२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

पोखरा ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले कार्यसमितिमा देखिएको समस्याको समाधान गर्न आफूले जिम्मा लिएको बताउँदै केन्द्रबाट अधिवेशनका लागि परिपत्र आएपछि छैटौं अधिवेशन गरिने जानकारी गराए । उनले २०६० साल असार २२ गते संस्थाको स्थापना भएको र  संस्थाले विविध चुनौति पार गर्दै यहाँसम्म आएको उल्लेख गरे ।

संघका सल्लाहकार सुरेश रानाभाटले संघलाई मजबुत बनाउने आधारका रूपमा विधान र कार्यविधिलाई अक्सिजनको संज्ञा दिए । कास्की शाखा देशभरकै उत्कृष्ट शाखा भएको उल्लेख गर्दै संस्था मजबुत भएको अभिव्यक्ति उनले राखे ।नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले चलचित्र पत्रकारितालाई जोगाउन चलचित्रसम्बन्धी गतिविधि बढाउनुपर्नेमा जोड दिंदै मिडिया नै कलाकारलाई बाहिर ल्याउने मूल माध्यम भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले संघ युवा अवस्थामा प्रवेश गरेको बताउँदै यसको गतिशीलता कायम राख्नुपर्ने आवश्यकतालाई जोड दिएका छन् । नेतृत्वविहीनताको प्रभाव स्वभाविक भएको बताउँदै समाधानका उपायसहित अघि बढ्नुपर्ने सुझाव उनको छ ।कलाकार प्रकाश घिमिरेले पत्रकारहरूले राम्रो चलचित्रलाई खुलेर राम्रो भन्नुपर्ने र पैसा कमाउने फिल्म मात्र राम्रो भन्ने मानसिकता त्याग्नुपर्ने बताए । उनले आफ्ना अनुभव सुनाउँदै कहिलेकाहीँ उत्कृष्ट अभिनय भए तापनि सिनेमा फेल हुने अवस्थाको चिन्ता व्यक्त गरे । चलचित्र पत्रकार संघ नेपाल कास्कीले गर्दै आएको सिनेमा संवाद लगायतका गतिविधिको उनले प्रशंसा गरेका छन् ।

कलाकार माओत्से गुरुङले चलचित्र पत्रकारितालाई परिस्कृत गर्दै अघि बढाउन र चलचित्र ऐनमा रहेका त्रुटिहरू सच्याउन मिडियाको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन् ।संघका पूर्वउपाध्यक्ष एवम् पूर्वसल्लाहकार राजाराम पौडेलले नेतृत्वले आफ्नो कार्यकाल पूरा गर्नुपर्ने आवश्यकतासँगै सिनेमा संवाद कार्यक्रमलाई अझ परिस्कृत र प्रभावकारी बनाउनुपर्ने बताए । चलचित्र पत्रकार संघ नेपाल कास्कीले केवल चलचित्र भन्दा पनि  मनोरञ्जन क्षेत्रका हरेक आयाममा कलम चलाउन पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने विषयमा उनले जोड दिएका छन् ।

संघका पूर्व सह—सचिव एवम् पत्रकार विजय नेपालले चलचित्र पत्रकारका लागि फेलोसिप, तालिम र गोष्ठी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन् ।
संघका सचिव सन्तोष बस्यालले संस्थाको वर्तमान अवस्थाको विषयमा जानकारी गराएका थिए । संस्थापक अध्यक्ष सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैले चलचित्र पत्रकार संघ कास्कीको भूमिका, भविष्य र सुदृढीकरणका विविध आयाममा विचार प्रस्तुत गरे । चलचित्र पत्रकारहरुको हकहितमा ७ जेठ, २०५६ मा केन्द्रमा भरत शाक्यको अध्यक्षतामा गठित चलचित्र पत्रकार संघले पहिलोपल्ट चलचित्र नगरी पोखरामा २२ असार, २०६० मा शाखा बिस्तार गरेको थियो ।

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १२ ले चालू आर्थिक वर्ष २०८१।०८२ को सार्वजनिक सुनुवाइ गरेको छ । वडा कार्यालयले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका विषयमा जानकारी दिने र सेवाग्राहीबाट सुझाव लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वडाभित्र भएका विकास निर्माणका कामको सबैले प्रशंसा गरेका छन् । तर सेवा प्रवाहका विषयमा भने केही गुनासो नागरिकहरुले गरेका छन् । उनीहरुले शिक्षा, स्वास्थ्य, पूर्वाधार, युवा परिचालन र सामाजिक विकृति नियन्त्रणजस्ता विषयमा प्रश्न उठाएका थिए ।

शितलादेवी युवा क्लबका पूर्व अध्यक्ष सुरज श्रेष्ठले खेलकुदका लागि टुक्रे बजेटभन्दा दीर्घकालीन योजना बनाउन आग्रह गरे । ‘युवा लक्षित कार्यक्रम भैरहेका छन् । तर टुक्रे कार्यक्रम धेरै भए,’ उनले भने, ‘अलि देखिने गरी योजना तय गरौं । सबैलाई समेटेर उत्कृष्ट काम गर्न वडासँग मेरो आग्रह छ ।’ शितलादेवी सामुदायिक विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी र पुष्पसदन एकेडेमीका प्राचार्य भीम न्यौपानेले शिक्षाको गुणस्तर बढाउन सफ्टवेयर (तालिम, संस्कार) मा लगानी बढाउन सुझाए । यस्तै, वडाभित्रका स्कुलबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान गर्न र विद्यालय वरपर सुर्तीजन्य पदार्थ बिक्रीमा कडाइ गर्न उनीहरुको आग्रह छ ।

डा. कृष्णप्रसाद पौडेलले अमरसिंह माविको चौरमा हुने राजनीतिक कार्यक्रम र सेती नहरमा बढ्दो प्रदूषण नियन्त्रणबारे वडाको ध्यानाकर्षण गराए । नेकपा माओवादीका अध्यक्ष श्रीकान्त अधिकारीले योजनाहरुमा देखिने बेरुजुको कारण खोजे । उनले अमरसिंह मावि अगाडिको टहरा विवादबारे पनि प्रश्न उठाएका थिए । स्थानीय अनिता पोख्रेलले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम बनाउन वडासँग आग्रह गरेकी छिन् । उनले पार्कहरूमा बढ्दो विकृति नियन्त्रण गर्न सुझाव दिइन् । सहभागीहरूले जीर्ण बनेका काठका पोल विस्थापन, हस्पिटल चोकदेखि माछापोखरीसम्म फुटपाथ निर्माण र सरस्वती स्कुल चोकमा बढ्दो दुर्घटना जोखिम न्यूनीकरण गर्न पनि माग गरे ।

प्रश्न र गुनासामा जवाफ दिँदै वडाध्यक्ष सन्तोष बास्तोलाले नागरिकका सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बेरुजुको समस्या सरकारी र बजार दररेटको भिन्नताले आएको जानकारी दिए । तर वडामा बेरुजुको मात्रा न्यून रहेको उनको भनाई छ । अमरसिंह स्कुलको टहरा विवाद छिटै समाधान हुने उनले सुनाए ।

‘यो विषय अदालतबाट टुंगिसकेको छ । अब व्यवस्थापन समितिले छिट्टै निर्णय नगरे वडाले कानुनी रूपमा अघि बढ्छ,’ उनले भने । बास्तोलाले युवा क्लब र महिला समूहले ठोस योजना ल्याएमा बजेट अभाव नहुने स्पष्ट पारे । ‘हामी लगानी गर्न तयार छौं । तर त्यसले साँच्चिकै जीवनस्तर परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘तपाईंहरू योजना लिएर आउनुहोस् । उपयुक्त काममा वडाले लगानी गर्छ । पैसाको अभाव हुँदैन ।’

कार्यक्रममा धेरै सहभागीले सामुदायिक कुकुरको नियन्त्रणमा वडाको ध्यानाकर्षण गराएका थिए । जवाफमा वडाध्यक्ष बास्तोलाले ‘डग होस्टेल’को अवधारणा अघि बढाइएको बताए । ‘महानगरपालिकाले नै साउनदेखि डग होस्टल चलाउने भनेको छ । अब कुकुरलाई त्यहाँ लगिन्छ,’ उनले भने, ‘तर जथाभावि कुकुरलाई दिशा गराउने र दुर्गन्ध फैलाउनेलाई टोल विकास संस्थाले पनि निगरानी गर्नुस् ।’

वडामा आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क इन्टरनेट र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा जस्ता कार्यक्रम वडाले सञ्चालन गरेको बास्तोलको भनाई छ । उनले विकास निर्माण र सेवा प्रवाहमा सबैलाई समान व्यवहार गरिएको र कुनै पनि काम तथ्य र तथ्यांकमा आधारित भएरै हुने गरेको दाबी गरे । कार्यक्रममा उठेका गुनासालाई सम्बोधन गर्दै उनले आगामी दिनमा अझै प्रभावकारी सेवा दिन वडा समिति कटिबद्ध रहेको प्रतिबद्धता जनाए ।

कार्यक्रममा वडा सचिव शारदा सापकोटाले चालू वर्षमा वडाको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । पोखरा १२ले चालू वर्षमा कुल ३ करोड ३ लाख ५८ हजारको बजेट कार्यान्वयन गरेको छ । उनले वडा कार्यालयको सेवा प्रवाह र कर्मचारी प्रशासनसँग जोडिएका प्रश्नको जवाफ दिइन् । सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक सर्वेक्षण प्रतिवेदनले वडाको मिश्रित अवस्था देखाएको छ ।

प्रतिवेदनअनुसार अधिकांश सेवाग्राही कर्मचारीको व्यवहार र जनप्रतिनिधिको जवाफदेहिताप्रति सन्तुष्ट देखिए पनि सामुदायिक कुकुर तथा छाडा चौपाया नियन्त्रण, फोहोर व्यवस्थापन, कार्यालयमा पार्किङको अभाव, अनलाइन सेवाको ढिलासुस्ती र योजना वितरणमा सबै टोललाई समान दृष्टीले नहेरेको जस्ता गुनासा नागरिकले राखेका छन् । 

पोखरा । 

पोखरा–३३, आँपुभन्ज्याङबाट २०८१ को एस. ई. ई. सम्मिलित विद्यार्थी शतप्रतिशत उत्तीर्ण भएका छन् । शतप्रतिशत उत्तीर्ण हुन सफल विद्यार्थीलाई शुक्रवार आयोजित एक कार्यक्रममा विद्यालयले सम्मान गरेको छ । कालिकाबाट १४ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा  महानगरपालकिा, वडा नम्बर ३३ का वडा सदस्य प्रकाश कार्की, प्रधानाध्यापक रुपिन्द्र प्रभावी, अध्यक्ष पुनलगायतले सम्मान गरेका थिए । विद्यार्थीहरूलाई बधाई दिँदै वडा सदस्य कार्कीले कालिकाले हासिल गरेको उपलब्धी समग्र ३३ नम्बर वडाकै गौरवको विषय भएको बताए । उनले जति ठुलो सफलता हासिल गरे पनि अनुशासनमा रहेर आफ्नो कर्मलाई अगि बढाउन विद्यार्थीहरूलाई सुझाव दिए । विद्यालय, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र आफ्नो परिवारले गरेको मिहिनेतको सधैँ स्मरण गर्नुपर्नेमा जोड दिँदै कार्कीले एसइईको सफलताले नयाँ मार्गप्रशस्त गरेको बताए ।

विव्यसका अध्यक्ष गङ्गाबहादुर पुनले विद्यार्थीको हितका लागि विव्यस सधैँ लागिपरेको बताउँदै प्रयासले सार्थकता प्राप्त गरेकामा खुसी व्यक्त गरे । आगामी दिनमा पनि विद्यालय र विद्यार्थीको हितका लागि आफूहरू सधैँ लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले सफलताका लागि मिहिनेत गर्ने विद्यार्थी र शिक्षकलाई धन्यवाद दिए ।
विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले विद्यालयले विद्यार्थीको चौतर्फी प्रतिभा प्रस्फुटनका लागि गरेको प्रयत्नको फलस्वरूप उत्कृष्ट नतिजा हासिल गरेको बताए । उनले पाठ्यपुस्तकका अतिरिक्त विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्नका लागि आफ्ना कार्ययोजना अगि बढाएको जानकारी दिए ।

विद्यार्थी प्रमिसा बानियाले विद्यालयले दिएको सकारात्मक ऊर्जाकै कारण सकारात्मक नतिजा प्राप्त भएको अनुभव सुनाइन् । अर्का विद्यार्थी सङ्गम श्रेष्ठले आफूले शिक्षकहरूबाट लिएको ज्ञानका अतिरिक्त विभिन्न प्रविधिका माध्यमबाट गरेको स्वाध्ययनले राम्रो अङ्क ल्याउन सहयोग गरेको बताए । सोही अवसरमा कक्षा १० मा अध्यापन गर्दै आएका शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो ।

सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक अभिभावक सङ्घका सदस्य बेलबहादुर केसी, शिक्षक नारायणप्रसाद चापागाईँ, पूर्व सहायक प्रधानाध्यापक गोपीराज अधिकारीलगायतले शुभकामना दिएका थिए ।

पोखरा ।

गण्डकी टोस्टमास्टर्स क्लबको अध्यक्षमा आदित्य देव प्रजु सर्वसम्मत चयन भएका छन् । पोखरामा सम्पन्न सातौ वार्षिक अधिवेशनले प्रजुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यष शिक्षामा संझना पराजुली, उपाध्यक्ष सदस्यमा सुप्रिति श्रेष्ठ, उपाध्यक्ष रजनी बराल, सचिबमा विष्णुप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा अनमोल बज्रचार्य र सर्जन आर्मसमा डा. मुकेश मल्लीक चयन भए ।

क्लबका सस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक प्रकाशदेव पालिखेले सस्था स्थापना गर्दा र सस्थाले गर्नु पर्ने कामका बारेमा जानकारी दिए । उनले सस्थाले व्यक्तिको नेतृत्व विकासमा उल्लेख्य काम गरेको बताए । त्यसै गरी नेपाल युवा उद्यमी मञ्च पोखराका अध्यक्ष समेज राजभण्डारीले संस्थाले युवाहरु बोल्न क्षेमता बढाउने काममा लागेको बताए ।

नयाँ पदाधिकारीहरूलाई क्लबका निवर्तमान अध्यक्ष श्रीविद्या रघुनन्दन कायस्तले नयाँ कार्य समितिलाई शुभकामना व्यक्त गर्दै आफ्नों कार्यकाल सफल पार्न सहयोग गर्नेलाई दिइन् ।

टोष्टमास्टर्स अफ द इयर, राइजिङ्ग स्टार, अनटोल्ड हिरो, स्पिकर अफ द इयर तथा अन्य उपाधि घोषित भएकाहरुलाई पुरस्कार वितरण गरेका थिए । उनीहरुलाई क्लबका संस्थापक अध्यक्ष प्रकाशदेव पालिखे, पुर्व अध्यक्ष वैभव पौडेल लगाएतले पुरस्कृत व्यक्तित्वहरूलाई सम्मान गरे ।

नव निर्वाचीत अध्यक्ष आदित्य देव प्रजु दक्षिण एशियामा विकास हुन नसक्नुका कारणहरु प्रस्तुत गर्दै बालबालिकाको शिक्षा प्रणाली सुधार गर्नु पर्ने बताए । उनले नेपाल सहित दक्षिण एशियाका बालबालिकाको शिक्षा प्रणाली सुधार गर्न सके अन्य विकसी देश जस्तै अगाडी बढ्न सकिने बताए ।

पोखरा । वैदेशिक रोजगारीलाई सुरक्षित र विश्वासिलो बनाउने कार्यमा क्रियाशील सुरक्षित आप्रवास कार्यक्रमले पोखरामा क्रियाशील सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको छ । सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक सूचना, सीप र सरकारी पहलको जानकारी दिन अन्तरक्रिया कार्यक्रम गरिएको कार्यक्रमका जिल्ला संयोजक तथा पोखरा महानगरपालिकाका अधिकृत आदिम ध्वज श्रेष्ठले बताउनुभयो ।

पोखरा महानगरपालिकाद्धारा आयोजित कार्यक्रममा “स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ” भन्ने मूल नाराका साथ श्रम आप्रवासनका विविध पक्षमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा संयोजक श्रेष्ठले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीको वर्तमान अवस्था, सरकारका प्रयास र गण्डकी प्रदेशमा सञ्चालनमा रहेका कार्यक्रमहरू बारे विस्तृत जानकारी गराउनुभयो ।

वैदेशिक रोजगारीका बारेमा पत्रकारहरूलाई सचेतना अभिवृद्धि गराउने उद्देश्यले आवश्यक प्रक्रिया, कानुनी प्रावधान, सम्भावित जोखिम र सुरक्षाका उपायबारे जानकारी दिने उद्देश्य रहेको आयोजकले जनाएको छ ।आप्रवासनका विषयमा सञ्चारकर्मीहरू र कार्यक्रम कार्यान्वयनकर्ताबीच सहयोग र समझदारीलाई प्रगाढ बनाउँदै सहकार्यात्मक साझेदारी निर्माण गर्ने प्रयास गरिनुका साथै भ्रामक र अपुष्ट सूचनालाई न्यूनीकरण गर्दै विश्वसनीय र तथ्यमा आधारित सामग्री प्रकाशन तथा प्रसारणमा सञ्चारकर्मीहरूलाई सशक्त बनाउने लक्ष्य लिइएको छ ।

त्यस्तै नीति निर्माण तहमा प्रभाव पार्ने जिम्मेवार पत्रकारिताको महत्त्वबारे छलफल गर्दै नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने कार्यक्रमको अर्को मुख्य उद्देश्य रहेको छ।
पोखरा महानगरपालिकाका रोजगार संयोजक विष्णुप्रसाद दाहालले वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सेवा सुविधा बारे जानकारी दिनुभयो । यस्तै नगरप्रमुख धनराज आचार्यका प्रेस संयोजक भीम थापाले वैदेशिक रोजगारका सवालमा सञ्चारकर्मीको संवेदनशीलता विषयमा प्रस्तुति दिनुभएको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पत्रकारका लागि आवश्यक र समयसापेक्ष विषयक अन्तरक्रिया आयोजना प्रति धन्यवाद दिएका थिए ।
श्रेष्ठले सामीले कास्कीको पोखरा महानगरपालिका २ स्थान जिल्ला प्रशान कार्यालय र ईलाका प्रशासन कार्यालय ९आप्रवासी स्रोत केन्द्ररउपकेन्द्र स्थान, माछापुच्छ्रे, मादी, अन्नपूर्ण र रुपा गाउँपालिकामा पनि सेवा केन्द्रहरू सञ्चालनमा रहेको बताउनुभयो ।

ती सेवा केन्द्रहरूबाट सूचना तथा परामर्श सेवा, पूर्व प्रस्थान तालिम, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता, कानुनी सचेतना लगायत सेवाहरू उपलब्ध छन् । श्रेष्ठले गण्डकी प्रदेशको ११ जिल्ला , कास्की जिल्ला र कास्की जिल्ला अन्तर्गतका स्थानिय तहको हालसम्मको वैदेशिक रोजगारी सम्बन्धी विवरणहरू प्रस्तुत गर्नुभएको थियो ।

पोखरा ।
गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता २०८२ को उपाधी एलजी एशोसियसन कास्कीले जितेको छ । पोखरा रंगशालामा सम्पन्न प्रतियोगिता अन्तर्गत फाइनल खेलमा हरिनासलाई २–० गोल अन्तरले पराजित गर्दै एलजीले उपाधी हात पारेको हो । उपाधी संगै एलजीले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

फाइनल खेलमा निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि थपिएको समयको ९१ औं मिनेटमा एलजीका लागि निश्चल जिसीले पहिलो गोल गरेभने ९२ औं मिनेटमा एलजीका अंकित श्रेष्ठले दोश्रो गोल गरेका थिए ।

प्रतियोगितामा एलजीका अंकित गुरुङ म्यान अफ दी म्याचको उपाधी हात पारे । त्यस्तै बेष्ट किपरको उपाधी एलजीकै मन्दीप गुरुङ, हरिनाश तनहुँका दिपेश श्रेष्ठले बेष्ट डिफेन्स, एजलीका शुसिल राना मगरले बेष्ट कोच, एलजीका मनिश थापा मगरले इमर्जिङ प्लेयरको उपाधी संगै जनही १० हजार र मस्ट भ्यालुयबल प्लेयरको उपाधी संगै एलजीकै याम बहादुर श्रेष्ठ (बावु)ले नगद १५ हजार हात पारे ।

 
पोखरा ।  पढ्नका लागि उमेरले छेक्दैनन भन्ने उदारणीय बन्नु भएकी गोमा पराजुलीले आफु अध्ययन गरेको महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । 
 
पोखरा १७ तल्लो विरुवा निवासी उहाँले आप्mनो जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययरत जेहेन्दार एवम् विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने लक्ष्यका साथ ५० हजार रुपैयाको अध्यक्ष कोषको स्थापना गर्नुभएको हो ।
 
गोमा फाउण्डेशनका अध्यक्ष समेत रहनु भएका उहाँले उक्त रकम बरावरको चेक विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारी, प्रधानाध्यापक अर्जुन कडेललाई सामुहिकरुपमा हस्तान्तरण गर्नुभएको हो ।दुई छोरा बुहारी सहितका परिवार अमेरिकामा रहेका र आफु पढ्न नसक्ने भएको कारण पढनु पर्दछ भन्ने सोचका साथ ५३ बर्षको उमेरमा  कक्षा १ भर्ना भएर सात कक्षासम्म अध्ययन गर्नुभएको थियो ।
 
सो अवसरमा पराजुलीले विभिन्न कक्षामा अध्ययनरत ७५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री र चलेट वितरण गरेर उहाँले  विद्यालय परिवारसंग आप्mनो जन्मदिन मनाउनु भएको हो । पछिल्लो समय आफु र आफन्तको जन्मदिनमा गरिने फजुल खर्च कटौती गरेर सामुदायिक विद्यालयलाई अक्षयकोष स्थापना र शैक्षिक सामाग्री वितरण गर्ने प्रचलन बढेको छे ।
 
विद्यालयमा तीन महिलाको अवधिमा नगेन्द्र शर्मा भण्डारीले छोरा एलेक्स शर्मा भण्डारीले ५५ हजार ५५५, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमवावु भण्डारीले छोरा सुहार्द भण्डारीको जन्मदिनमा २१ हजार २२१ बरावरको अक्षयकोष र दृश्यम भिडिया हाउसको स्थापना दिवसको अवसरमा ६५ हजार मुल्य बरावरको शैक्षिक सामाग्री प्रदान गर्नुभएको थियो । 
 
विद्याथलय सञ्चालनार्थ विभिन्न संघसंस्था र शिक्षाप्रेमी व्यक्तिबाट हालसम्म दश लाख भन्दा बढीको अक्षयकोष स्थापना गरिएको छ भने त्यसको व्याजबाट प्राप्त रकम  विद्यार्थीमा अध्ययनरत विद्यार्थीलाई प्रत्येक बर्ष वितरण गर्दै आएको  विद्यँलय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिनुभयो ।
 
 
 

पोखरा।

पोखरा– ८, सृजनाचोक, शान्तिमार्ग स्थित सृजना सेकेण्डरी स्कूलले यही असार १६ गते सोमवारका दिन विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एस्‌ईई)–२०८१ मा सम्मिलित भई ४ जिपिए सहित उत्कृष्ट नतिजा प्राप्त गरेर विद्यालयको गरिमा उच्च सफल भएका सम्पूर्ण विद्यार्थीहरूका लागि बधाई तथा सम्मान कार्यक्रम गरी विद्यार्थीलाई सम्मान गरेको हो ।

विद्यालयका निर्देशक सीता पाण्डेको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा एस्‌.ई. ई. उत्तीर्ण विद्यार्थीहरूका अभिभावक तथा विद्यालयका शिक्षक तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालयका प्राचार्य डोलराज पाण्डे र सल्लाहकार कृष्ण घिमिरेले एस्‌.ई.ई. उत्तीर्ण विद्यार्थीहरूलाई खादा, टीका र मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।

यसै क्रममा प्राचार्य पाण्डेले मन्तव्य राख्दै अभिभावक, विद्यार्थी, शिक्षक तथा विद्यालयको संयुक्त प्रयासबाट यस प्रकारको उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको कुरा स्मरण गर्दै विद्यार्थी, अभिभावक एवम् शिक्षक कर्मचारीहरूलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल इन्द्र कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका सल्लाहकार कृष्ण घिमिरे, शिक्षक प्रकाश क्षेत्री तथा अभिभावक कुशुम गौचनले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी एसईई उत्तीर्ण विद्यार्थीहरूका तर्फबाट योजना माझी, स्पन्दन गोर्खाली र प्रिन्सा अर्यालले मन्तव्य राखेका थिए । उक्त बधाई तथा सम्मान कार्यकम विद्यालयका शिक्षक विष्णुप्रसाद सुवेदीले सञ्चालन गरेका थिए ।

पोखरा ।
गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिता २०८२ मा एजली कास्की फुटबल टिम अपराजित यात्रा सहित प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
गत असार १५ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका सात जिल्लाको सहभागीता रहेको छ । गण्डकीका बागलुङ, कास्की (पोखरा), गोरखा, नवलपुर, तनहुँ, स्याङ्जा र लमजुङको टिमको सहभागीता रहेको हो । एलजी कास्कीले सबै खेलहरूमा जित निकाल्दै उपाधिका लागि बलियो दाबेदारको रूपमा आफूलाई प्रमाणित गरेको हो ।

एलजीले पहिलो खेलमा गोरखालाई ५–२ ले पराजित गर्दै प्रतियोगितामा बलियो सुरुवात गरेको थियो। दोस्रो खेलमा स्याङजाका बिरुद्ध ८ शुन्य गोल अन्तरले पराजित गर्दै तेश्रो तथा अन्तिम समुह चरणको खेलमा बाग्लङुलाई ३–२ को गोल अन्तरले पराजित गर्दै एलजी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

टिमको व्यवस्थापन र रणनीतिक पक्ष सशक्त बनाउनु साथै खेलाडीहरूको मनोबल उच्च राख्न सफल एलजी कास्कीका टिम म्यानेजर तथा क्लबका सचिव ईश्वर बस्यालले टिमको निरन्तर अभ्यास,अनुशासन र खेलाडीहरूको प्रतिबद्धतालाई नै यो सफलताको मूल आधार भएको बताए ।एजली कास्की प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । अर्को समूहबाट आउने उत्कृष्ट टिमसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।

कोरोला खबर सम्वातदाता

असार १५ पोखरा : अर्घाखाँची पोखरा सम्पर्क समाजको १८औं वार्षिक साधारण सभा तथा ९औं अधिबेशनको अवसरमा पत्रकार रोहित वस्नेत नगद सहित सम्मानित भएका छन् । पोखरा महानगरपालिकाका मेयर धनराज आर्चाय प्रमुख अतिथि रहेको कार्यक्रममा समाजका अध्यक्ष दधिराम खनाल, नीति तथा योजना आयोग गण्डकी प्रदेशका सचिव टंकप्रसाद पाण्डेय र उप-सचिव गीता घिमिरेले संयुक्तरुपमा पत्रकार वस्नेतलाइ नगद, सम्मान पत्र र दोसल्लाले सम्मान गरेका हुन ।

पोखरा पर्यटन समाचारका संचालक समेत रहेका बस्नेत लामो समयदेखि पोखरालाई कार्यक्षेत्र बनाएर पर्यटन पत्रकारीतामा आबद्धरहेका रहेका छन् । विभिन्न पत्रपत्रिका, एफ.एम., टेलिभिजन तथा विभिन्न अनलाईन पत्रिकामा काम गरिसकेका वस्नेत पर्यटन पत्रकार महासंघ गण्डकीका कोषाध्यक्ष तथा अनलाईन गण्डकीका संस्थापक सदस्य समेत हुन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।