकको चाप बढ्ने बताए । पर्यटकको संख्या बृद्धि भएसगै पदयात्राका लागि दक्ष जनशक्ती पनि आवश्यक हुने उनको भनाई थियो । पोखरा विमानस्थलबाट अन्तराष्ट्रिय उडानको पहल भइरहेको र भविष्यमा विदेशबाट सिधै पर्यटक पोखरा अउने भएकाले गाइडहरुलाई कामको खाचोँ नहुने लामिछानेले बताए ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथुम) का तालिम संयोजक अजय ढकालले तालिमले सक्षम गाइड उत्पादन हुने विश्वास व्यक्त गरे । पर्यटकलाई नेपालको वारे सरल तरिकाबाट बुझाउन सक्नु सक्षम गाइडको क्षमता हुनुपर्ने ढकालले बताए ।पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेलले पर्यटक गाइडले नेपालको राजदुतको रुपमा काम गर्नुपर्ने बताए ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटक घुम्न जानका लागि गाइड अनिवार्य गर्ने तयारी भइरहको जानकारी दिए । लाइसेन्स भएको गाइडले मात्र मान्यता पाउने भएकाले तालीम संचालन गरिएको आचार्यले बताए । तालिम प्राप्त गाइडलाई कामको खाचोँ नहुने आचार्यले जानकारी दिए ।नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा तालिमको आयोजना गरिएको टान गण्डकीका द्धितिय उपाध्यक्ष एवं तालिम संयोजक मोहन प्रसाद सुवेदीले जानकारी दिए ।

तालिमका लागि दरखास्त आह्वान गरिएकोमा र अन्तरबार्ताबाट ३ सय ५० जना छनोट पछि तालिम दिइएको हो ।तालिम पछि पदयात्राको क्षेत्रमा आवश्यक जनशक्ती आपूर्ती हुने आयोजकको विश्वास रहेको छ । टानले विभिन्न समयमा संचालन गरेका तालिमबाट तीनहजार जनाले तालिम लिइसकेको टान गण्डकीका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदीले जानकारी दिए ।

ट्रेकिङ गाइडका लागि २५ दिन र र ट्रेकिङ पोटर गाइडको लागि १५ दिन तालिम दिइने टान गण्डकीका सचिव गोपालकृष्ण संग्रौलाले बताए ।
कार्यक्रममा नाथुमका तालिम अधिकृत रतन साउद, ताल बाराही माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण न्यौपानेले तालिम वारे आफ्नो धारणा राखेका थिए ।

पोखरा ।
जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजना र विश्वविद्यालय अनुदान आयोग, भक्तपुरको सहयोगमा छात्राहरूको क्षमता अभिवृद्धिका लागि तिन दिने उद्यमशील सहयोगी तालिम सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् जनप्रिय क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले तालिमको उद्घाटन गर्दै भने ‘छात्राहरूले सिप र उद्यमशील तालिमपछि पढ्दै कमाउँदै गर्न सके विदेशको सपना देख्नु पर्दैन ।’ विजुक्छेले महिलाहरूको क्षमता अभिवृद्धिका लागि सिप र उद्यम आत्मनिर्भर एवम् स्वरोजगारको शक्तिशाली हतियार भएको हुँदा तालिमले अब्बल बनाउन बताए ।

क्याम्पस प्रमुख कृष्णबाबु बरालले स्वागत मन्तव्य राख्दै क्याम्पसको मुख्य मर्म नै ‘सिप, प्रविधि र उद्यमशीलता ः शिक्षामा जनप्रियको गतिशीलता भएको हुँदा प्रशिक्षार्थी छात्रालाई उद्यमशील कर्ममा लाग्न सुझाए । बरालले उद्यम र प्रविधिलाई आत्मसात गरेर स्वरोजगार बन्न सकिने साथै अरूलाई पनि जागिर दिन सकिने जनाए ।

विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवम् प्रमुख सहजकर्ता सविता श्रेष्ठ रञ्जितले आफ्नै जीवनको उदाहरण प्रस्तुत गर्दै छात्राहरूका लागि उद्यमशील तालिमले शिक्षा र आत्मनिर्भरता दुबै क्षेत्रमा परिवर्तन ल्याउने विश्वास दिलाइन् । उनले आफ्नो अनुभव सुनाउँदै भनिन ‘अर्थशास्त्रमा डिग्रीको पढाइ पूरा गरेँ, सरकारी जागिर त्यागेर सियो धागो समाएँ, उद्यम सुरु गरेको १५ वर्षको अवधिमा ५ हजारभन्दा बढी महिलालाई सिप हस्तान्तरण गर्न पाउँदा नै आफूलाई सन्तुष्ट मिलेको छ ।’

सहायक क्याम्पस प्रमुख नवीनराज खनालले उद्यमशील तालिमले छात्राहरूमा उद्यमशील सोच, स्वरोजगार र व्यावसायिक कौशल विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको उल्लेख गरे । कार्यक्रम संयोजक दिव्यालक्ष्मी चालिसेले स्नातक तहका छात्राहरूका लागि तालिमले व्यावसायिक क्षमताको विकासमा सघाउने हुँदा प्रशिक्षार्थीहरूको दक्षता हासिल गर्ने मार्ग खुल्ने शुभकामना दिइन ।

जेठ २६ गतेदेखि २८ गतेसम्म सञ्चालित तालिममा विविएस, विआइएम र विएमटिमका ३० जना छात्राहरूको सहभागित रहेको छ । सहजकर्ता अनुपमा तिवारीले तालिमपछि इच्छुक प्रशिक्षार्थीलाई सिप सिक्न र उद्यम व्यवसाय गर्नका लागि विधाता हस्ताकलाले थप सहजीकरण गर्ने भएको जानकारी उपप्रशासक एकनारायण अर्यालले दिए ।

पोखरा  ।

हङकङकी डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले नेपाल पर्यटक बढाउनका लागि भिजा प्रक्रिया सहज बनाउनु पर्ने बताएकी छन् । पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा गुरुङ नेपाल हङकङबाट पर्यटक बढाउने हो भने भिसा दिने प्रक्रिया सहज बनाउनु पर्ने बताइन् । उनले नेपाल आउनका लागि ६ हप्ता पहिल नै भिसा एप्लाई गर्नु पर्ने अहिलेको प्रक्रियालाई सहज बनाउनु पर्ने उनको भनाई छ । सके अनएराइभल भिसा दिए हुन्छ उनले भनिन् नभए एक हप्ता भन्दा लामो समय लाग्ने प्रक्रियालाई सहज बनाउनु पर्ने बताइन् ।

उनले हङकङ सरकारले पर्यटन क्षेत्रमा धेरै लागनी गरेको भन्दै नेपाल सरकार पनि लाग्नु पर्ने बताइन् । उनले नेपाल र पोखरामा पर्यटक बढाउन आफुहरुले विभिन्न योजना बनाएको बताइन् । पोखरा विमानस्थलबाट सिधै हङकङ उठानका लागि पहल गर्ने उनले बताइन् । हङकङमा ३० हजार नेपाली रहेकामा आधा गण्डकी प्रदेश कै भएको बताउदै पोखराबाट हङकङ सिधा उडान सम्भव भएको बताइन् । अहिले काठमाडौ दिनहु उडान भएका कारण पोखराबाट पनि हप्तामा एउटा उडान हुन सकने बताइन् ।

कार्यक्रममा एनआरएनए हङकङका कुल प्रसाद गुरुङले पोखरामा पर्यटक बढाउन आफुहरु लागेको बताए । पोखरा र नेपालका विभिन्न ठाउँको हङकङमा प्रचार प्रसार गर्ने गरेको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले उनीहरुलाई स्वागत गर्दै नेपालमा हङकङबाट अन्य देशका पर्यटकहरु पनि आउने हुदाँ नेपाल बारे प्रचार प्रसार आवश्यक रहेको बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश भट्टराईले पोखरा विमानस्थल तयार भएका कारण हप्ता एक दिन भए पनि पोखराबाट हङकङ सिधा उडान हुनुपर्ने बताए । पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सुर्य बहादुर भुजेल, चिरञ्जीवि पोखरेल, परिषद्का उपाध्यक्ष चौ बहादुर गुरुङ, नाट्टा पोखरा अध्यक्ष किशोर दाहाल, परिषद्का महासचिब जीवनराम सापकोटा लगाएतले पोखराको प्रचार प्रसार हङकङमा हुन सके पर्यटक बढ्नेमा जोड्दिए । उनीहरुले पछिल्लो समय हङकङ र चीनबाट आउने पर्यटक घट्दै गएकाले पनि प्रचार प्रसारमा ध्यान दिनु पर्ने बताए ।

 पोखरा ।

पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा सोमबार अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभूत तह(६-८) र माध्यमिक तह (९ र १०) को नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको आधारभूत तहको वक्तृत्वकलामा  कक्षा ७ (ख) का आदित्य खत्री प्रथम, कक्षा ७ (ग) की  संस्कृति गैह्रे द्वितीय,  कक्षा ७(क) की आयुषा लामा तृतीय र कक्षा ६ (ग) की रविना महतरा सान्त्वना भएका छन् ।

शिक्षकहरू सुरेन्द्र सदिच्छा र सुस्मा आमात्य निर्णायक रहेको कार्यक्रम शिक्षक श्रवणकुमार तिमिल्सिनाको प्राविधिक सहयोग र शिक्षक भुवन गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै  गणित विषय शिक्षक मन बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भएको  माध्यमिक तह अन्तर्गतको प्रतियोगितामा कक्षा ९ (क) की आभना सिंह विश्वकर्मा प्रथम, कक्षा १० ( ग) का प्रतीक  पौडेल द्वितीय , कक्षा १० (ख) का सक्षम गैह्रे तृतीय  र कक्षा ९ (ग) की दिव्या आचार्यले सान्त्वना स्थान हाँसिल गरेका थिए ।

शिक्षकहरू दिपक के.सी. र  इन्द्रप्रसाद सुवेदी निर्णायक रहेको कार्यक्रम शिक्षक  उमा पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो भने शिक्षक आशिष गुरुङको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र र विभिन्न साहित्यिक कृतिहरू पुरस्कार स्वरूप प्रदान गरिएको कुरा अतिरिक्त क्रियाकलाप इन्चार्ज शिक्षक दिपेन्द्र थापा मगरले जानकारी दिए ।

पोखरा ।
नेपाल बास्केट बल संघ गण्डकी प्रदेशको आयोजनामा निर्णायक प्रशिक्षक तालिम पोखरामा सम्पन्न भएको छ । तालिममा गण्डकी प्रदेशका सामुदायिक विद्यालयका खेल शिक्षक तथा पूर्व बास्केटबल खेलाडी हरु गरि ३२ जनाको सहभागीता रहेको थियो ।

तीन दिन सम्म सञ्चालित उक्त तालिमको समापन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले खेलकुद प्रतियोगितालाई कुशलताका साथ सम्पन्न गर्नु नै निर्णायकको प्रमुख भुमिका रहने बताउदै त्यस तर्फ चनाखो रहेर काम गर्न तालिममा सहभागीहरुलाई आग्रह गरे ।

सो अवसरमा वोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले खेलकुद सम्पन्न गर्नका लागि निर्णायकको भुमिका मुख्य हुने भएकाले तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न सकेको खण्डमा प्रतियोगिताहरु सहज र सफल रुपमा सम्पन्न हुने बताए ।

त्यस्तै प्रशिक्षार्थी इन्द्र गुरुङले बास्केटबल संघले प्रदेश भरका निर्णायकहरुलाई सहभार्गी गराई तिन दिन सम्म तालिमको आयोजना गरेर आफुहरुमा थप उर्जा थप्ने काम भएको बताए ।

कार्यक्रममा बास्केट बल संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष जुम प्रसाद गुरुङ , बास्केट बल संघका सल्लाहकारद्धव सुनिल , नारायण शर्मा , लगायतले तालिमबाट प्राप्त ज्ञानलाई ब्यावहारमा उतार्दै अघि बढ्नुपर्नेमा जोड दिए । प्रशिक्षण कार्यक्रममा फिफा रेफ्री राज कुमार महर्जनले सहभागीहरुलाई सहजीकरण गरेका थिए ।

नेपाल बास्केट बल संघ गण्डकी प्रदेशका अध्यक्ष ध्वोज कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष किरण सापकोटाले स्वागत मन्तब्य राखेका थिएभने महासचिव विष्णु कुमार गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।